फुटपाथ तथा सामान्य घडी पसलहरुमा विभिन्न महंगा ब्रण्डको घडी सस्तो मूल्यमा बेच्न राखिएको देख्न सकिन्छ।
अन्तर्राष्ट्रिय स्तरको ब्रण्ड फुटपाथमै सस्तोमा पाउँदा कतिपयले किन्ने पनि गरेका छन्। तर के त्यो साँच्चिकै ब्रान्डेड घडी हो?
यस्ता घडीहरुले ग्राहक र कम्पनी दुवै ठगिमा परेको घडी आयातकर्ता कम्पनीहरुले जनाएका छन्।
‘ग्राहकले सक्कली भनेर किन्नुहुन्छ चाँडै बिग्रन्छ , अनि ओरिजनल ब्राण्डलाई दोष आउँछ,’ टाइटन घडीको नेपालका लागि आधिकारीक वितरक नेपाल ट्रेड नेटर्वक प्रालीका म्यानेजिङ डाइरेक्टर स्ुनिलकुमार अग्रवालले भने।
‘यस्ता ‘कपिड’ (ब्रान्डेड घडी जस्तै देखिने) घडीले मिडिल र हाई सेग्मेन्टमा केही नभए पनि ‘लो’ सेग्मेन्टका ब्राण्डेड घटीलाई ठूलो असर पारेको उनले बताए।
घडी ‘कपिड’ भनेर आउने हुँदा ‘लो’ सेग्मेन्टका घडी किन्ने ग्राहक, आयातकर्ता कम्पनी र राज्य तिनै पक्षलाई घाटा हुने उनले बताए।
नेपालमा मोवाइल धेरैको पहँुचमा पुगेपछि घटेको लो सेग्मेन्टको घडीको ब्यापार उकासिने क्रममा रहँदा पछिल्ला केही वर्षयता ‘कपिड’ घडीले ओरिजिनलको व्यापारका ह्रास ल्याएको अग्रवालले जानकारी दिए।
यस्ता डुब्लीकेट घडीले सस्तो ब्राण्डेड घडीको छवी बिगारेको व्यापारीहरुको आरोप छ।‘महंगो घडी किन्नेहरु सिधै शोरुममा गएर किन्छन, ठगिने भनेको न्यून आय भएकाहरु हो’ उनले भने।घडी किन्दा ब्राण्ड, वारेन्टी, सर्भिस सेन्टर, शोरुमलगाएतको बारेमा बुझेर मात्रै किन्नुपर्ने अग्रवाल सुझाउछन्।