बेलायत युरोपेली संघबाट बाहिरिने निर्धारित समय केही महिना मात्रै बाँकी रहँदा अन्योल बढ्दै गएको छ। बेलायती प्रधानमन्त्री टेरेसा मेले ब्रेक्जिटको लागि युरोपेली संघसँग सम्मानजनक सम्झौताको आधार तय गर्न नसकेको आरोप एकातिर छ भने यही अन्योलको निकासका लागि पुनः जनमत संग्रह गरिनुपर्ने माग चर्को बन्दै गएको छ।
पछिल्लो क्रममा लण्डनका मेयर सादिक खानले दोस्रो जनमत संग्रह माग गरेका हुन्। आवश्यक सम्झौताका लागि प्रधानमन्त्री मेले प्रभावकारी रुपमा बेलायतको अडान लिन नसकेको आरोप लगाउँदै मेयर खानले यस्तो माग गरेका हुन्।
यही अवस्था कायम रहे ब्रेक्जिटका लागि तोकिएको सन् २०१९ को मार्च मसान्तसम्म कि त कुनै सम्झौता नै नहुने र भए पनि त्यो बेलायतको पक्षमा नहुने दाबी उनले गरेका छन्।
यसअघि पनि कतिपयले पुन: जनमत संग्रह गराउनुपर्ने माग गर्दै आएका थिए। लण्डनका मेयरको पछिल्लो अभिव्यक्तिले दोस्रो जनमत संग्रहको मागलाई बलियो बनाएको छ भने प्रधानमन्त्री टेरेसा मेमाथिको दबाबलाई बढाएको छ।
मेयर खानको पार्टी, प्रमुख प्रतिपक्षी दल लेबरले अहिलेसम्म दोस्रो जनमत संग्रहको माग गरिसकेको छैन। पहिलो जनमत संग्रहको नतिजालाई स्वीकार गर्ने भन्दै उसले त्यसको सम्मान गर्ने जनाएको थियो। तर बदलिँदो परिस्थितिमा अब भने दोस्रो जनमत संग्रहको औचित्यबारे लेबर पार्टीमा समेत छलफल हुने अनुमान गरिएको छ।
उता प्रधानमन्त्री मेले भने दोस्रो जनमत संग्रहको मागलाई अस्वीकार गर्दै आएकी छन्। ब्रेक्जिटका लागि पुनः जनमत संग्रह गर्नु सन् २०१६ को जनमत संग्रहमा आएको जनमतलाई अपमान गर्नु भएको उनको भनाइ छ।
पछिल्लो दबाब र आलोचनाको कडा सामना गर्दै उनले भनेकी छन्, अब अर्को जनमत संग्रहको सम्भावना हुंदैन। कि मैले प्रस्ताव गरेको सम्झौतालाई हाम्रो संसदले पास गर्छ। नभए कुनै सम्झौता बिना नै बेलायत संघबाट बाहिरिन्छ।