बेलायतको नेपाली समुदायका एक अग्रज समाजसेवी शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन।
बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकारमा बोर्डमा श्रेष्ठ नियुक्त भएका हुन।
ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इन्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा श्रेष्ठसहित ८ सदस्य नियुक्त भएका छन।
बोर्डमा श्रेष्ठको प्रस्तावमाथि कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीसँगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा विभिन्न चरणका बैठक र अन्तरवार्तापछि उनलाई नियुक्ति दिइएको हो। नियुक्तिको कार्यकाल २ वर्ष रहेको छ।
नेपाल प्रहरीका पूर्वडिएसपी श्रेष्ठको व्यावसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा नियुक्त गरिएको बताइएको छ।
स्थानीय स्तरमा रहेका विभिन्न पृष्ठभूमिका समुदाय र प्रहरीबीच समन्वय र सम्बन्ध सुदृढिकरणका लागि यो एड्भाइजरी बोर्डले भूमिका खेल्ने गर्छ।
प्रहरीका गतिविधि र घटनाक्रमलाई स्वतन्त्रतापूर्वक समीक्षा गर्ने र समुदायको भावना एवं आवश्यकतालाई प्रहरीसम्म सञ्चार गर्ने कामका साथै विभिन्न घटनामाथिका प्रमुख अनुसन्धानको मूल्यांकन गर्दै स्थानीय प्रहरीको नीति तथा योजना तर्जुमाका लागि समेत सुझाव दिने बोर्डको गर्छ।
श्रेष्ठले आफ्नो नियुक्तिलाई बेलायतको नेपाली समुदायको पहिचान र गौरवको रूपमा लिएको बताएका छन।
'विदेशमा रहँदा नेपाल र नेपाली समुदायको भावनाको गौरवपूर्ण प्रतिनिधित्व गर्न पाउँदा निकै खुसीको महसुस भएको छ', श्रेष्ठले सेतोपाटीसँग भने, 'हाम्रो समुदायको भावना प्रतिबिम्बित हुने गरी काम गर्नेछु।'
श्रेष्ठ विश्वका २७ देशका समुदायको प्रतिनिधित्व रहेको बेलायतको बेजिंगस्टोक मल्टिकल्चर फोरममा समेत अध्यक्षको रूपमा क्रियाशील छन्। यसका अलावा स्थानीय कलेजमा गभर्नरका साथै स्थानीय लेबर पार्टीमा समेत श्रेष्ठ कार्यरत छन्।
गैरआवासीय नेपाली संघ बेलायतको सल्लाहकारसमेत रहेका श्रेष्ठ बेलायतको नेपाली समुदायमा एक सामाजिक अभियन्ता, लेखक तथा वुद्दिजिवीको रूपमा परिचित छन्।