राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर कहीं पनि सधैं स्थिर नरहने बताउँदै एकल अंकको ब्याजमा ऋण पाउनु नै ठूलो लाभ रहेको बताएका छन्।
आज आयोजित एक भर्चुअल कार्यक्रममा अधिकारीले बचतकर्तालाई दिने औसत ब्याजदर मुद्रास्फितिभन्दा माथि हुनुपर्ने र ऋणीले पनि सकेसम्म एकल अंकको ब्याजदरमै ऋण पाउन् भन्ने चाहना रहेको बताए।
‘ब्याजदर तलमाथि हुन्छ, त्यसमा आपत्ति मान्नु भएन। तर समग्रमा कुन दिशातर्फ जाँदैछ, हाम्रा नीतिले कतातिर प्रोत्साहन गर्दैछ त्यो कुरा महत्वपूर्ण हो’ अधिकारीले भने।
ब्याजदर सधैं एउटै हुने भएमा कुनै नीति नै जरुरत नपर्ने उनको भनाइ छ। औसत आधार दर कम रहेकाले अहिले ऋणीले एकल अंकको ब्याजमा ऋण पाउनु नै सिस्टमले दिएको लाभ रहेको उनले औंल्याए।
सीमित सीमाका बाबजुत कोभिड प्रभावितका लागि मौद्रिक नीतिले गर्न सक्नेसम्मको सहयोग गरेको उनले बताए। अर्थतन्त्रलाई चलायमान कसरी गराउन सकिन्छ भन्नेमै यो मौद्रिक नीति केन्द्रित रहेको उनले औंल्याए।
‘अहिले हामीले काेभिडको खास असर नै परेका व्यवसायीलाई नै लक्षित गरेर नीति ल्याएका हौं’ उनले भने ‘ग्राहक डुबे भने बैंकको खराब कर्जा पनि बढ्ने हो। त्यसकारण बैंकले नै मूल्यांकन गरेर मर्का परेकालाई राहत दिन सकुन्।’
आफ्ना ग्राहकको बारेमा बैंकलाई नै धेरै जानकारी हुने भएकाले ऋणीको बारेमा बैंकले नै निर्णय गर्नुपर्ने उनले बताए।
साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नै १ करोडभन्दा तलको ऋणीलाई आधार दरमा २ प्रतिशतभन्दा बढी ब्याज नलिनका लागि निर्देशन दिइएको उनले बताए।
सिस्टममा सुधारको प्रक्रियास्वरुप नै सिडी रेसियोलाई नियमनको दायरामा ल्याउन खोजिएको उनले बताए। ‘अब बैंकहरु परिपक्व भइसके, त्यसकारण प्राविधिक रुपमा सिसिडी हटाएर सिडी रेसियो कायम गरे हुन्छ भनेर नै याे व्यवस्था गरेका हाैं’ उनले भने।
पुनकर्जा, सापटी पनि निक्षेपमै गणना गर्न पाउने व्यवस्था राखेर सिडी रेसियोमा बैंकहरुलाई सहजता दिन खोजिएको उनको भनाइ छ।
कतिपय बैंकले लगानीयोग्य रकम अभावमै बसेर काम गर्ने गरेको केही सहज अवस्थामा रहेर मात्रै गर्ने गरेको उनले बताए। राष्ट्र बैंकले दिएको प्यारामिटरअनुसार पनि हाल ३३ अर्ब अधिक तरलता रहेको बताउँदै उनले यसबारे अनावश्यक अफवाह फैलिएको बताए।
बैंकहरुले अहिले रिस्क नै लिन नपरेको उनले तर्क गरे। ‘रिस्क आयो कस्टमरलाई भिरायो, लिक्वीडिटीमा समस्या आयो राष्ट्र बैंकतिर देखायो, कति सजिलो भएको छ। यो कुराबाट बाहिर निस्कनुपर्यो, रियल बैंकिङ गर्नुप्रयो नि।’