संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली विमानलाई यूरोपमा उडान अनुमति दिन यूरोपेली संघसँग छलफल भईरहेको भन्दै यूरोपियन आकाशमा नेपाली जहाजको उडान छिटै सुरु हुने विश्वास व्यक्त गरेका छन ।
बेलायतको अल्डरसटमा एनआरएन यूकेले आयोजना गरेको नेपाल भ्रमण वर्ष सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भयुरोपियन क्षेत्रमा नेपाली विमानहरुको उडानमा रोक लगाउने आईकाओको निर्णय गल्ती भएको युरोपियन मुलुकहरुले महसुस गरेको समेत जिकीर गरेका छन्।
नेपाली विमानले विगत १७ वर्ष देखी युरोपियन आकाशमा उडान गरेका छैनन्। मन्त्री भट्टराईले अबको केही समयमा नेपालका विमानहरु ईयूको कालोसूचीबाट हट्ने दावी गरे ।
आइकाओ तथा यूरोपेली संघले नेपालमा दर्ता भएका विमान सेवालाई सुरक्षाबारे गम्भिर चिन्ता व्यक्त गर्दै कालो सूचीमा राखेको थियो। आइकाओले नेपाललाई २ बर्ष अघि नै उक्त सूचीबाट हटाइसकेको छ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले प्रतिबन्ध हटाउने प्रयास भईरहेको बताए । अहिले नेपाली विमान सेवालाई ब्ल्याक सी भन्दा माथि आउन नदिएको प्रसंग थप्दै मन्त्री भट्टराई भने ' ईयूभित्रका देशले गल्ति भएछ सच्चाउनु पर्छ भन्नेमा पुगेका छन।'
उनले बिभिन्न देशका कुटनैतिक निकाय मार्फत प्रधानमन्त्री सहित आफुहरु यसमा लागि परेको बताएका थिए ।
निजगढ बिमानस्थल रोकिन्न
पर्यटनमन्त्री भट्टराईले निजगढ बिमानस्थलको निर्माणको काम अघि बढिसकेको बताए।
'निजगढ बिमानस्थल निर्माणका लागि स्वीजरल्यान्डको जुरिच विमानस्थलले चासो देखाएको छ’ उनले भने, ‘निजगढ विमानस्थल पब्लिक प्राइभेट पाटर्नरसीप (पीपीपए) मोडलमा हामीले लगानी पनि खोजिरहका छौं।’
उनले काठमाडौं विमानस्थलको विस्तार तथा विकास एबं भैरहवा र पोखरा विमानस्थलको संचालनले केही चाप कम भए पनि पूर्ण भार थेग्नको लागि निजगढ विमानस्थलको निर्माण अनिवार्य बनिसकेको तर्क प्रस्तुत गर्दै निजगढ विमानस्थल बनाउनुको विकल्प नभएको बताए ।
कार्यक्रममा बोल्दै उनले नेपाल भ्रमण बर्ष सफल पार्न सम्पूर्ण गैर आवासीय नेपालीहरुमा आग्रह गरेका थिए ।
कार्यक्रममा झन्डै दुई दर्जन सहभागीहरुले नेपालको पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका बिषयहरुलाई जोडतोडका साथ् उठाएका थिए । मन्त्री भट्टराईले आफूबाट सुधारका हर प्रयास भईरहेको भन्दै यसमा सबैको रचनात्मक सहयोग र सुझाव लिएर अघि बढने बताएका थिए ।
कार्यक्रमका अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले उनले भ्रमण वर्ष २०२० मा बेलायतबाट मात्र १ लाख पर्यटक नेपाल भित्राउने महत्वकांक्षी योजना रहेको सुनाए। नेपालको पर्यटन प्रवर्द्रधनका लागि गैरआवासीय नेपालीहरुसँग मिलेर बेलायतमा विषेश कार्यक्रम ल्याइने राजदूत सुवेदीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ युके (एनआरएनए) की अध्यक्ष पुनम गुरुङले नेपालको अर्थतन्त्रको मुल स्रोत प्राकृतिक संम्पदा भएको बताउँदै नेपाल भ्रमण वर्षको योजना उपयुक्त समयमा आएको बताउदै आफुहरु नेपाल सरकार संग मिलेर काम गर्न ईच्छुक रहेको बताईन् ।