बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँट गरेको हो।
कुल २० लाख ३० हजार ५५५ आवेदकमध्ये गोलाप्रथाबाट ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका छन्। १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । १६ हजार ३३ जनाको आवेदन रद्द भएको छ।
सर्वसाधारणबाट माग भएको कित्ताभन्दा ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर खरिदको माग परेको थियो।
बुद्धभूमि नेपाल हाइड्रोपावरको आयोजना स्थल नुवाकोट जिल्लाका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्याएको आफ्नो जारी पूँजी रु.४० करोड मध्ये ३०% अर्थात रु.१२ करोड रकम बराबर प्रति शेयर रु.१०० अंकित मुल्यको १२ लाख कित्ता साधारण शेयर मध्ये १०% अर्थात ४ लाख कित्ता शेयर नुवाकोट जिल्लाका स्थानीय बासिन्दाको लागि निष्काशन गरिएको र बाँकी रहेको २०% अर्थात ८ लाख कित्ता शेयर मध्ये ५% अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्टाईएको तथा २% अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ४४ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको थियो।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार नतिजा प्रकाशन भएपछि आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको आईपीओ बाँडफाँडको लागि नै बनाइएको वेवसाइट, सिभिल क्यापिटलको वेवसाइट, वुद्धभुमी हाइड्रोपावर कम्पनी लिमिटेडको वेवसाइट र मेरो शेयरको आईपीओ भरिएको एप्लिकेशन रिर्पोटमा गएर चार स्थानबाट नतिजा हेर्न सकिन्छ ।
हाल आइपीओ बाँडफाँड तथ्याङ्क प्रशोधनको काम चलिरहेकाले साँझसम्ममा लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा हेर्नसक्ने सिभिल क्यापिटलले जनाएको छ ।