नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रा बज्राचार्य काठमाडौंमा मार्ट (पसल) चलाउँछन्। उनी गएको साता होलसेलर कहाँ पुगे र तेलको भाउ सोधे। जवाफ आयो लिटरको १९८ रुपैयाँ।
पसलमै स्टक भएको तेल उनले १९० रुपैयाँमा बेचिरहेका थिए। तर एक हप्तामै लागत मूल्य लिटरमा करिब २० रुपैयाँ बढ्यो।
तेल मात्र होइन पछिल्लो समय सबै वस्तुको मूल्य बढेर आएको उनले बताए।
'तेलको मूल्य त बढ्यो रे ठिक छ। त्यो पनि भटमासको तेलको मूल्य बढ्यो मानियो। तर सुर्यमुखी र तोरीको तेलको मूल्य पनि बढेर आएको छ', उनले सेतोपाटीसँग भने।
बजारमा तेलको मात्र होइन चकलेटसम्मको मूल्य बढेर आएको छ। चकलेटको मूल्य नबढाए पनि कतिपयको तौल घटेर आएको उनले जानकारी दिए।
प्रमुख खाद्यन्नका वस्तुहरु दाल, तेलको मूल्य आकाशिएको छ भने चामलको मूल्य पनि बढाउन थालिएको छ। बज्राचार्यका अनुसार बजारमा केही चामलको मूल्य बोरामा २ सय रुपैयाँसम्म बढेर आएको छ।
'म अस्ति होलसेल जाँदा एउटा निश्चित ब्रान्डको चामलको मूल्य २ सय बढेर आएको रहेछ। एउटाले बढाएपछि विस्तारै सबैले बढाउन थाल्छन्', उनले भने।
खुद्रा पसल चलाउनेले नै बजारमा अधिक भाउ बढेको अनुभव सुनाउँछन् भने सामान्य उपभोक्ताको अनुभव झन् बिकराल छ। पसलैपिच्छे फरक मूल्य हुने भएकाले उपभोक्ताले महंगीको अनुभति झनै बढी गरिरहेका छन्।
पछिल्लो समय खाद्यन्नमात्र होइन निर्माण सामग्रीको मूल्य पनि आकाशिएको छ। बजारमा हरेक वस्तुको मूल्य बढिरहेको छ। यो मूल्य बढ्ने क्रम पछिल्लो महिनाबाट तीव्र बनेको हो।
‘दशै तिहारसम्म सबै सामान्य नै थियो। भटमासको तेलको मूल्य त्यतिबेला १६० रुपैयाँ जस्तै थियो। तर अहिले त्यो बढेर २ सय नाघिसकेको छ। भटमाससँगै अरु तेलको मूल्य पनि बढेको छ’, बज्राचार्यले भने, ‘दाल पनि त्यस्तै छ भने वनस्पति घ्यूको मूल्य त झन् आकाशिएको छ। पछिल्लो महिनादेखि मूल्यमा उछाल आएको हो।’
उपभोग्य वस्तुको मात्र होइन निर्माण सामग्रीको समेत मूल्य बढेको कुरा बजार अनुमगन गर्ने जिम्मेवारी पाएको सरकारी निकाय उपभोक्ता हित संरक्षण विभागलाई पनि थाहा छ। खुद्रा व्यापारीहरु नै विभागलाई यस्तो जानकारी गराइसकेका छन्।
विभागले वितगमा जसरी अनुगमन गरेको थियो त्यसरी नै अनुमगन गरिरहेकै छ। तर पनि अस्वभाविक रुपमा मूल्य बढेको विभागका अधिकारीहरु बताउँछन्।
विभागका निर्देशक शिराज सेढाई मूल्य बृद्धि कृत्रिम हो कि स्वभाविक हो अध्ययन गरिरहेको बताउँछन्।
'हामीलाई मूल्य बढेको सूचना आएको छ। नियमित बजार अनुगमनमै भएकाले आफैले पनि त्यो थाहा पाएका छौं। उनीहरुले कुन मूल्य घोषणा गरेर कर तिरेका छन् त्यो विवरण अध्ययन गरिरहेका छौं। यो सबै अध्ययनपछि हामी एक्सनमा जान्छौँ', उनले भने।
पछिल्लो एक महिनामा उपभोक्ता मूल्य बढ्नु संकास्पद भएकोमा उनको बुझाइ छ। तर, सरकारले कसैलाई पनि हचुवाकै भरमा कारबाही गर्न नमिल्ने र धारणा बनाउन नमिल्ने भएकाले अध्ययन गरिरहेको बताउँछन्।
'हामीले हाम्रो अभ्यासअनुसार पसल पसलमा गएर बजार अनुगमन गरिरहेका छौं। धेरै मूल्य लिनेहरुलाई जरिबाना पनि गरिरहेका छौं। तर मूल्य कहाँबाट बढेको हो भन्ने भेउ नपाइ बजारभरी एकैपटक बढेको मूल्य नियमन हुने सम्भावना न्यून हुन्छ', उनले भने।
सामान्यतया हिउँदको समयमा बजारमा माग धेरै बढ्ने अनुभव बज्राचार्यसँग छैन। खुद्रा व्यापारमा लामो अनुभव भएका बज्राचार्य बजारमा आपूर्तिको तुलनामा माग थोरै भएर मूल्य बढ्ने यो समय नभएको बताउँछन्।
पछिल्लो समय सबैभन्दा धेरै मूल्य बढेको खाद्यन्न हो, खाने तेल। खानेतेलको मूल्य बढ्नुमा पछिल्लो समय तेस्रो मुलुकबाट भटमास ल्याइ नेपालमा तेल बनाएर भारत निर्यात हुँदै आएको छ।
नेपाली बजार भन्दा पनि तेल उत्पादकहरुले भारतलाई केन्द्रमा राखेर नेपाली बजारमा मूल्य बढाएको खुद्रा व्यापारीहरुको आरोप छ।
खुद्रा व्यापारीहरु यो आरोप बोकेर विभागमा पुगेका थिए। विभागले भने ठूला व्यापारीकै भाषा बोलेको बज्राचार्यको आरोप छ। विदेशबाट आउने भटमास र सुर्यमुखीको दानाको आयात लागत बढेकाले तेलको मूल्य बढेको विभागले जानकारी दिएको उनको भनाइ छ।
सेढाइले भने कसैको पक्ष र विपक्षमा बोल्नुभन्दा पनि तथ्यांकका आधारमा आफूहरुले प्रतिक्रिया दिएको बताउँछन्।
हामीले त व्यापारीहरुले भटमास आयात गर्दा भन्सारमा घोषणा गरेको मूल्य हेर्छौं। उनीहरुले त्यसमा तिरेको करको विवरण पनि हेरेका छौं। त्यसमा आयात लागत नै बढेको पनि देखिन्छ। तर जसरी मूल्य बढेको छ त्यो आयात लागतकै कारण हो कि होइन भनेर हामीले अध्ययन गरिरहेका छौ, उनले भने।
अत्यावश्यक उपभोग्य वस्तुको अस्वभाविक मूल्य बढाएको पाइएमा कारबाही गरिने उनले प्रतिबद्धता जनाए।
विभागले मूल्य बढ्नुका कारणहरुको अध्ययन गरिरहेको बताएपनि राजनीतिक तहको नेतृत्व चुनावको तयारीमा जुटेको र व्यापारीहरुले नेतृत्वको त्यही कमजोरीमाथि टेकेर मूल्य बढाएको स्वयम् सरकारी अधिकारीहरुकै आरोप छ।
बजार अनुगमन तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध अधिकारीहरुका अनुसार दिनमा केही पसलमा गरिने अनुगमनबाट मूल्य कहिलै पनि नियन्त्रण नहुने बुझेका व्यापारीहरुले राजनीतिक नेतृत्वलाई प्रभावित पार्नसक्ने सम्भावना देखेर मूल्य बढाएको आरोप लगाउँछन्।
‘हाम्रा कर्मचारीले दिनमा कति पसल अनुगमन गर्छन्? ४०? ५०? अनि त्यसले के हुन्छ? यदि समाति हाले पनि नेतृत्व तहबाट छुटाइ हाल्छन्। यस्तो बेला नेतृत्वलाई चुनाव लागेको छ’, एक अधिकारीले भने, चुनाव मुखमा छ नेतालाई के चाहिन्छ सबैलाई थाहा छ। त्यो भन्दा बढी व्यापारीलाई थाहा हुन्छ। उनीहरुले यही मौका छोपेका छन्।’
खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष बज्राचार्य पनि यो कुरामा सहमत छन्। जब जब यस्ता चुनाव तथा राजनीतिक अस्थिरता हुन्छ त्यस्तो बेला बजारमा मूल्य बढ्ने गरेको उनी बताउँछन्।
'यो कुरा त्यो विभागका मान्छेलाई पनि थाहा छ। यस्तो बेला नेतालाई प्रभावित बनाएर कर्मचारीलाई पनि निरीह बनाउँछन्। मूल्य बढेर आउँछ। अनि खुद्रा पसलेकोमा आएर अनुगमन जस्तो गरेर बहादुरी देखाउँछन्' उनले भने।