आजभन्दा करिब तीन दशकअघि तिहारमा झिलिमिली बत्तीहरू फाट्टफुट्ट हुन्थे। केही धनाढ्यका घरमा मात्र।
सुरूआती चरणमा थोरै वाटका विभिन्न रंगीन बल्बलाई तारमा लहरै जोडेर बनाइएका बत्तीलाई झिलिमिली बत्तीका रूपमा भारतबाट नेपाल ल्याइन्थ्यो। त्यो धेरै महँगो पनि हुन्थ्यो।
अहिले भारतसँगै चीनबाट सयाैं प्रकारका झिलिमिली बत्ती सस्तोमा आउन थालिसकेका छन्।
यसैकारण तिहारको उज्यालो अहिले झिलिमिली बत्तीले कब्जा गरिसकेको छ।
हामीमध्ये धेरैलाई यी झिलिमिली बत्ती केही वर्षअघि मात्रै आएको जस्तो लाग्छ। तर यसको इतिहास करिब ५० वर्ष पुरानो भएको व्यवसायीहरू बताउँछन्।
महाबौद्धस्थित पन्चकन्यामाई ट्रेडर्सका सञ्चालक कृष्ण रेग्मी २५ वर्षदेखि झिलिमिली बत्तीको व्यापार गरिरहेका छन्। २०२५ सालदेखि नै यस्ता बत्ती बजारमा भित्रिएको उनी बताउँछन्।
'बजारमा छ्यासछ्यास्ती देखिन थालेको धेरै भएको छैन। तर यसको इतिहास ५० वर्षको छ भन्दा हुन्छ,' उनले भने।
उनका अनुसार उबेला झिलिमिली बत्ती एकदमै महंगो हुने भएकाले एकाधको पहुँचमा मात्र हुन्थ्यो। अनि बिजुली सुविधा पनि थिएन।
'पहिलो कुरा त धेरै घरमा बत्ती पुगेकै थिएन। अनि धेरै चर्को भाउ भएकाले सबैको पहुँचमा थिएन,' उनले भने, 'बिहे, व्रतबन्ध लगायत उत्सवमा पनि हुनेखानेले भाडामा लिन्थे।'
त्यो बेलाका यस्ता बत्ती खासै बिग्रिन्थेन पनि, 'बिग्रिए पनि बल्ब जल्ने हो। जुन फेरेपछि हुन्थ्यो। यो एक पटक किनेपछि धेरै वर्षसम्म प्रयोग गर्न सकिन्थ्यो।'
यी बत्तीहरू मध्यमवर्गीयको पहुँचमा कसरी पुग्यो भन्ने पनि उनले विस्तार लगाए।
२०५१ सालपछि चीनबाट 'खुर्सानी लाइट' आएपछि यी बत्ती मध्यमवर्गीयको पहुँचमा पुग्न थालेछ। खुर्सानी जस्तो आकारमा (लाम्चो) बल्ने झिलिमिली बत्ती भारतबाट आएको भन्दा सस्तो हुन्थ्यो।
'पहिले गुच्चा जत्रै बल्बबाहिर सीमित रङका ढक्कन हालिएको मात्र पाइन्थ्यो हुन्थ्यो। २०५४/५५ सालतिर यसकै २०/२५ मोडल आउन थाल्यो,' उनले भने।
२०६२/६३ सालपछि भने एलइडी लाइटको बर्चस्व हुन थाल्यो।
'अहिले त्यही एलइडी प्रयोगमा दियो, नेट, फलफूल आकार लगायत ५ सय बढी डिजाइनका लाइट आउँछन्,' रेग्मीले भने।
अहिले बजारमा पाइने ९० प्रतिशत झिलिमिली बत्तीमा एलइडी लाइट नै प्रयोग हुने उनी बताउँछन्। योसँगै हास लाइट, लेजर लाइट, टुम लाइट, डिस्को लाइट लगायत विकास हुँदै गएको उनले जानकारी दिए।
समयक्रमसँगै विभिन्न प्रकारका लाइट आइरहँदा मूल्य पनि सामान्य व्यक्तिको बजेटले धान्न सक्ने हुँदै गयो।
'अहिले त सामान्यतया २ सयदेखि ४-५ हजारसम्मका लाइट बजारमा पाइन्छ,' रेग्मीले भने।