मेगा बैंक नेपाल लिमिटेडले कृषि क्षेत्रलाई प्रवर्धन एवं आधुनिकीकरण गर्ने उद्धेश्यले उर्बर नेपाल पब्लिक लिमिटेडसँग सम्झौता गरेको छ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित हस्ताक्षर कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलि र उर्बर नेपाल पब्लिक लिमिटेडका अध्यक्ष सुदर्शन बिक्रम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
उर्बर नेपालसँगको सम्झौतापछि मेगा बैंकले उर्बर नेपालसँग आवद्ध कृषक व्यवसायीलाई आफ्नो ब्यवसाय विस्तार गर्न साना तथा मझौला कृषि कर्जा नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत खुंजेलीले उद्यमीलाई साना तथा मझौला कृषि कर्जाको साथै सहुलियतपूर्ण कर्जा सेवा बैंकको सबै शाखा कार्यालयमार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिन्। बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा राखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि कृषकसँग सहकार्य गर्दै आएको उनले बताइन्।
कृषि क्षेत्रको आधुनिकीकरणका लागि मेगा बैंकले नगद रहित कारोवार गर्न सजिलो होस् भन्ने उद्धेश्यका साथ मेगा किसान कार्डको शुरुवात गरेको समेत जानकारी गराइन्।
उर्बर नेपालका अध्यक्ष कार्कीले मेगा बैंकले महिला विपन्न वर्गका कृषकलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए।
बैंकले उर्बर नेपालसँग आवद्ध उद्यमी व्यवसायी विशेष गरी कृषि कार्यमा संलग्न कृषकलाई देशभरका शाखाहरुबाट प्राथमिकताका साथ सहुलियतपूर्ण व्याज अनुदान कर्जा सेवा उपलब्ध गराउनेछ।
बैंकले कृषकहरुलाई कृषि कर्जाको साथै कृषि कार्यका लागि आवश्यक पर्ने उपकरणहरु एवं मल, बीऊ लगायतका सामग्रीहरु खरिद गरी नगद रहित कारोवार गर्न मेगा किसान कार्ड समेत उपलब्ध गराउनेछ ।