संयुक्त अरब इमिरेट्समा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि आवुधावीस्थित नेपाली राजदूतवासले उनीहरूको विस्तृत विवरण संकलन गरिरहेको छ।
सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामी भेटिएको र तीमध्ये दुई जना नेपाली पनि रहेको बताएको थियो।
दुई जना नेपालीमा कोरोना देखिए पनि उनीहरूको को हुन् र युएईमा के गर्थे भन्ने खुलेको छैन।
‘हामीले यहाँको परराष्ट्र मन्त्रालयमार्फत ती नेपालीको विवरण मागेका छौं,’ दूतावासका सूचना अधिकारी भुवन ओझाले सेतोपाटीसँग भने।
युएईमा अहिले झन्डै २ लाख ७५ हजारको हाराहारीमा नेपाली छन्। युएईमा पनि कोरोनाको संक्रमण बढिरहे पनि आत्तिहाल्नु पर्ने अवस्था अहिले नरहेको ओझाले बताए।
‘ठूलो संख्यामा भेला हुन र अन्तर्राष्ट्रिय सम्मेलन गर्न उनीहरूले रोक लगाएका छन्। नत्र अरू काम त सामान्य रूपले भइरहेको छ,’ ओझाले भने,‘दूतावासले पनि फेसबुकलगायत सामाजिक सञ्जालमा कोरोनाबारे सचेतना फैलाउने सन्देशहरू दिइरहेका छौं।’
युएईमा अहिलेसम्म ५९ जनामा कोरोना भाइरस देखिएको छ।
संसारका झन्डै सयभन्दा बढी देशमा कोरोना भाइरस फैलिएको छ। अहिलेसम्म अष्ट्रेलियामा एक जना र युएईमा दुई जना नेपालीलाई मात्र उक्त भाइरसले समातेको छ।