सोसल चेन्जमेकर एन्ड इन्नोभटेरर्स (सोचाइ) की संस्थापक बोनिता शर्माले बाल–कुपोषण न्यूनीकरण र मातृस्वास्थ सुधारमा नेपालले २५ वर्ष लगाएर हासिल गरेको सफलता कोरोनाका कारण २५ हप्तामै धरापमा परेको बताएकी छन्।
पोखरामा जारी नेपाल साहित्य महोत्सवको सत्रमा बोल्दै बोनिताले यो कुरा बताएकी हुन्। बोनिता उनै हुन्, जसलाई सन् २०१९ मा बिबिसीले विश्वका प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा समेटेको थियो। उनी महिला र बाल–स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी छन्न र नवउद्यमी हुन्।
बोनिताकै समकालीन अर्की महिला उद्यमी सोनिका मानन्धरले भने २५ वर्षदेखि महिलाहरूको हालत उस्तै रहेको उल्लेख गरिन्।
‘नेपालमा २५ वर्षअघिदेखि महिलाहरूले सफा टेम्पो चलाउन थाल्नुभएको हो,’ उनले भनिन्, ‘अहिले उहाँहरूले सफा टेम्पो छाडेर इलेक्ट्रिक ट्याक्सी किन्न वा कुनै पनि कामका लागि ऋण माग्नुभयो भने कुनै पनि बैंकले उहाँहरूलाई पत्याउँदैनन्। यत्रो वर्षदेखिको योगदानपछि पनि नेपालमा महिलालाई विश्वास गरिँदैन।’
महोत्सवको पहिलो दिनको दोस्रो सत्र ‘कर्मठ केटीहरू’ मा बोनिता र सोनिकासँगै ‘खाली सिसी’ संस्थाकी आयुषी केसीले आफ्ना उद्यम, यसमा रहँदाका चुनौती, समाज, राज्य र अन्तर्राष्ट्रिय क्षेत्रले महिला व्यवसायीलाई गर्ने व्यवहार लगायत विषयवस्तुबारे आफ्ना अनुभव र विचार साटासाट गरे।
तीनै युवा व्यवसायीका कामलाई बिबिसी, फोर्ब्स, नेसनल जियोग्राफिकजस्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको उल्लेख गर्दै मध्यस्थकर्ता आभाष्ना पाण्डेले उद्यमीका रूपमा उनीहरूलाई आफ्नै देशले कस्तो व्यवहार गर्छ भनी जिज्ञासा राखेकी थिइन्।
यसमा खाली सिसीकी आयुषीले भनिन्, ‘देशले वास्ता गरेन भनेर दोष लगाइहनुभन्दा हामीले निरन्तर घचघच्याइरहनुपर्छ भन्ने ठान्छु। निरन्तर प्रयासले नै अहिले हामी काठमाडौं महानगरपालिकाको वातावरण शाखासँग मिलेर काम गर्ने अवस्थामा पुगेका छौं।’
बोनिता र सोनिकाले युवा व्यवसायीलाई सरकारले तक्मा दिनुभन्दा काम गर्ने वातावरण र अवसर मिलाइदिए पर्याप्त हुने बताए।
‘दुर्भाग्यको कुरा, नेपालमा विदेशीले ठप्पा नलगाइदिएसम्म कसैले पत्याउँदैन,’ बोनिताले भनिन्, ‘म बिबिसीको सूचीमा पर्नुअघि हत्तपत्त मान्छेले मेरो काम, कुरा सुन्दैनथे। अहिले चेली, छोरी भन्दै व्यवहार गर्छन्।’
बिबिसी सूचीमा परेपछि आफूलाई बागमती प्रदेशको योजना आयोगको एक समितिमा सदस्य बनाइएको उनले अवगत गराइन्।
ग्रिन माइक्रो आन्ट्रप्रेनरका लागि महिलाहरूमाझ वित्तीय पहुँच पुर्याउन डिजिटल टोकन सिस्टम प्रविधि निर्माण गरेको एलोई टेक्नोलोजिकी सोनिकाले व्यवसाय क्षेत्रमा प्रयोग हुने इन्नोभेसन (आविस्कार) बारे पनि बोलेकी थिइन्।
उनका अनुसार आविस्कार भनेको प्रोग्रेस (प्रगति) हो।
‘सबै इन्नोभेसन हाई–टेक हुन्छन् भन्ने छैन। लो–टेक नै खासमा हाई–टेक हो,’ उनले भनिन्।
इन्नोभेसनहरू उच्च प्राविधिक हुनुनपर्ने बरू भइरहेको पद्धतिलाई सुधार गर्न सके त्यो नै इन्नोभेसन हुने आयुषीको भनाइ थियो।
यही सन्दर्भमा बोनिताले थपिन्, ‘समाजमा विद्यमान समस्याको लो–टेकबाटै समाधान निकाल्न सकिन्छ। समाज सुहाउँदो समाधान खोज्न सक्नुपर्छ, यसरी सुधार होला भनेर पहिल्यै अनुमान राख्नु हुँदैन। भुइँसतहमै पुग्नुपर्छ।’
पितृसत्तात्मक समाजका प्रभावबारे राखिएको प्रश्नमा तीन जना वक्ताले अझै पनि खुलेर बोल्ने, नेतृत्व लिने र विश्वास आर्जन गर्ने कुरामा महिलालाई शंकाको दृष्टिले हेरिने बताए।
‘मेरो एउटा सामान्य ट्वीटमा थुप्रै नराम्रा प्रतिक्रिया आएका थिए,’ बोनिताले भनिन्, ‘यसबाट मैले के बुझेँ भने हामीले महिला सशक्तीकरणका बारे थुप्रै बोलेछौं। तर सशक्त महिलासँग कसरी व्यवहार गर्ने भन्नेबारे चाहिँ बुझाउनै बाँकी रहेछ।’
आयुषीले भने खाली सिसी, पुराना कागज संकलक एकत्रित पार्न सुरूमा गाह्रो भएको स्मरण गरिन्।
‘उहाँहरू अलि पुरम्परागत पृष्ठभूमि हुनुभएकाले केटीले नेतृत्व गरेको संस्थाले के नै गर्ला भन्ने लागेको हुनुपर्छ,’ उनले भनिन्, ‘उहाँहरूलाई निर्देशन गर्न गाह्रै भयो। तर पछि तिनै सुरुका दाइहरूले अन्य दाइहरू पनि लिएर आउनुभयो।’
यो टोलीले कोरोनाका बेला आइपरेका गाह्रोसाह्रोबारे पनि केहीबेर कुराकानी गरेको थियो। काठमाडौंस्थित कार्यालयको कामका असर नपरे पनि फिल्डमा जान नसक्दा समस्या भएको सोनिकाले बताइन्। उनले लकडाउनका बेला रोजगारी ठप्प भएका महिला सफा टेम्पो चालकलाई मान्छेको सट्टा सामान ओसारपसारतर्फ लगाएको बताइन्।
सत्रको अन्त्यमा वक्ताहरूले स्टार्टअपहरू सरकारी नीति–निर्माण कुर्नुभन्दा आफ्नै कामको उद्देश्य र प्रतिफलबारे केन्द्रित भएर लागि पर्नुपर्ने बताए।