हेटौंडामा बसेर पत्रकारिता गर्नेलाई पहिलो पटक दुबईमा सम्मान गरिएको छ। न्यु मिडिया एकेडेमी प्रालिको आयोजनामा युएईको बरदुवईमा सम्पन्न विशेष कार्यक्रमबीच मकवानपुरमा रहेर पत्रकारिता गर्ने विभिन्न ८ विधाका पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको हो।
२०७४ सालभर गरिएको पत्रकारितालाई आधार मानेर अवार्ड वितरण गरिएको आयोजक संस्थाले जनाएको छ।
उत्कृष्ट सम्पादक वर्ष अवार्ड नवराज शर्मालाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष शर्मा नयाँ प्रकाश साप्ताहिकका सम्पादक हुन्।
त्यसैगरी, उत्कृष्ट पत्रकारिता वर्ष अवार्ड गणेश दर्पण अधिकारीले पाएका छन्।
त्यसैगरी खोजी तथा चुनौतिपूर्ण पत्रकारिता वर्ष अवार्ड शिवकुमार रिजाल काशीले पाएका पाएका छन्।
वर्षभरी रेडियो तथा टेलिभिजनमा समाचार तथा सूचनामूलक कार्यक्रम प्रस्तुतकर्तालाई दिइने प्रस्तोता वर्ष अवार्ड पोष्टराज अधिकारी कुमार, सामाजिक पत्रकारिता वर्ष अवार्ड सुवास बिडारीलाई प्रदान गरिएको छ ।
संचार उद्यमी वर्ष अवार्ड हेटौंडा सन्देश राष्ट्रिय दैनिकका प्रकाशक माधव न्यौपानेलाई, चलचित्र पत्रकारिता वर्ष अवार्ड कृष्ण सारू मगरलाई तथा बजार व्यवस्थापक वर्ष अवार्ड गोकुल अधिकारीलाई प्रदान गरिएको छ।
सोही कार्यक्रममा कलाकार पारस लामा, दिपक गुरुङ, रेविका थापा मगर, ॠषिलाल श्रेष्ठलगायत युएईमा कार्यरत नेपाली कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न ८ विधामा प्रधान गरिएको अर्वाडको राममणि दाहाल, दीपक अधिकारी र रूपेश दुलालले छानेको आयोजक संस्थाले जनाएको छ।
सोही समारोहमा तु-खबर अनलाइनका प्रधान सम्पादक र गिरिजाप्रसाद अधिकारी र नेपाल पत्रकार महासंघ युएई शाखालाई सम्मान गरिएको थियो।
यस्तै, हेटौंडाका व्यवसायी विद्युत बज्राचार्य तथा उत्सव इटेनीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत सागर फुँयाल, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठलगायतले अवार्ड प्रदान गरे ।
पत्रकारहरुको पेशागत गरिमालाई उच्च पार्न हेटौंडामा कार्यरत पत्रकारलाई अन्तर्राष्ट्रियकरण गर्ने पहिलो प्रयास सफल भएको एनआरएन आइसिसि सदस्य तथा प्रदेश नम्बर ३ एकता समाजका संरक्षक श्री मनोज गोर्खालीले बताए।
सोही कार्यक्रबाट उठेको २ लाख १० हजार बराबरको रकम बाल गायक अशोक दर्जीको घर निर्माणका लागि प्रदान समेत गरिएको गोरखालीले बताए।
पत्रकारिता क्षेत्रको विकास र देश बिकासका निम्ति कलम चलाउने पत्रकारको मनोबल झनै बढोस भन्ने शन्देश दिन पनि सो कार्यक्रम गरिएको गोरखालीले सेतोपाटीलाई बताए।