मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनाव तथा ५४ औं साधारणसभाका लागि निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको छ।
समितिले मतदान गर्न पाउनेहरुको नामावली प्रकाशित गरेको छ।
जिल्ला नगर उद्योग वाणिज्य संघ तर्फ १०७, वस्तुगत तर्फबाट १०१ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहबाट १२ मतदाताको नामावली प्रकाशित भएको छ।
एशोसिएट्स समूहबाट ९२३ को नामावली प्रकाशित गरेको समितिले १२ संस्थापक सदस्यको नामावली पनि प्रकाशित गरेको छ।
महासंघको विधानअनुसार जिल्ला नगर, वस्तुगत र एशोसिएट्स समूहमा एक/एक जना उपाध्यक्ष हुन्छन्। ती समूहमा रहेका मतदाताले आफ्नो समूहको एकजना उपाध्यक्ष चयन गर्छन्। सबै समूहमा रहेका मतदाताहरुको सयुक्त भोटिङबाट वरिष्ठ उपाध्यक्ष चयन हुने व्यवस्था छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुन्छन्।
वरिष्ठ उपाध्यक्षका लागि भोटिङ हुँदा विभिन्न समूहका लागि फरकफरक मतभार निर्धारण गरिएको हुन्छ। सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा बिजयी हुन्छन्। यदि पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी भोट ल्याउछ उही बिजयी हुन्छ।
विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ। वस्तुगतको २० प्रतिशत हुन्छ भने एशोसिएट्सको ३० प्रतिशत भार हुन्छ।
यो चुनाबका लागि महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानल घोषणा गरिसकेका छन्। विभिन्न समूहका लागि उपाध्यक्ष तथा केन्द्रीय कार्यकारीणी समिति सदस्यसहितको प्यानल घोषणा भइसकेको छ।
महासंघको आगामी कार्यकालमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुने छन्।
महासंघको कार्यकारीणी समितिमा निर्तमान अध्यक्ष पदेन सदस्यको रुपमा हुन्छन्। त्यस्तै प्रदेश उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधत्व गर्ने सात जना सदस्य निर्वाचित हुन्छन्। प्रदेश अध्यक्ष पनि पदेन सदस्य हुने व्यवस्था छ।
जिल्ला नगर वाणिज्य संघबाट १८ जना सदस्य निर्वाचित हुन्छन् भने वस्तुगतबाट १४ जना। द्विराष्ट्रियबाट एकजना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। एशोसिएट्सबाट १९ जना सदस्य निर्वाचित हुन्छन्। संस्थापक सदस्यहरुबाट पनि एकजना निर्वाचित भएर सदस्य हुने छन्। अध्यक्षले पाँचजना मनोनय गरेका सदस्यहरु पनि कार्यकारीणी समितिमा हुने छन्।
कार्यकारीणी समितिमा निर्वाचित सदस्यले कोषाध्यक्ष निर्वाचित गर्ने विधानको व्यवस्था रहेको छ।
मतदाता सूची