धावनमार्ग मर्मतका लागि काठमाडौं र दुबईको विमानस्थल आंशिक बन्द हुने भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सको काठमाडौं–दुबई उडानको समयतालिका हेरफेर हुने भएको छ।
काठमाडौंमा आगामी अप्रिल १ देखि जुन ३० सम्म धावनमार्ग मर्मतका लागि राति ९:३० देखि बिहान ८:०० बजे सम्म र दुबईमा अप्रिल १६ देखि मे ३१ सम्म दक्षिण पूर्वको एउटा धावनमार्ग पूर्ण रूपमा बन्द हुने भएकोले यस अवधिका लागि नेपाल एयरलाईन्सले उडान तालिका हेरफेर गरेको नेपाल एयरलाईन्स युएई शाखाले जानकारी दिएको छ।
एयरलाईन्सले अबुधाबिमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा नेपाल एयरलाईन्स युएई शाखाका कन्ट्री म्यानेजर टिकाराम पंगेनीले एयरलाईन्सको हालको नियमित उडान समय काठमाडौंबाट २३:३० र दुबईबाट २:५५ – ०४:०० बजे उडान हुने गरेकोमा आंशिक बन्द हुने समयले यसलाई प्रभावित गरेकोले उक्त तीन महिनाको अवधिका लागि दुबईकै अर्को विमानस्थल अल मक्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने जानकारी दिए।
उनले यो ३ महिनाको अवधिमा एयरलाईन्सले दैनिक उडानलाई कटौती गरेर साताको ३ उडान मात्रै भर्ने जानकारी दिए। पंगेनीले दिएको जानकारी अनुसार मंगलबार, बिहिवार र शनिबार काठमाडौंबाट राति २१:१५ मा र बुधबार , शुक्रबार र आईतबार दुबईबाट बिहान २:२० बजे उडान हुनेछ।
यस अवधिमा यात्रुहरूको चापलाई हेरि हालको साप्ताहिक सिट क्षमतामा असर नपरोस भन्ने आशयले ठूलो सिट क्षमताको वाईड बडि जहाजबाट उडान भर्ने पंगेनीले जानकारी दिए।
यात्रुको सुविधालाई ध्यान दिँदै निगमले ईकोनोमी क्लासमा ३५ र ४० केजीको ब्यागेज सुविधा दिँदै आएको छ भने ह्याण्ड केरिमा हालको ७ केजीलाई बढाएर १० केजी बनाईएको निगमले जनाएको छ।
साथै नयाँ विमानस्थलसम्म जानका लागि बरदुबईदेखि निःशुल्क बस सेवा उपलब्ध गराउने बताईएको छ। यो सुविधा अबुधाबीबाट आउने यात्रुले पनि नियमित रूपमा पाउँदै आएका छन्।