लैंगिकता एवं यौनिकतासँग जोडिएका विषयका अभियन्ता थिए सुनिलबाबु पन्त। ब्लु डाइमण्ड सोसाइटीका संस्थापक समेत रहेका उनी एक वर्षयता भने भिक्षु बनेका छन्। हाल उनी भिक्षु कश्यपका रूपमा चिनिन्छन्। नेपाल लिटरेचर फेस्टिभलको सत्र ‘नेपालमा क्वेर हुनुको अर्थ’ मा उनी र लेखक निरञ्जन कुँवरले छलफल गरे।
कार्यक्रममा उनीहरूले नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको सामाजिक एवं कानुनी अवस्था, पश्चिमा समाज र पूर्वीय समाजमा लैंगिक अल्पसंख्यकका लागि भएका काम, सामाजिक संचरनाले यस विषयमा पार्ने असर लगायत विषयमा छलफल गरे।
भिक्षु कश्यपले क्वेरको शाब्दिक अर्थ ‘अचम्मको’ भएको बताए। सन १९८०/९० को दशकमा अमेरिकामा उक्त शब्द प्रयोगमा आएपछि विश्वव्यापी रूपमा स्विकारिएको उनको भनाइ छ।
भने, ‘पहिले समाजमा कुनै एक बच्चा पूर्ण पुरूष वा पूर्ण महिलाका रूपमा हुर्कने बुझाइ थियो। तर जन्मँदै वा हुर्कंदै गर्दा कुनै बालबालिकामा महिलामा हुनुपर्ने जस्तो वा पुरूषमा हुनुपर्ने जस्तो गुण विकास नहुँदा उनीहरूलाई तृतिय प्रकृतिका मानिसका रूपमा लिइयो।’
पश्चिमा समाजमा त्यही समूहलाई क्वेर भनिएको हो। त्यस समाजले लैंगिक वा यौनिक रूपमा कोही पुरूष वा महिला हुन नसकेको खण्डमा उसलाई ‘तिमी पार लाग, कि पुरूष बन, कि महिला’ भन्ने आशयसहित व्यवहार गरिने भएकाले उनीहरूलाई पारलिंगीसमेत भन्ने गरिएको उनले बताए।
‘जे होस् महिला र पुरूषबाहेक अरू लैंगिक पहिचानका मानिस हुँदा रहेछन् भन्ने बुझियो। तृतीय प्रकृतिका भनिए पनि त्यसले लैंगिक विविधता झल्कायो,’ उनले भने।
लैंगिक वा यौनिक अल्पसंख्यक जनाउने थुप्रै नेपाली शब्द भए पनि नेपालमा पश्चिमा शब्दहरूको प्रयोग बढी भएको कश्यपको भनाइ छ। उनले नेपाली एवम् अन्य पूर्वीय समाजमा सामाजिक र सांस्कृतिक रूपमा लैंगिक अल्पसंख्यकहरूलाई विभिन्न भूमिका दिइनुलाई सकारात्मक रूपमा टिप्पणी गरे। पश्चिमा देशमा अझै पनि लैंगिक वा यौनिक हिसाबमा महिला वा पुरुष नभएकै कारण मानिस वहिष्कार हुने वा विभिन्न सजाय भोग्नुपर्ने अवस्थाबारे सुनाए।
भने, ‘हाम्रो त मारूनीदेखि रोपाइ जात्रा वा राणाकालदेखि अन्य राजाहरूले समलिंगीलाई कलाकारका रूपमा प्रस्तुत गरिन्थ्यो। त्यो ठाउँ दिइएको थियो,’ पुरातन समाजमा छोरीहरूलाई नाच्न नदिँदा पारलिंगीलाई नै अघि सार्नेदेखि तराईंको हिजडा, नटुना, जनाना लगायत चलनको समेत उदाहरण दिए।
कश्यपले लैंगिक एवं यौनिक अल्पसंख्यकहरूको हकमा लैंगिकताका आधारमा पूर्वीय समाज प्रगतिशील भएको र यौनिकताका हिसाबमा पश्चिमा समाज अगाडि भएको तर्क राखे।
‘नीतिगत र संस्कृति हिसाबमा पूर्वीय समाज तृतीय प्रकृतिका मानिसका लागि केही उदार छ,’ उनले भने। भलै धर्मग्रन्थका केही अंश, सामाजिक संचरनाले भने मानिसलाई लैंगिक र यौनिक अल्पसंख्यकबारे सोच सीमित घेरामा बाँधिदिएको उनले बताए।
‘जैन, बौद्ध र हिन्दु धर्ममा लाग्नेहरूका लागि यी विषय क्लिष्ट छन्। किनकि त्यहाँ यौन र यौनिकता काम र वासनासँग जोडिएका विषय हुन् भनिएको छ। तिनलाई त्यागेपछि मात्र मानिसले मुक्ति पाउने जनाइएको छ। कामना र इच्छाहरू बाँकी रहेसम्म बाँधिइरहन्छौं भनिएको छ,’ उनले भने।
बौद्ध धर्मका भिक्षु, भिक्षुणी एवम् अनुयायीहरूले पालना गर्नुपर्ने पञ्चशीललाई उदाहरणका रूपमा उनले प्रस्तुत गरे। जहाँ ‘उभयव्यञ्जक’ (महिला पुरूष दुवैको लैंगिक अंग भएको मानिस) र ‘पाण्डक’ (कुनै अंग नभएको) लाई संगठनमा समावेश नगर्नु भन्ने छ।
‘यी धेरै पछि आएका कुरा हुन्। बुद्धले त मुक्तिको मार्गमा लाग्ने सबै मानवमा चेतना हुन्छ भेदभाव गर्नु हुँदैन भनेका छन्। अपांगता भएकाहरूलाई नि समावेश नगर्नु भनिएको शील पछि लेखिएका हुन्, जसमा मलाई विश्वास छैन,’ उनले भने।
समाजमा लैंगिकता र यौनिकताका विषयलाई लिएर अज्ञानता स्थापित हुनुमा धर्मशास्त्रको योगदान रहेको उनको तर्क हो। प्रायः धर्मले महिला वा समलिंगी हुनु पूर्वजन्ममा यौन सम्बन्धमा अनैतिक हुनुको फलका रूपमा व्याख्या गर्नुलाई समस्याका रूपमा उनले प्रस्तुत गरे। ‘यी मिथ्या विचार हुन्। जुन समस्या पितृसत्तात्मक धार्मिक संघहरू संगठित भएका हरेक समाजलमा छन्। यी भ्रम नचिरेसम्म समाजमा उस्तै विचार स्थापित रहन्छ,’ उनले भने।
समलिंगी मानिसको पहिचानमाथि नै प्रश्न वा शंका वा आलोचना हुनुलाई समस्याका रूपमा बुझेका रहेछन् भिक्षु र निरञ्जन दुवैले। सहजकर्ता निरञ्जन स्वयं 'गे' हुन्। उनले केही महिनाअघि सार्वजनिक गरेको किताब ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ बारे पनि छलफलमा चर्चा भयो।
सम्भवतः नेपाली भाषामा लैंगिक तथा यौनिक अल्पसंख्यकबाट अंग्रेजी भाषामा प्रकाशित पहिलो किताब हो यो। कश्यपले उक्त किताब धेरैका लागि प्रेरणा बन्न सक्ने बताए। किताबले लैंगिक पहिचान, समलिंगी सम्बन्ध, उनीहरूले गर्नुपर्ने संघर्ष र नेपाली साथै अमेरिकी समाजमा पनि लैंगिक अल्पसंख्यहरूलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार प्रस्ट्याउने बताए।
२० वर्षअघि ब्लु डाइमण्ड साेसाइटीमार्फत नेपालमा लैंगिकता तथा यौनिकताको विषयलाई अघि सारेका भिक्षु अब भने अभियानहरूबाट पर अध्यात्मको बाटोमा छन्।
उनी भिक्षु बनेको एक वर्ष पुग्यो। भलै उनमा रहर भने बाल्यकालदेखि नै रहेछ। गाउँ गोर्खामा गेरूवस्त्र धारण गरेर आउने मानिसहरूको ब्रह्म, आत्म र अध्यात्मको कुराले चकित र प्रभावित भएको बताए। त्यस समयमै आफू संन्यासी बन्न जाने बताए पनि उनका बुवाले पठाएनन्।
२८ वर्षको हुँदा पहिलो पटक विपश्यना ध्यान शिविर गए। त्यहाँ आफूलाई लाभ भएको उनले बताए।
‘यो रहेछ बाटो त। अब बुद्धले सिकाएअनुरुप गर्छु भन्ने सोचेको थिएँ। तर, बुवाआमा मान्नुभएन,’ उनी सुनाउँछन्, ‘परिवारको अनुमति नलिई संन्यासी बन्नु राम्रो मानिदैन।’
त्यसपछि सामाजिक आन्दोलनमा लागेका उनले नेपालका क्वेरहरूका लागि बोले, लडे।