दुबई प्रहरीको हिरासतमा रहेका नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालका विषयमा मिडियामा सार्वजनिक समाचार निराधार र भ्रमपूर्ण रहेको महासंघले स्पष्ट पारेको छ।
एक वर्षअघि व्यवसायीक लेनदेनका क्रममा भएको सामान्य विवादको घटना अनुसन्धानका लागि दुबई प्रहरीले दुई साताअघि बस्याललाई हिरासतमा लिएको थियो। बस्याल पक्राउका विषयमा मिडियामा विभिन्न समाचारहरु सार्वजनिक भएपछि महासंघ युएई शाखाले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको छ।
संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा केहि समयअघि व्यवसायिक लेनदेनका विषयमा एक चिनियाँ नागरिकसँग भएको विवादका कारण बस्याललाई प्रहरीले पक्राउ गरेको भए पनि विभिन्न मिडियामा प्रकाशित समाचारमा भनिए झैं हुण्डी र चेक बाउन्सको कुनै मुद्दा नरहेको उल्लेख गरिएको छ।
त्यसैगरी घटनाको यथार्थ नबुझी तोडमोड गरेर व्यक्तिको चरित्र हत्या हुने गरि समाचार प्रकाशन हुनु दुःखद रहेको महासंघका सचीव मेघराज सापकोटाले बताए।
उनले भने, ‘मिडियामा आएका कुरा निराधर र कपोकल्पित हुन्। उहाँ एक वर्ष अघिको व्यवसायिक लेनदेनको केसमा तानिनु भएको हो। केही दिनमै छुट्ने बुझिएको छ।’
दुबईमा आफ्नै दाई दिपक बस्यालले सञ्चालन गरेको निर्माण सामाग्री सम्बन्धी व्यवसाय सम्हाल्दै आएका बस्यालसँग एक वर्षअघि एक चिनियाँ नागरिकको लेनदेन विषयमा विवाद भएको थियो।
उक्त विवादमा बस्यालले आफूलाई हातपात गरेको भन्दै चिनियाँ नागरिकले अदालतमा मुद्दा दायर गरेका थिए ।
विवादका क्रममा हातमा चोट लागेको भन्दै त्यसको उपचार खर्च दावी गरेर दायर गरिएको मुद्दाका विषयमा बुझ्न दुई साता अघि बस्याल प्रहरी कार्यालय पुगेका थिए।
सोहि बेला प्रहरीले उनलाई पक्राउ गरि हिरासतमा राखेको दाइ दिपक बस्यालले बताए।
उनले उक्त मुद्दामा भाइ सम्बन्धित नभएको भन्दै कानुनी प्रक्रिया पूरा गरेर मुद्दा टुंग्याउन पहल गरिरहेको बताए ।
यस विषयमा दूतावासको भनाई उदृत गर्दै मंगलबार केही संचार माध्यममा समाचार प्रकाशन भएका थिए। तर, समाचारमा भनिए जसरी दूतावासका तर्फबाट कुनै वक्तव्य नदिईएको नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताए।