विगत २१ जुलाइदेखि रिले अनसनमा रहेका भूतपूर्व गोर्खाले शनिबारदेखि आमरण अनसन शुरू गर्ने भएका छन्।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आव्हानमा १७ दिनको रिले अनसनपछि शनिबारदेखि भोक हड्ताल नै गर्ने निर्णय भएको जुममार्फत पत्रकारसम्मेलन गरी जानकारी गराएको हो।
भोक हड्तालमा भूपू गोर्खाहरु ज्ञानराज राई र धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले बस्नेछन्। पुष्पा भोक हड्ताल बस्नैका लागि नेपालबाट आएकी हुन् । उनले कोभिड भ्याक्सिन र होटल क्वारेन्टिन बस्नु परेकाले पूर्व निर्धारित कार्यक्रम अनुसार केही दिन ढिला आमरण अनसन हुन लागेको हो।
गोर्खा सत्याग्रह संघर्ष समितिले विभिन्न १३ बुँदे माग लिएर पहिलो आमरण अनशन सन् २०१३ नोभेम्बर ७ तारिखबाट रिले अनशन सुरू गरेर अनवरत रूपले बसि ब्रिटिस सरकारलाई दवाव दिएपछि सोही महिनाको २१ तारिखको दिन ब्रिटिस सरकारले संसदीय अनुसन्धान समूह गठन गर्ने र अनुसन्धान सुरू गर्ने भन्ने बचन दिएपछि ब्रिटिस अभिनेत्री तथा गोर्खा सत्याग्रह संघर्ष समितिका सहयोगी जोवाना लुम्लेले संघर्ष समितिका अगुवाई अनशनमा बसिरहेका ज्ञानराज राईलाई जुस पिलाएर अनशन तोडेका थिए।
९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धीको मर्म र भावना अनुसार विभिन्न तह र तप्काका अवस्थाका गोर्खालीले न्याय र ब्रिटिस सैनिकहरु सो सरह समान अधिकार पाउनुपर्ने माग गर्दै १३ बुँदे मागहरु राखेका थिए।
जसमा ब्रिटिस सैनिकजस्तै समान पेन्सन, रिटन्डेन्ट (अनावश्यक नाम कट्टा गरिएका) हरुलाई क्षतिपूर्ति, गोर्खाली विधवा महिलालाई पनि ब्रिटिस सैनिक महिला सो सरह समान ब्यवहार, मरिसकेका रिटायर्ड सैनिकका छोरा छोरीहरुले तिनका बाबा–आमाले पाउने क्षतिपूर्तिहरु छोरा छोरीहरुले पाउनुपर्ने, बेलायतमा नोकरी गरेपछि ब्रिटिस सो सरह ईस्टेट पेन्शन पाउनुर्ने, रिटायर्ड गोर्खाका छोरा छोरीहरुले बेलायत आउन चाहेमा कुनै पनि मुद्दा मामला गर्न नपरि र उमेरको हदबन्दी नराखि भिसा निःशुल्क गरि बेलायत आउन पाउनुपर्ने, बेलायत सेनामा भर्ति हुँदा न्यूनतम ४ वर्षको सम्झौता हुँदा हुँदै सो ४ वर्ष पुरा गर्न नदिई नेपाल फर्काइएकालाई क्षतिपूर्ति तथा बेलायत आउनु पाउनुपर्ने, बेलायती सेनामा नोकरी गर्दा थोरै तलब पेन्शन पनि थोरै र १५ वर्षको नोकरीको दौडनामा करिब ३ वर्ष मात्र आफ्नो परिवारसँग बस्न पाएकोले यस बापत क्षतिपूर्ति पाउनुपर्ने, हवाई काण्डमा परेका सैनिकलाई अवैध तरिकाले केहि पौदार नदिई नेपाल पठाईएकालाई क्षतिपूर्ति दिनुपर्ने, अवकास प्राप्त जो नेपालमा बस्दा अवकास प्राप्त ईन्डियन सिपाहिले जस्तै स्वास्थ्य उपचार निःशुल्क पाउनुपर्ने, विगतका युद्वमा जति पनि गोर्खाली सिपाही मरे, बेलायती सैनिकहरुले जति नै क्षतिपूर्ति पाउनुपर्ने, विगतका युद्वमा जो घाईते भए क्षतिपूर्ति र पेन्शन पाउनुपर्ने, अवकास प्राप्त सिपाहिहरु नेपालमा बस्दा उनीहरूको पेन्शन पाउण्डमा पाउनुपर्ने जस्ता मागहरु थिए।
सन् २०१३ बाट सन् २०२१ सम्म आईपुग्दा मागहरू एकदम थोरै आंशिक रूपमा पुरा गरे जस्तो मात्र गरे पछि तथा ब्रिटिस सरकारको संसदीय अनुसन्धान समूहले भने जस्तो काम नगरे पछि पुनः आमरण अनशन बस्नुपर्ने बाध्यता आएको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञान राज राईले जानकारी दिए।
पहिलो चरण २४ घण्टाको रिले अनशन १८ दिनको लागि सुरु गरेर सरकारलाई दवाव दिने, यति गर्दा पनि सरकारले सुनेन भने आमरण अनशन सुरु गर्ने योजना अनुसार यही ७ अगष्टबाट आमरण अनशन बस्न लागेका हुन्।
बेलायत सरकार र नेपाल सरकारको उच्चस्तरिय वार्ता कमिटी गठन र वार्ता गर्ने मिति तोकिएपछि मात्र आमरण अनशन तोड्ने पनि राईले जानकारी दिए।