नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले राजधानीमा आज बिहीबारदेखि साताव्यापी शास्त्रीय संगीत सम्मेलन आयोजना गर्ने भएको छ। नेपालमा शास्त्रीय संगीतको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएका संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका अवसरमा उनीप्रति समर्पित गरेर सम्मेलन आयोजना गरिएको हो। यो सम्मेलन पुस ९ देखि १५ गतेसम्म चल्नेछ।
प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले कार्यक्रमबारे भने, 'शास्त्रीय संगीतले समग्र सांगीतिक क्रियाकलापको आधारशिला सुदृढ बनाउने भएकोले संगीतको गहिरो ज्ञानतर्फ उत्प्रेरित गर्न र सङ्गीत अनुरागीहरूको रूचि परिष्करणमा सघाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।'
प्रतिष्ठानद्वारा नेपाल शास्त्रीय संगीत समाज तथा मिथिला नेपाल टेलिभिजनसँग सहकार्यमा हुने उक्त कार्यक्रम कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी मिथिला नेपाल टेलिभिजन, युट्युब र फेसबुकबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको नेपाल शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्बूले जानकारी दिए।
हालका दिनमा रेडियो-टेलिभिजनजस्ता सञ्चार माध्यममा शास्त्रीय संगीतले स्थान नपाइरहेको परिप्रेक्ष्यमा शास्त्रीय संगीतको प्रवर्द्धनका लागि थोरै भए पनि टेवा पुर्याउने मौका पाएकोमा आफूहरू उत्साहित भएको मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हिरा थापाको भनाइ छ। उनले भविष्यमा पनि शास्त्रीय संगीतसम्बन्धी नियमित कार्यक्रम सञ्चालन गर्न प्रयासरत रहने जानकारी दिए।
युवा शास्त्रीय संगीतकर्मी कुन्दन पाठक र जोनिशा पोडेलद्वारा सञ्चालित कार्यक्रममा शास्त्रीय गायनतर्फ संगीत प्रवीण नरराज ढकालका पुत्रद्वय प्रभुराज ढकाल–प्रतीक ढकाल, चन्दन श्रेष्ठ, चण्डीप्रसाद काफ्ले, शिवराज पौडेल, विष्णु आचार्य, डा. सीता थापा, मनमोहन थपलिया, लाबोनी चक्रवर्ती; सुरवादनतर्फ मोहनप्रसाद जोशी (जलतरङ्ग) मोहनसुन्दर श्रेष्ठ (सरोद) रामकुमार अर्याल (सितार) सन्तोषभक्त श्रेष्ठ नगेन्द्र राई (बाँसुरी) धनबहादुर गुरुङ (शहनाइ); ताल (तबला) वादनतर्फ डङ्कन दास चौधरी, बदन मण्डल र नृत्यतर्फ सुविमा श्रेष्ठ, स्वजन रघुवंशी जस्ता विशिष्ट कलाकारहरूको प्रस्तुति रहने छ।