गीतकार महेश आचार्यलाई 'वर्ष गीत पुरस्कार' प्रदान गरिएको छ। चितवनको नारायणगढमा गीतकार संघ नेपालले शनिबार आयोजना गरेको समारोहमा २०७६ सालभरको सर्वोत्कृष्ट गीतका लागि उनलाई सम्मान गरिएको हो।
पुरस्कृत गीत 'थाहा छैन जिन्दगीमा' मा अन्जु पन्तको स्वर र राम सिटौलाको संगीत छ।
छानिएका उत्कृष्ट १० गीतमध्येबाट विशेष समितिले निर्णय गरेको हो। पुरस्कृत आचार्यले नगद ५७ हजार प्राप्त गरेका छन्। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई सम्मान अर्पण गरेका थिए।
संस्थामा आबद्ध सदस्यहरुको रचनामा २०७६ मा सार्वजनिक भएका र संघमा दर्ता हुन आएका गीतमध्येबाट छनोट समितिको सिफारिसमा उत्कृष्ट १० गीतको छनोट गरिएको संघका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए।
यस्तै, गीतकार प्रेम विनोद नन्दनलाई 'अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७६' द्वारा सम्मान गरिएको छ। उनलाई नगद १ लाख ५१ हजारसहित ताम्रपत्रले सम्मान गरियो। डायस्पोरा गीतकार सम्मान बेल्जियमलाई कर्मथलो बनाइरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ।
संघले आफ्नो स्थापना दिवस जेठ १४ मा हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रम कोरोना महामारीका कारण सात महिना पछि सरेको हो।