हिमालय एयरलाइन्सले तीब्बतको ल्हासामा परीक्षण उडान गरेको छ। हालसम्म चिनियाँ एयरलाइन्सलेमात्र उडान गरिरहेको यो रुटमा व्यावसायिक उडान गर्ने लक्ष्यसहित हिमालयले परीक्षण उडान गरेको हो।
मंगलबार बिहान काठमाडौं विमानस्थलबाट सात बजे हिमालयको न्यारोबडी जहाज ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो। उक्त जहाज १० बजे ल्हासा अवतरण गरेको हिमालयले जानकारी दिएको छ।
हिमालयले ल्हासा उडानकै लागि एयरबसको ए३१९/११५ सिरिजको न्यारोबडी जहाज ल्याएको थियो। उच्च उचाइमा उडान गर्न मिल्ने यो जहाजमा १२८ सिट छन्।
व्यावसायिक उडानका लागि योग्य भए/नभएको थाहा पाउन गरिने यस्तो उडानमा उड्डयन नियमनका अधिकारीहरु पनि सहभागी हुन्छन्।
उडानमा गएका अधिकारीहरुले दिएको रिपोर्टका आधारमा व्यावसायिक उडानको अनुमति दिइन्छ।