सेयर बजारको परिसूचक नेप्से सोमबार ८७ अंकले बढेर २६७२ अंकमा पुगेको छ। लगातार दोस्रो दिन बढेको सेयर बजार आज ८७.६३ अंकले बढेर परिसूचक २६७२.२५ अंकमा कायम भएको हो।
यस्तै हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ। हिजो २ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ४ अर्ब ३० करोड नाघेको छ। आज १८३ कम्पनीको मूल्य बढ्दा ३ वटा कम्पनीको मात्र मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस्तै एउटाको स्थीर रहेको नेप्सेले जनाएको छ ।
आज सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३७.४, विकास बैंक ३०१.५, फाइनान्स १७६.४९, होटल तथा पर्यटन ८१.८८, जलविद्युत २००.८२, जीवन बीमा ५३७.०१, उत्पादन १४३.३७, माइक्रोफाइनान्स १२१.१३, निर्जीवन बीमा ४६७.६, ब्यापार उपसमूह १५ र अन्य ४६ अंकले बढे।
सोमबार १८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यस्तै १६ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। गोर्खा फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मल्टिपर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिश्यश्वरी हाइड्रो, सिनर्जी पावर, अरुण काबेलीको मूल्य १० प्रतिशतले बढेका छन्।
त्यस्तै १० प्रतिशत नै मूल्य बढेका अरु कम्पनीमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा, शिवश्री र ग्रीनलाइफ हाइड्रोपावर छन् ।