सरकारले कडाईका साथ लागू गरेको झिटिगुन्टा सम्बन्धी कानुनले प्रवासी नेपालीलाई अन्याय गरेको भन्दै युएईमा कार्यरत नेपालीले नेपाल सरकारलाई गुनासो गरेका छन्।
सरकारले जारी गरेको झिटिगुन्टा आदेश कार्यान्वयनमा आक्रमक रूपले उत्रिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्किएका यात्रुबाट मोबाईल, रक्सी, ल्यापटपजस्ता सामाग्री जफत गर्न थालेपछि प्रवासी नेपालीले मन्त्री लालबाबु पण्डितमार्फत सरकारलाई गुनासो राखेका हुन्।
विश्व सरकार सम्मेलनमा सहभागी हुन युएई आएका मन्त्री पण्डितलाई अबुधाबीस्थित नेपाली दूतावास परिसरमा शनिबार आयोजित भेटघाट तथा छलफल कार्यक्रममा युएईमा कार्यरत प्रवासी नेपालीले आफ्ना गुनासा तथा भोगाई मन्त्रीसमक्ष राखेका थिए।
कार्ययक्रममा सहभागी अधिकांशले सरकारले हालै कडाईका साथ लागू गरेको झिटिगुण्टा सम्बन्धी कानुनले विदेशमा दुख गरि फर्केका नेपालीहरु अन्यायमा परेको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने माग राखेका थिए। त्यस्तै घरेलु कामदारको श्रम स्वीकृति फुकुवा गर्नुपर्ने र मानव तस्करी नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएका थिए।
मन्त्री पण्डितले भेटघाटमा सहभागी नेपालीको कुरा सुनिसकेपछि सम्बोधन गर्दै झिटिगुण्टा सम्बन्धी कानुन नयाँ नभई पुरानै कानुनलाई कार्यान्व्यन गरिएको बताएका थिए।
यद्यपि यसलाई पुनर्विचार गर्न सकिने उनको भनाई थियो। छ्लफलमा उठेका सबै विषयहरूलाई गम्भीरताका लिएको बताउँदै मन्त्री पण्डितले समाधानका लागि सम्बधित ठाउँमा पुर्याइने आश्वासन दिए।