आइतबार १२ः ५९ बजे सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले अर्थात १४७ अंकले घट्यो र सर्किट ब्रेकर लाग्यो।
सर्किट ब्रेकर लागेको ४० मिनेटपछि फेरि खुलेको बजार भने सम्हालियो। अन्ततः यस दिन सेयर बजारको गिरावट १०८ अंक अर्थात ३.७ प्रतिशतमा सीमित रह्यो। परिसूचक २८१८ अंकमा कायम भएको छ। ११ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु घटेका छन्।
बैंकिङ ४४, विकास बैंक ३९४, फाइनान्स २३९, होटल तथा पर्यटन १६१, जलविद्युत २१६, लगानी समूह ४, जीवन बीमा ५११, उत्पादन १७५, माइक्रोफाइनान्स १६२, निर्जीवन बीमा ५१९, अन्य ८३ र ब्यापार समूह २१६ अंकले घटेका छन्।
यस दिन सानिमा लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ पुगेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ। यसको मूल्य प्रतिकित्ता ५२३ रुपैयाँ कायम भएको छ।
यस दिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। नारायणी डेभलपमेन्ट, गुडविल फाइनान्स, जानाकी फाइनान्स, अरुण काबेली, आइसिएफसी फाइनान्स, युनिभर्सल पावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रोपावर, रुरु हाइड्रोपावर, नेपाल फाइनान्स, हिमालय उर्जा विकास, बेष्ट फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ।
त्यस्तै माउन्टेन हाइड्रो, ग्रिनलाइफ हाइड्रो, एभरेष्ट इन्स्योरेन्स संस्थापक, पाँचथर पावर, दिव्यश्वरी हाइड्रो, घलेम्दी हाइड्रो, पन्चकन्या माइ हाइड्रो, लिबर्टी इनर्जी, सिन्धु विकास बैंक, अपि पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य करिब १० प्रतिशतले नै घटेको छ।
'बियरिस ट्रेन्डको संकेत'
केही दिनयताको बजारले बियरिस ट्रेन्डमा गएको संकेत देखाएको छ। भदौ २ गते सेयर बजारले नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो। त्यसयता बजार घटिरहेको छ।
भदौ २ गतेयता कारोबार भएका दिनमा बजार जम्मा २ दिन मात्रै बढेको छ भने अरु ७ दिन घटेको छ। समग्रमा उच्च अंकको रेकर्डपछि बजार १२ प्रतिशतले घटिसकेको छ।
यो पटकको ‘बुलिस ट्रेन्ड’मा भदौ २ को अंक नै उच्चतम विन्दु हुने अनुमान छ। सामान्यतः उच्चतम अंकबाट १० प्रतिशतभन्दा धेरैले बजार घटेमा ‘बियरिस ट्रेन्ड’को संकेतका रुपमा बुझ्ने गरिन्छ।
केही लगानीकर्ता बजारले बियरिस ट्रेन्डको संकेत देखाएको बताउँछन् भने केहीले करेक्सन भएको दावी गर्छन्।
लगानीकर्ता पिताम्बर खरेल भन्छन् ‘कारण एउटा मात्रै नभई धेरै हुन सक्छन्, तर बजारले अब बियरिस ट्रेन्ड समातेको संकेत देखाएको छ।’ सेयर धितोमा १२ करोडको सीमा, ब्याजदर, तरलताको अवस्था, बढ्दो आयात, कोरोना नियन्त्रण र अरु व्यवसाय खुल्दै जानु लगायतका विषयले अब बजारलाई तत्काल समर्थन नगर्ने उनको अनुमान छ।
इतिहास हेर्दा सेयर बजार प्रायः साउन/भदौमै नयाँ अंकको रेकर्ड बन्ने गरेको पाइन्छ। यसअघि २०७३ साउन १२ गते सेयर बजारको परिसूचक नेप्सेले १८८१ अंकको उच्च रेकर्ड बनाएको थियो।
त्यसपछि ‘बियरिस ट्रेण्ड’ समाउँदै बजार २०७५ माघ २८ गते ११२९ अंकसम्म झर्यो। त्यहीं वर्षको अन्त्यदेखि ‘बुलिस ट्रेन्ड’ थालेको बजारले दुई साताअघि मात्रै, भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गरेको हो।
सेयर बजारलाई प्राविधिक रुपमा विश्लेषण समेत गर्दै आएका राजु मुनिकार अहिले बजार करेक्सन मात्रै भएको बताउँछन्। यद्यपि यो करेक्सन ४–५ महिनासम्म पनि जान सक्ने उनी औंल्याउँछन्।
यस पटक सेयर बजारको अंक मात्रै घटेको छैन, दैनिक कारोबार हुने रकम पनि करिब आधामा खुम्चिन थालेको छ। भदौ ३ गते साढे २० अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा आज ११ अर्ब २४ करोडमा सीमित भएको छ।
राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर खरिदका लागि सेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी ऋण नपाउने व्यवस्था गरेको छ।
त्यहीं व्यवस्थाकै कारण अहिले बजारमा असर परिरहेको बताउँछन् सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल। आफ्नो सम्पत्ति धितो राखेर लगानीकर्ताले बैधानिक जुनसुकै व्यवसाय गर्न पाउनुपर्नेमा राष्ट्र बैंकले अंकुश लगाएको उनी बताउँछन्।
उनले भने ‘राष्ट्र बैंकको यो व्यवस्था गलत छ, यसलाई सच्याउनुपर्छ, हाम्रो सम्पत्तिको अधिकारमा बन्देज लाग्यो।’ यदि एक व्यक्ति वा परिवारले बैंक तथा वित्तीय संस्थाबाट सेयरमै लगानीका लागि सेयर धितो राखेर १२ करोड भन्दा बढी ऋण लिएको अवस्थामा एक वर्षभित्र सीमामा ल्याइसक्नुपर्नेछ। यहीं व्यवस्थाका कारण अहिले ठूला लगानीकर्ता सक्रिय हुन सकेका छैनन्। बरु ऋण भएका लगानीकर्ता सेयर बेचेर सीमामा ल्याउने तयारीमा छन्।