बेलायतमा नेपाली सेफ सन्तोष साह 'बीबीसी मास्टर सेफ' को शीर्ष चौंथो स्थानमा पुगेका छन्। यसअघि फाइनल राउन्डको शीर्ष६ मा रहेका उनी कोदोको खीर बनाउँदै शीर्ष ४ मा उक्लिएका हुन्। हरेक मंगलबार बीबीसी वानबाट प्रशारण हुने कार्यक्रममा सहभागी हुने उनी एक्लो नेपाली हुन्।
यस अघि उनीले योमरी बनाएर निर्णायकको मन जितेका थिए। साहले यो पटक आँपको कुल्फी र आँपको अमोट पनि बनाएका थिए। उनले बनाएका नेपाली परिकारको निर्णायकले तारिफ गरेका थिए। निर्णायकले साहलाई खरायोको ‘फ्रेन्च क्लासिक डिस’ बनाउन भनेका थिए। उनले त्यसलाई नेपाली भुटनको शैलीमा पस्किए।
यस अघिका सोमा साहले पोलेको भेडाको मासु, मकैको रोटी, मासुको झोल, सिस्नु, आलुको तरकारी, भाङको चटनी, बेथेको साग, तामाको अचार बनाएका थिए।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष नै पहिलो नेपाली सेफ हुन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खाना र परिकार पस्किएर नेपालको पहिचान प्रदर्शन गर्न पाउँदा आफूलाई निकै खुशी लागेको उनले बताए।
नेपालका विभिन्न भेग, जाति तथा समुदायका खानाबारे आफ्नो प्रारम्भिक अध्ययनले त्यस्ता नेपाली खानाको विश्वबजारमा सफलताको राम्रो सम्भावना देखिन्छ।
तर नेपाली खानालाई नेपालीले नै ‘अविश्वास र हेलाँ’ गरेका कारण ओझेलमा परेको उनको गुनासो छ।
नेपालका शेर्पाहरूले बनाउने उसिनेको आलुको विशेष सुपदेखि तराईमा बनाइने बगिया, नेवार समुदायको योमरी र थारु समुदायले बनाउने अनेकौँ परिकारसम्म सबैको बेग्लै स्वाद र विशेषता रहेको उनी सुनाउँछन्।
नेपालमा सिराहा घर भएका सन्तोष १४ वर्षको उमेरमै हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर यस सम्बन्धि अध्ययन र विश्वका प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरुमा काम गरेका थिए। सन् २०१० मा बेलायत आएका सन्तोष अहिले यहाँको प्रतिष्ठित रेस्टुरेन्टमा कार्यरत छन्।