भन्सार विभागले गएको वर्षदेखि पूर्वादेश सम्बन्धि व्यवस्था गरेको छ। विभागले अन्तर्राष्ट्रिय अभ्यासअनुसार यो व्यवस्था लागू गरेको हो।
लागू भएको एक वर्षसम्म पनि यसको प्रयोगमा खासै विस्तार भएको छैन। समग्रमा व्यापार लागत कम गर्ने भनिएको यो पद्धतिका बारेमा जानकारी नभएकाले विस्तार नभएको विभागको बुझाइ छ।
पूर्वादेश भनेको के हो?
कुनै पनि वस्तु आयातकर्ताले आफूले ल्याउने मालवस्तुमा लाग्ने करबारेमा पहिलै जानकारी लिन तथा कागजी प्रक्रिया पूरा गर्ने आदेश हो।
यसमा आयातकर्ताले भन्सार विभागले तोकेको निकायमा आफूले ल्याउने वस्तु, ल्याउन लागेको देशमा त्यसको कारोबार मूल्य, नेपालमा भएको भए त्यसको मूल्य, वस्तुको प्रकार जस्ता विषयमा जानकारी दिन्छ। सोही जानकारीका आधारमा विभागले आदेश दिन्छ।
यसरी आदेश लिएपछि आयातकर्ताले ल्याएको मालवस्तुको भन्सार जाँचपास सहज हुन्छ। पूर्व घोषित गुणस्तर तथा वस्तु आयात भएमा मात्र लागू हुने यो आदेशअनुसार सबै प्रक्रिया पहिलै पुरा हुने भएकाले वस्तु ल्याउँदा झन्झट पनि न्यून हुन्छ।
पूर्वादेशका लागि निवेदन दिने प्रक्रिया
कुनै आयातकर्ताले नेपालमा पैठारी गर्ने मालवस्तुको वर्गीकरण तथा उत्पत्तिका विषयमा पूर्वादेश प्राप्त गर्न चाहेमा पूर्वादेश जारी गर्ने समिति समक्ष तोकिए बमोजिमको फारम भरी सम्बन्धित बैंक खातामा तीन हजारको राजस्व बुझाएर पैठारी गरिने मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुभन्दा कम्तीमा ४५ दिन अगाडि निवेदन पेश गर्नुपर्छ।
वर्गीकरण तथा उत्पतिका सम्बन्धमा पूर्वादेश माग गर्दा पेश गरिने निवेदनमा निवेदकको विस्तृत विवरण, आधिकारिक प्रतिनिधिको विवरण, निवेदकले मागदाबी गरेको भन्सार उपशीर्षक वा उत्पत्तिमुलक सम्बन्धी आफ्नो धारणा, पैठारी हुने मालवस्तुको विस्तृत विवरण, मालवस्तु पैठारी हुने भन्सार कार्यालय जस्ता विषयहरु उल्लेख गर्नुपर्छ।
के फाइदा हुन्छ?
भन्सार विभागले यो आदेश लिएर आयात गर्दा कर तथा राजश्व अनुमानयोग्य हुने बताएको छ।
कुनै पनि वस्तु आयातको उत्पत्ति तथा वर्गिकरणको आदेश लिएमा त्यसमा लाग्ने कर पहिलै निर्धारण हुने भएकाले पछि जाँचपासको समयमा विवाद नहुने विभागको भनाइ छ।
कुनै पनि मालवस्तु आयात गर्दा आयात गर्नेलाई लागतको अनुमान गर्न सहज हुने भएकाले यसले व्यवसायीलाई धेरै फाइदा हुने विभाग बताउँछ।
भन्सारमा आएपछि त्यसका कतिपय प्रशासनिक प्रक्रिया पहिलै पुरा हुने भएकाले समय पनि कम लाग्छ। जसबाट व्यापार लागत न्यून हुन्छ। यसरी लागत न्यून हुँदा उपभोक्ता मूल्य पनि घट्छ।