अभिनेत्री तथा मोडल एलिजा गौतमले नयाँ अभियान सुरू गर्ने बताएकी छन्। उनले देशका प्रत्येक जिल्लाका विकट गाउँमा १०/१० घर बनाइदिने बताएकी हुन्।
बेलाबेलामा सामाजिक सेवामा लागेकी उनले यस पटक भने केही ठूलो र दिगो काम गर्ने योजनासँगै उक्त निर्णय लिएको बताइन्।
'गर्ने नै भएपछि दिगो काम गरौं भन्ने भयो। त्यसैले यो निर्णय लिएँ,' एलिजाले सेतोपाटीलाई भनिन्।
उनले यी घर गरिब, असहाय र विपन्नहरूका लागि बनाउने भएकी हुन्। ७७ वटै जिल्लाका गाउँ/ठाउँ रोज्दा त्यहाँका प्रतिनिधिसँग छलफल गरेरै क-कसलाई घर बनाइदिने भन्ने तय हुने उनले जानकारी दिइन्।
एलिजाले यो कामको सुरू चैत ११ गतेदेखि गर्दैछिन् जुन दिन उनको जन्मदिन समेत हो।
तत्काल धादिङको एक विकट गाउँबाट यो अभियान सुरू गर्ने एलिजाले बताइन्। यसमा उनलाई अन्य व्यक्तिले पनि सहयोग गर्ने उनले जानकारी गराइन्।
'यो एक्लैले गर्न सक्ने काम होइन। त्यसैले टोली विस्तार हुँदैछ,' उनले भनिन्।
लकडाउन यता एलिजा म्युजिक भिडिओमा सक्रिय देखिन्छिन्। उनको अभिनय तथा प्रस्तुति रहेको 'हे माया', 'आँटो पिठो', 'आधी कपाल' जस्ता म्युजिक भिडिओ लकडाउनपछि नै सार्वजनिक भएका हुन्।
सत्यराज चौलागाईंद्वारा निर्देशित फिल्म 'अनुराग'मा अभिनयसँगै एलिजाले नेपाली कला क्षेत्रमा प्रवेश गरेकी हुन्।