रमदानको महिनामा गरिबहरूलाई खाना जुटाउन संयूक्त अरब इमिरेट्सको दुबईमा रहेको विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफालाई 'चन्दा वाकस' बनाइएको छ।
यो भवन ८ सय २८ मिटर अग्लो छ।
भवनको बाहिरी भागमा राखिएको प्रत्येक बत्ती २.७० डलरमा बेचिएको रोयटर्सले जनाएको छ। यहाँ १.२ लाख बत्तीहरू छन्।
यसरी बेचिएको प्रत्येक बत्तीबाट आउने रकम एक जना व्यक्तिका लागि खाना किन्न पर्याप्त हुनेछ।
पर्यटकीय एवं व्यवसायिक केन्द्र, दुबईमा विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। तर कोरोना भाइरस महामारीले यहाँको अर्थव्यवस्था निकै प्रभावित बनेको छ।
युएईमा कोरोना भाइरसबाट कुल १९ हजार ६ सय ६१ संक्रमित छन् भने संक्रमणका कारण २ सय ३ जनाको मृत्यु भएको छ।
खाडी मुलुकमध्ये साउदी अरेबियापछि सबैभन्दा बढी संक्रमित देखिएको यो दोश्रो खाडी मुलुक हो।
'बुर्ज खलिफाले हालसम्म १२ लाख बढी मानिसलाई खान दिनपुग्ने खानाको रकम जुटाएको छ', आयोजक संस्था द मोहम्मद बिन राशिद अल मक्तम ग्लोबल इनिसिएटिभ्सले रोयटर्ससँग भने।