दुई राम्रा कलाकार सुरक्षा पन्त र बुद्धि तामाङको अभिनय पहिलो पटक सँगै हेर्न पाइने भएको छ। उमेश उपमाको स्वर तथा संगीतमा बनेको वियोगान्त प्रेमगीत ‘मुटु मिची मिची’ उनीहरुले सँगै अभिनय गरेका हुन्।
कालिम्पोङ परिवेश समेटिएको भिडिओमा गाउँघरमा लाग्ने मेलाको सन्दर्भ छ। कथाको सुरुआत सुरक्षा र बुद्धिबीचको माया गाँसिएको देखाइन्छ। तर उनीहरुको प्रेममा यस्तो बिन्दु आउँछ जब दुई जना छुट्टिन बाध्य हुन्छन्। दुवै मन मारेर अरुसँग सम्बन्ध जोड्न पुग्छन्।
जातीय भिन्नताका कारण छुट्टिनु पर्ने उनीहरुको प्रेममा समाज तगारो बनिदिन्छ। भिडिओमा यी दुई प्रेमीबीचको माया र बिछोडको कथालाई मार्मिक रुपमा देखाइएको छ। अनमोल गुरुङद्वारा निर्देशित यो भिडिओमा कथा पनि उनकै छ। भिडिओको सुन्दर अवधारणालाई सुरक्षा र बुद्धिको अभिनयले जीवन्त बनाएको छ।
भिडिओमा बुद्धि तामाङ र सुरक्षा पन्तसँगै रिया भुजेलको अभिनय देख्न सकिन्छ। भिडिओ माउन्टेन स्टोरिज इन्टरटेन्टमेन्ट मार्फत युट्युबमा सार्वजनिक भएको हो।