करिब नौ महिनापछि सिनेमा हल खुल्न लागेको खबरले अभिनेत्री केकी अधिकारी भावुक बनेकी छिन्।
कोरोना महामारी र लकडाउनका कारण झन्डै ९ महिनापछि पहिलो पटक पुस १० गते, शुक्रबार सिनेमा हल खोल्ने तयारी भइरहेको छ। यही सन्दर्भमा सामाजिक सञ्जाल मार्फत उनले यो खबरले आफूलाई भावुक र पुलकित बनाएको लेखेकी हुन्।
उनले फेसबुक र ट्विटरमा लेखेकी छन्, 'यो शुक्रबारदेखि चलचित्र भवनहरू खुल्दैछन्। थोरै भावुक छु। थोरै पुलकित छु। जीवनका रंगहरू फर्किने कुरामा विश्वस्त पनि छु।'
केकीले शुक्रबार दुई नेपाली चलचित्र 'आमा' र 'सेन्टिभाइरस' पुन: प्रदर्शन हुन लागेको भन्दै सबैले सक्दो सहयोग गरिदिन अनुरोधसमेत गरेकी छन्।
केकीले सिनेमा हल बन्द हुँदा आफ्नो आयस्रोत, ज्ञान र आशिष प्राप्त गर्ने मूल थलो धेरै समयदेखि बन्द रहेको समेत लेखेकी छिन्।
'चलचित्र भवन मेरा लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो,' भन्दै उनले सिनेमा क्षेत्रलाई पुनर्जीवन दिन आग्रहसमेत गरेकी छिन्, 'त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौं दर्शकहरूसँगै हाँस्न त कहिले दृश्यमा डुबेर स्तब्ध भई सुँक्क आँशु झार्न व्यग्र प्रतीक्षा गर्दैछु। चलचित्र भवनभित्र मात्रै प्राप्त गर्न सकिने ती जादुमयी अनुभवको अवसर एउटा लामो अन्तराल पछि फेरि मिल्दैछ। सुरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिऊँ।'
यो पनि पढ्नुस्ः शुक्रबार खुल्ने तयारीमा छन् यी सिनेमा हल, 'आमा' र 'सेन्टी भाइरस' देखाइने
शुक्रबारदेखि व्यवसायीले एकतर्फी रूपमा हल खोल्ने तयारी गरेका हुन्। यसबारे सरकारले औपचारिक रुपमा अनुमति दिएको छैन। हल व्यवसायीको निर्णयप्रति सरकार मौन छ।
शुक्रबार छाया कम्प्लेक्स, लबिम मल र सिटी सेन्टरका मल्टिप्लेक्समा दुई नेपाली फिल्मबाहेक हलिउड फिल्म 'ब्लडसट' र 'इनभिजिबल म्यान' पनि प्रदर्शन हुने तयारी छ।