साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा करेक्सन भएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार मंगलबार बजार ४१ दशमलव ८४ अंकले बढेको हो।
एक दशमलव ६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक दुई हजार ६१२ दशमलव ६४ अंकमा उक्लिएको छ।
यसअघि सोमबार सेयर बजारको परिसूचक नेप्से ६.६ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक २५७० अंकमा कायम भएको छ। यसअघि हिजो आइतबार परिसूचक ५६ अंकले घटेको थियो।
हिजो ३ अर्ब ६२ करोडको कारोबार भएको सेयर बजारमा आज कारोबार रकम भने निराशाजनक रह्यो। मंगलबार कारोबार भएका २२३ कम्पनीका ५८ लाख ४२ हजार १ सय ३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँको कारोबार भएको छ।
नेप्सेका अनुसार मंगलबार शिखर इन्स्युरेन्सको संस्थापक सेयरको उच्च कारोबार भएको छ। शिखरको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो।
सबैभन्दा धेरै फाइनान्स समूह चार दशमलव १६ प्रतिशत अर्थात् ८६ दशमलव ९८ अंकले बढेको छ। मंगलबार बजार बढेको दिनमा ट्रेडिङ समूह मात्र ओरालो लागेको छ। ट्रेडिङ समूह ५६ दशमलव ०५ अंकले घटेको हो। अरु बाँकी सबै समूहमा हरियाली छाएको छ।
बजारमा करेक्सन आएको दिन मंगलबार विभिन्न सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। मल्टिप्रप्रोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालय पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो।
त्यसैगरी, मैलुङ खोला जलविद्युत् नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ०४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेको हो।
त्यसैगरी, एनआईसी एसिया लघुवित्त १० प्रतिशत, रिलायन्स लाइफ तीन दशमलव ३२ प्रतिशत र माउन्टेन इनर्जीको सेयर मूल्य तीन दशमलव ३० प्रतिशतले घटेको हो।