म फर्किन्छु, आफ्नै गाउँ फर्किन्छु


भकुण्डे! भकुण्डे! भकुण्ड…

जीवनको संरचना यही माटोमा खेल्दै गर्दा भयो। यही गाउँको पानी, अन्नबाली र हावाको झोक्काले जीवन सिकायो। शारीरिक विकास त्यस्तै भयो, हिडाइँ उस्तै भयो। सोच उस्तै, विचार उस्तै, मन उस्तै, आवाज उस्तै। यही गाउँजस्तै। समग्रमा यही गाउँ बोकेर विकसित युरोपका गल्लीमा भाँैतारिएको पात्र म। जीवनको महत्त्वपूर्ण दुई दशक त्यही गाउँसँगको सामीप्यतामा बिताएको छु। मेरो जन्मथलो, मेरो घर, जहाँ म हुर्केँ, बढँे, पढँे यही घरसँगको सम्बन्ध। यही गाउँसँगको साइनो जिन्दगीमा सबैभन्दा प्यारो छन् र भइरहनेछन्।

बाग्लुङ बजारको चिप्लेटी हुँदै काँठेखोलासम्मको ओरालो बाटो छिचोलेपछि खोलामा झोलुङ्गे पुल आउँछ। महिनाँै श्रमदान गरेर बनाएको। खोलो तरेपछि नाकै ठोक्किने उकालो शुरु हुन्छ। उकालोमा थकाई लाग्दा बिसाउने चौतारीहरू छन्। झरी पर्दा ओत लाग्ने ठाँटीहरू छन्। फराकिलो गोरेटो बाटो छ। गाउँलेहरूले खनेको। पानीका पाईप र धाराहरू छन्। उकालोमा प्यास लाग्दा पिउन मिल्ने। जंगल सकिँदै गर्दा चौतारीमा सुस्याएर लौ भकुण्डे आईयो भन्दै पसीना पुछ्दा गज्जबको आनन्द आउँछ। गाउँ आइपुगेको संकेत दिन, देखिने पहिलो पहेँलो र रातो रङको ढुङ्गे घर मेरो हो। घर देखिँदै गर्दा उकालो सकिन्न, तर सुन्तलाका अग्ला–होचा, सुकेका हरिया, भाँचिएका नुघेका बुटाहरूको पालो आउँछ। बारीका काल्नाहरूमा फुलेका बेडुला र टिमिलाका बुटाहरू आउँछन्। साँघुरा छोटा बारी देखिन्छ। मोटर हिँड्न खनेको बाटोमा धुलो उड्दैन्, मोटर पनि गुड्दैन, गुड्नै पर्दैन। सुन्तलाको बुटामुनि फस्टाएको बुकी र उन्युले जिस्काउँछ।

गाउँ छिरेपछि गाउँ साँच्चिकै गाउँजस्तो लाग्छ। कतै मीठो गन्ध आउँछ,कतै मीठो आवाज आउँछ।मकै भुटेको बास्ना आउँछ, रक्सी पकाएको सुगन्ध थपिन्छ। लोकल घ्युमा गुन्द्रुक पाकेको अनुमान सजिलै गर्न सकिन्छ। मलखादको बास्ना आउँछ। पसीनाको बास्ना थपिन्छ। भाले कुखुरो बास्छ, पोथी कतकत गर्दै आवाज थप्छे। मूलको पानी अञ्जुलीमा थापेर घुटुघुटु पिउँदा सहरमा नापेर पिएको पानीको झल्को आउँछ। पधेर्नीहरू खुट्टा घोटिरहन्छन्।

अचेल घर पुग्ने त्यही बाटो पनि बदलिएको छ। उकालो बदलिएको छ,ओरालो बदलिएको छ। गाउँलेहरू मिलेर बनाएको त्यो झोलुङ्गे पुलमा खिया लागेको छ। चौतारीमा बुकी, उन्यु र वनमारा भरिएको छ। ओत लाग्ने टिनका छाप्राहरूमा माकुराले जालो लगाएका छन्। गोरेटो बाटोहरू स्याउलाले पुरिएर मलखाद जस्तै देखिन्छन्, कतै बाटो होइन झँै, कतै चिप्लो लेउ लागेजस्ता। जंगल अझै जंगलजस्तो भएको छ डरलाग्दो। पानीका धाराहरूमा पानी खस्दैनन्। न भरिया देखिन्छ, न वटुवा। उकालो सुनसान छ, जंगल अझै सुनसान। स्कुले ठिटाठिटीहरूले ढुङ्गामा लेख्ने प्रेमका नानाभाती शब्दहरू देखिन्नन्। त्यो बाटो अचेल कोही हिँड्दैनन्, डराउँछन्, थाक्छन्,आँत्तिन्छन्।

वर्षाँैसम्म साँझ–बिहान त्यही उकालो–ओरालो धाएर हुर्किएको एउटा मान्छे युरोप भासिएको छ। तर त्यो समय रत्तिभर बिर्सेको छैन। अहिले विकासले सम्भावनाहरू खोज्दैछ। सम्भावनाको प्रयोगले सुविधाहरू थपिएका छन्। हामीले काठेखोलासम्मको ओरालो र बाँकी उकालो उक्लिएपछिको थकानमा बिसाएर पसीना पुछ्दै गर्दा कल्पना गर्ने गरेको झोलुङ्गे पुल बाग्लुङ बजारदेखि तित्याङतिर फर्किएर तयार भयो। पुलले गाउँ र सहरको सम्बन्ध सजिलैसँग जोडेको छ। नाकै ठोक्किने जंगलभित्रको उकालो हिँड्ने बाध्यतालाई सहज बनाइदिएको छ। अग्लो झोलुङ्गे पुल त‍र्यो, तित्याङ्ग हुँदै भकुण्डे पुग्यो। यात्रा सजिलो भो। बाटो अलि घुमाउरो तर उकालो थोरै, थकाइ थोरै, पसीना थोरै, डर थोरै, गर्मी थोरै। अनि त त्यही बाटो हिँड्न थालियो, हिँड्दै जाँदा बाटो बन्दै जान्छ भनेजस्तै भो। बाटो बन्यो, हिँड्न मिल्ने। बीचमा खहरे खोलो छ– रिठेखोलो। बर्खामा खुब सुसाएर आउँछ, हिउँदमा लुकेर बग्छ सेतीजस्तै।

रिठेखोलो बगिरहयो, कैले सुसाएर बग्यो, कैले लुकेर बग्यो। कहिले तर्न सकियो, कहिले तर्न सकिएन। कतै खोलाको पुलमा खिया लाग्यो, कतै खोलामा पुल बनेन। पुल नबन्दै गाउँ नगरपालिका बन्यो,पुलले नजोड्दै गाउँलाई नगरपालिकाले जोड्यो। अचेल काठको पुल छ गाउँलेहरूले बनाएको। त्यही पुल हुँदै बर्खामा खोलो तर्न थालेका हामी विकास र सम्भावना देखेर खुशीले मुस्कुराउछौँ। अहिले बाग्लुङ नगरपालिका वडा नम्बर १० रे। बाटोले जोड्यो, मोटर हिँड्ने बाटो तीन तिरबाट जोडियो। गाउँ जताततै च्यातियो, उधारियो, पहाड खोस्रेर बाटो बनाइयो। खेत मासियो, जंगल मासियो, बारी, बगैँचा र आँगन भत्कियो। बस देखिन्नन् कहिल्यै। देखिनै पर्दैन, देखिनै चाहन्नन् बसहरू किनकी हिँडेर चाँडो पुग्छन् मान्छेहरू। बस चढेर अफिस आउन मिल्दैन, बस चढेर स्कुल पुगिँदैन मतलब बस चढ्ने खर्चले साँझ झोलाभरी नुन–तेल आउँछ। स्कुलको फी र खाजा आउँछ। गाउँ जादा आउँदा अग्लो पुल तर्ने रहर जस्तो बस चढ्ने रहर कहिल्यै आएन।

बा शहर झरे, बा’को पछि लागेर म पनि शहर आए। बा सहरमै बसे, म राजधानी छिरँे। त्यहाँबाट पनि विदेश उछिट्टिएँ। संसार देख्दै गर्दा, भोग्दै गर्दा मलाई मेरो गाउँप्रतिको सम्झना र मोह थपिएको हुन्छ सँधै। मेरो गाउँप्रति मेरो मनमा प्रेमका निस्वार्थ मूलहरू छन्। जीवनका हरेक मोड र घुम्तीहरूमा मन जोडिन्छ, मानवता जोडिन्छ, अनुशासन जोडिन्छ, ईमान्दारिता, निस्वार्थता र आत्मीयता जोडिन्छ अनि म गाउँ सम्झिन्छु। गाउँ सम्झिन गाउँले मुटु चाहिन्छ। गाउँले मन चाहिन्छ। प्रत्येक पल धड्किरहने मुटु गाउँको हावा खोज्छ।

मानवता, इमान्दारिता, निस्वार्थता, आत्मीयता, अनुशासन र शान्तिको पाठ सिकाउँदै गाउँ जीवनलाई सत्मार्गमा हिँड्न मद्दत गर्छ। गाउँहरूले जस्तै निस्वार्थ र आत्मीय प्रेम गरिरहने निश्चल आकाश बोकेर हिँड्न रुचाउँछ मन। गाउँ मन हो तसर्थ गाउँ जीवन हो। जीवन नै गाउँ हो।

मैले गाउँभन्दा अर्को जीवन देखेको छैन। विदेशमा जबर्जस्ती बाँचेको दुँनिया देखेको छु। बाँचेरै मरेजस्तो लाग्ने जीवन देखेको छु। जता पनि पाइलैपिच्छे शर्त र सम्झौताहरू भेटेको छु। उदास, अन्यौल र असजिलो जीवन बाँचिरहेकाको छटपटी र पीडा नजिकबाट नियालेको छु। विज्ञान र जीवनको नमिली नहुने सिद्धान्त फेल खाएको देख्छु। म बिहानै दौडिन्छु अचेल शारिरिक संरचना मजबुत राख्ने बहानामा अनि मेरा स्वर्गीय हजुरबा’को मृत्युभन्दा केही दिनअघिको अनुहार र हिँडाइ सम्झिन्छु। लाग्थ्यो उनी राष्ट्रिय गानमा मार्चपास गरिरहेका सिपाही हुन्।

छिट्टै फर्किन्छु त भन्दिनँ तर एकदिन अवश्य फर्किन्छु। घर टाल्न फर्किन्छु। माकुराका जालोहरु फाल्न फर्किन्छु। सहर पसेपछि गाउँ बिर्सियो भन्दै गुनासो पोख्ने साथीहरू सम्झेर फर्किन्छु। सुख खोज्न संसार भौँतारिएको एउटा यात्रीले सुखको संसार देखिसकेको छ। त्यही संसारमा जिन्दगी बिताउनु छ,रमाउनुछ, अवश्य फर्किन्छु, आफ्नै गाउँ फर्किन्छु। स्वर्गको टुक्राजस्तै प्यारो गाउँमा फर्किन्छु।

हो भकुण्डे! म फर्किन्छु, आफ्नै गाउँ फर्किन्छु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.