२७ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।
विवरणअनुसार यी बैंकहरुले साउन, भदौ र असोजसम्म १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन्।
जवकि गत वर्षको यसै अवधिमा १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए। अधिकांश बैंकको नाफा घट्दा समग्र नाफामा ५. १२ प्रतिशतले कमी आएको हो।
२७ बैंकमध्ये १८ वटाको नाफा घटेको छ। बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन्। अपरिस्कृत वित्तीय विवरणअनुसार ग्लोबल आइएमई, एनआइसी एसिया, प्राइम कमर्सियल, प्रभु, मेगा, बंगलादेश, एनएमबि, सिटिजन्स र कुमारी बैंकले नाफा बढाएका छन्।
ग्लोबल आइएमई बैंकले यस अवधिमा सबैभन्दा धेरै १ अर्ब ५ करोड नाफा कमाएको छ। एक वर्षअघि छैटौं स्थानमा रहेको यो बैंक अहिले पहिलो नम्वरमा आएको छ। त्यस्तै पहिले एक नम्वरमा रहेको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अहिले छैटौंमा झरेको छ।
नविल र एनआइसी एसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत छन्।
एभरेष्ट, स्टान्डर्ड चार्टड, एसबिआई, हिमालयनजस्ता विदेशी स्वामित्व भएका बैंकको नाफा उच्च दरले घटेको छ।
एसबिआईको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ। एभरेष्टको ५१, हिमालयनको ४७ र स्टान्डर्ड चार्टडको ३७ प्रतिशतले नाफा घटेको छ। त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ।
एनएमबिले सबैभन्दा धेरैले नाफा बढाएको विवरण देखाएको छ। यो बैंकले यसअघि पनि नाफामा झुक्याएको छ। गत वर्षको पहिलो त्रैमासमा ८१ करोड ५१ लाख नाफा देखाएको थियो, तर त्यही नाफालाई अहिलेको विवरणमा समेट्दा जम्मा २७ करोड २८ लाख देखाएको छ।
त्यस्तै अन्य केही संस्थालाई आफूमा गाभेका कारण पनि एनएमबिको नाफा वृद्धिदर उच्च देखिएको हो। बैंककै एक उच्च अधिकारीका अनुसार अहिलेको नाफा पनि परिस्कृत हुँदा घट्न सक्नेछ।
किन घट्यो बैंकहरुको नाफा ?
समग्रमा बैंकहरुको बिजनेस (निक्षेप संकलन र कर्जा प्रवाह) बढेको छ। तर नाफा घट्नुको मुल कारण नै कोरोनापछिको असर रहेको बताउँछन् राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ।
बैंकहरुको नाफा घट्नुको मुख्य कारण समयमै ऋणको ब्याज र साँवा नउठ्नु रहेको उनले बताए।
समयमै ब्याज र साँवा नउठेपछि सोवापत बैंकहरुले प्रोभिजनिङ गर्नुपर्दछ। जसले गर्दा नाफामा मुख्य असर परेको उनी बताउँछन्।
लगानीयोग्य रकम अहिले पर्याप्त रहेकाले बैंकहरुबीच सस्तो ब्याजमा ऋण दिने प्रतिस्पर्धा छ, यसकारण पनि कतिपय बैंकको ब्याज आम्दानी नै घट्दा नाफामा असर परेको श्रेष्ठले बताए।
‘यसअघि हाम्रो कर्जाको औसत व्याजदर ९. ७५ प्रतिशत थियो, अहिले ८ को हाराहारीमा झरिसकेको छ’ उनले सेतोपाटीसँग भने।
त्यस्तै अन्तर एटिएम कारोबार लगायत शुल्क घटेका कारण पनि असर परेको उनले बताए। राष्ट्र बैंकले कोभिड–१९ को असर परेका व्यवसायीबाट उठ्न नसकेको कर्जा तथा ब्याज तिर्ने अवधि सारिदिएको छ। जसले गर्दा कतिपय बैंकको वितरणयोग्य नाफा समेत अहिले ऋणात्मक भएको छ।
क्रमश हेर्नुहोस् कुन बैंकको स्थान कतिऔं ?
बैंक | नाफा असोज २०७७ | नाफा असोज २०७६ |
ग्लोबल आइएमई | १ अर्ब ५ करोड ८८ लाख | ७५ करोड ३१ लाख |
नविल | १ अर्ब ३ करोड ५७ लाख | १ अर्ब १२ करोड ३५ लाख |
एनआइसी एसिया | १ अर्ब २ करोड १० लाख | १ अर्ब ९६ लाख |
प्राइम कमर्सियल | १ अर्ब १ करोड ७६ लाख | ६५ करोड ९७ लाख |
प्रभु | ८५ करोड | ६२ करोड ८४ लाख |
राष्ट्रिय वाणिज्य | ८२ करोड ९२ लाख | १ अर्ब १२ करोड ७५ लाख |
एनएमबि | ७३ करोड २९ लाख | २७ करोड २८ लाख |
इन्भेष्टमेन्ट | ६२ करोड ३८ लाख | ८४ करोड ४४ लाख |
मेगा | ६० करोड ७९ लाख | ४३ करोड ७४ लाख |
कुमारी | ६० करोड २५ लाख | ४० करोड १९ लाख |
नेपाल बंगलादेश | ५७ करोड ११ लाख | ४० करोड २५ लाख |
नेपाल | ५५ करोड ४ लाख | ५८ करोड १८ लाख |
हिमालयन | ५१ करोड ९९ लाख | ९९ करोड १७ लाख |
सिटिजन्स | ५१ करोड ५५ लाख | ३४ करोड ९१ लाख |
सिद्धार्थ | ५० करोड ६ लाख | ५२ करोड १४ लाख |
कृषि विकास | ४६ करोड १४ लाख | ५९ करोड ९० लाख |
स्टान्डर्ड चार्टड | ४० करोड १३ लाख | ६४ करोड ४१ लख |
सनराइज | ३८ करोड २९ लाख | ४५ करोड ४३ लाख |
सानिमा | ३७ करोड ३२ लाख | ५९ करोड ३६ लाख |
माछापुच्छ्रे | ३६ करोड ९ लाख | ३७ करोड ६० लाख |
एभरेष्ट | ३३ करोड ४७ लाख | ६९ करोड ८ लाख |
एनसिसी | ३३ करोड ४५ लाख | ३४ करोड ३ लाख |
लक्ष्मी | ३१ करोड २३ लाख | ४० करोड १९ लाख |
बैंक अफ काठमाण्डु | २४ करोड १४ लाख | ३८ करोड ३७ लाख |
सेन्चुरी | २२ करोड २ लाख | ३७ करोड ८ लाख |
एसबिआई | २० करोड ५ लाख | ४३ करोड ७२ लाख |
सिभिल | ९ करोड ६६ लाख | १५ करोड ८९ लाख |