बुद्ध एयरले कोरोना महामारी सुरु भएपछि पहिलोपटक जहाज थप गर्ने भएको छ।
महामारी सुरु भएपछि उडान खुलेको करिब चार महिनापछि बुद्धले जहाज थप गर्ने भएको हो। आन्तरिक हवाइ बजारको सबैभन्दा ठूलो एयरलाइन्स बुद्धले एटिआर–७२ जहाज ल्याउन लागेको हो।
बुद्धले ल्याउने जहाज आज बेलुका नै काठमाडौं विमानस्थलमा अवतरण हुने कार्यतालिका रहेको छ।
लकडाउनपछि खुलेको उडानमा उल्लेख्य यात्रु पाएर हौसिएको बुद्धले जहाज थप गरेर काठमाडौं बाहिरका विमानस्थलबाट बिहानको उडानलाई छिटो छरितो बनाउने योजना बनाएको बताएको छ।
नेपालभरका १५ भन्दा बढी गन्तव्यमा दैनिक चार दर्जन बढी उडानबाट औषत चार हजार यात्रु बोकिरहेको बुद्धले अझै अर्को जहाज ल्याउने योजना बनाएको छ।
थपिएको जहाजसँगै बुद्धसँग अब ९ एटिआर–७२ हुनेछन्। त्यस्तै दुइ बीचक्राफ्ट र तीन एटीआर ४२ गरी कूल १४ जहाज हुने छन्।