आगामी भदौ ८ र ९ गते दुबईमा आयोजना हुने गैह्र आवसीय नेपाली संघ (एनआरएनए) को छैठौं मध्यपूर्व सम्मेलनमा सहभागी हुन संसारभरबाट एनआरएनए अभियन्ता आउनेक्रम शुरु भएको छ ।
सम्मेलनमा सहभागी हुन नेपाल सरकारको प्रतिनिधित्व गर्दै खानेपानी तथा सरसफाई मन्त्री बिना मगर बुधबार राति नै युएई आईसकेकी छन्। प्रमुख अतिथिको रूपमा सहभागी मन्त्री मगरले शुक्रबार बिहान दुबईस्थित ग्राण्ड एक्सेलसिअर होटलमा सम्मेलनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनमा पूर्व श्रममन्त्री रमेश लेखक, श्रम मन्त्रालयका उपसचिव विपिन आचार्य, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्ट, आईसीसी तथा आरसिसिका पदाधिकारीहरू र मध्यपूर्वका एनसिसि प्रतिनिधिसमेत सहभागी हुँदैछन्।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारी, नेपाल सरकारका प्रतिनिधि, सञ्चारकर्मीसहित साउदी अरेबिया, बहराईन, कुवेत, लेवनान, ओमन, कतारलगायत मध्यपूर्वका १२ देशका एनआरएनए प्रतिनिधि सम्मिलित भेला युएई घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न हुनेछ।
अत्यन्तै महत्त्वका साथ हेरिएको एनआरएनएको मध्यपूर्व सम्मेलन वैदेशिक रोजगारीका क्रममा खाडीमा रहेका नेपाली मजदुरको सुरक्षा, राहत र हितमा केन्द्रित हुने आशा गरिएको छ।
जिम्मेवार मम्त्रीहरू उपस्थित नभएपछि सरोकारवाला निराश
एनआरएनएले क्षेत्रीय भेलामा श्रमिकका समस्याहरू श्रममन्त्री, परराष्ट्र मन्त्री वा गृहमन्त्रीसमक्ष प्रत्यक्ष राख्ने योजनासहित तयारी गरेको थियो। तर, यी मध्ये कुनै पनि मन्त्री उपस्थित नभएपछि आयोजक निराश भएका हुन्।
श्रमिकका समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गर्ने उद्धेश्य भए पनि सम्बन्धित मन्त्रालयका जिम्मेवार मन्त्रीहरु नै सहभागी नहुने भएपछि कार्यक्रम नै खल्लो भएको एनआरएनए अभियन्ताले गुनासो गरेका छन् ।
‘भेलाको मुख्य एजेन्डा नै यहाँ कार्यरत नेपाली श्रमिकको मुद्दा भएकाले कम्तीमा श्रममन्त्री वा परराष्ट्रमन्त्रीको उपस्थिति हामीले अपेक्षा गरेका थियौं तर, उहाँहरु उपस्थित हुन सक्नुभएन’, एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठले भने।
लाखौं नेपाली श्रमिक भएको ठाउँमा श्रमिककै सवालहरू उठाउने कार्यक्रम आयोजना हुँदासमेत जिम्मेवार मन्त्री सहभागी नहुनु दुःखद् भएको नेपाली समाजका निवर्तमान महासचिव मणि भुर्तेलले बताए।
भेलामा नेपाली श्रमिकको समेत उल्लेख्य उपस्थिति नहुने संकेत देखिएको उनले बताए।
नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालले श्रमिक लक्षित कार्यक्रममा श्रममन्त्रीको उपस्थितिले कार्यक्रमको प्रभावकारितामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
यद्यपि उनले सरकारको प्रतिनिधित्व गर्दै सहभागी प्रतिनिधिहरुले यहाँ उठेका विषयहरु सरकार र सदनमा पुर्याउने विश्वास व्यक्त गरे।
हरेक दुई वर्षमा एकपटक आयोजना हुँदै आएको एनआरएनए क्षेत्रीय समितिहरुको भेला यस अघि सन् २०११ मा पनि युएईमा भएको थियो।
नेपालीका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य मानिने मध्यपूर्वमा निर्माण , सुरक्षा , सेवा आदि क्षेत्रमा गरि करिब २५ लाख नेपाली कार्यरत छन्।