पछिल्लो समय युएईमा नेपालीले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा लोपोन्मुख नेपाली पञ्चेबाजा घन्किन थालेको छ ।
विवाह , व्रतबन्ध जस्ता शुभकार्यहरुमा बजाईने यो बाजा संकटमा परेपछि नेपाल मगर संघ युएईले पञ्चेबाजा समूह निर्माण गरि यो बाजा बजाउन थालेको हो ।
दर्जी समुदायले पुर्ख्यौली पेशाको रूपमा बजाउँंदै आएको पञ्चेबाजा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्न मगर संघ युएईले नेपाली दूतावासको प्राविधिक सहयोगमा २०७२ चैत्रमा पञ्चेबाजा भित्र्याएको हो । बाजा उपलब्ध भएपछि २०७३ बैशाख देखि मगर संघले पञ्चेबाजा समूह निर्माण गरि कार्यक्रमहरुमा बाजा बजाउन थालेको हो ।
अहिले युएईमा नेपालीले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा आतिथ्य सत्कार , उद्घाटन र अन्य शुभकार्यहरुमा पञ्चेबाजा बज्ने गर्दछ । विदेशी भुमिमा आफ्नो मौलिक पहिचान र संस्कृति झल्काउने बाजा बजाउँदा खुसी र सन्तुष्टि दुवै मिल्ने गरेको पाल्पाका तारा सुनारीले बताए । उनि समुहमा सहनाई बजाउने गर्दछन । त्यस्तै नवलपरासीका मेघ थापा समुहमा दमाह बजाउने गर्दछन । कार्यक्रममा हिंड्दा नेपालीहरुले देखाउने सद्भाव र माया देखेर खुसी मिल्ने उनी बताउँछन् ।
युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको बेला विदेशी भुमिमा आफ्नो कला–संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने समुहको प्रयास प्रसंसनिय रहेको नेपाली दूतावास युएईका कार्यवाहक राजदुत सागरप्रसाद फुयाँलले बताउँछन ।
मगर भेषमा सजिएर बाजा बजाउने समुहमा अहिले ९ सदस्य छन् । जसमा तारा सुनारी र खेम पुलामी सहनाई बजाउँछन , मेघ थापा र विशेन्द्र चितौरा दमाह बजाउँछन , कुमार खाम्सा र ईन्द्र सुनारी विगुल बजाउँछन , सुमन थापा ट्याम्को बजाउँछन , राजेन्द्र थापा झुर्मा बजाउँछन र भुवन थापा ढोलक बजाउने गर्दछन ।
प्रवाशको अति व्यस्त दिनचर्याबाट महत्त्वपूर्ण समय निकालेर आफ्नो देशको कला–संस्कृति जोगाउने अभियानमा लाग्दा धेरै चुनौतीहरु सामना गर्नु परेको नेपाल मगर संघ युएईका सचिव भुवन थापाले बताए । उनले आगामी दिनमा अन्य थप नेपाली बाजाहरु खरिद गरि समुहलाई विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
त्यस्तै हाम्रा पुरातन बाजागाजा , भेषभुषा , संस्कृति संकटमा पर्दै गएकाले यसको संरक्षण गर्न सबै लागिपर्नु पर्ने बताउँछन् युएईमा पञ्चेबाजा समूह निर्माणमा मुख्य भुमिका खेल्ने मगर संघ युएईका प्रमुख संरक्षक चन्द्र सारु मगर । उनले यसका लागि सरकार समेत गम्भीर बन्नुपर्ने बताए ।