तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को लागि आवेदन खुला गरिएको छ।
वाइएसी इभेन्ट्ससँगको सहकार्यमा जह इन्टरटेनमेन्टले आयोजना गर्ने मिस्टर एण्ड मिस थारुको आवेदन खुला गरिएसँगै अडिसनको मिति समेत तय गरिएको छ।
आयोजककाअनुसार माघ २४ गते चितवनसँगै विराटनगर र नेपालगञ्जमा एकसाथ अडिसन हुँदैछ।
माघ २८ गते झुम्का, लहान, वीरगञ्ज र धनगढीमा एकसाथ अडिसन हुँदैछ।
त्यस्तै, फागुन १ गते काठमाडौं, बुटवल र दाङमा अडिसनको मिति तय गरिएको जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिए। यसपटक कोभिड–१९ का कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागिएको चौधरीले बताए।
अडिसनबाट छनोट भएकाहरूलाई फागुन ८ गते अभिमुखीकरणमा सहभागी गराइने छ। त्यस्तै, फागुन ९ गतेदेखि चैत्र ४ गतेसम्म छनोट भएका सहभागीलाई प्रशिक्षण गराइने छ।
लगातार दुई संस्करणको ग्राण्ड फिनाले काठमाडौंमा भए पनि यसपटक भने चितवनमा हुन लागेको हो। चैत ७ गते प्रतियोगिताको ग्राण्ड फिनाले गरिने वाइएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए।
सन् २०१७ देखि यस प्रतियोगिताको सुरूआत भएको थियो।
पहिलो संस्करणको मिस्टर थारुको उपाधि चन्दन चौधरी र मिस थारुको उपाधि जेनिशा चौधरीले जितेका थिए। २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएका थिए।