६ महिनाको तलब लिएर गुमनाम भइदियो साथी…


विदेशमा महिनाभर काम गरेर जब तलब आउने समय नजिकिन्छ अनि मन भरी अनगिन्ती योजना र सोच उत्पन्न हुन्छ। अनि त्यही उत्पन्न सोच र योजनाले काम गर्ने ऊर्जा र साहस पैदा हुन्छ।

खाडीको देशहरुमा हिजो आजको समय भनेको बडो कस्टकर समय हुन्छ। खपिनसक्नु गर्मी दिनानुदिन बड्दो तापक्रमले साँचै कुनै बेला त बाच्ने साहस पनि क्षीण भएर आउँछ। त्यही माथी आफू भन्दा ठूला र अलिक बढी जान्ने ब्यक्तिले काम लगाउने शिलशिलामा रुखो र चर्को स्वरले बोल्दा त गहभरी आँशु भरिन्छ। मन भक्कानिएर आउँछ। घर परिवारको समझना आउँछ।  विवशता मेरो भागमा थिएन भने किन आउथे र यस्तो ठाउँमा झै लाग्छ।

आमाले घरबाट फोनमा काम कस्तो छ बाबु भन्दा राम्रो छ बाहिर जानू पर्दैन एसि भित्रै बसेर गर्ने काम पाएको छु भन्दा आफ्नै बोली लरबरिएर रुन आउँछ कहिले काही। धेरै साहस बटुलेर राम्रो छ भन्नु पर्छ प्राय: जसो।

घरको समस्या र आर्थिक अवस्था दयनीय भएकै कारण म जस्ता कयौं नेपाली खाडीको चर्को घाममा पसिना बगाइरहेका छ्न्।

त्यही माथि आफ्नै मुलुकको साथीभाइले झण्डै ६ महिनाको तलब हात पारेर गुमनाम भएको अवस्था छ एकातिर।

केही समय अघि एक दिन घरबाट अचानक फोन आयो। घरमा एउटा गहन समस्या आइपरेछ। सकेजति पैसा जसरी भए पनि सरसापट गरेर पठाउनुपर्ने भयो। आफूसँग मिल्ने एकजना साथीसँग केही रकम मागेर ४ हजार रियाल नेपाली लगभग एक लाख दस हजार जम्मा गरेँ।

पैसा पठाउने रेमिट आफू रहेको स्थानबाट निकै टाढा थियो। त्यसमाथि आफू ड्युटी समयमा पैसा पठाउन जान सम्भव थिएन। कम्पनीले पनि तलब आएको २ दिन मात्रै गाडीको ब्यवस्था गर्थ्यो। त्यही असहज परिस्थितिको कारण एउटै क्याम्पमा बस्ने अनि त्यही क्याम्पको रिक्रेशनमा काम गर्ने एक जना डोटी घर भएका तर कैलाली गुलरिया बसोबास गरेको भनेर बताउने साथीसँग आएदेखि चिनजान थियो। ऊ फरक कम्पनीको भए पनि साँझ बिहान सधै भेट हुन्थ्यो र उसको कम्पनीको गाडी त्यस दिन सिटिसम्म जान लागेको कुरा उस्ले बतायो।

म आफू ड्युटी छोड्न नसक्ने कारणले गर्दा उक्त साथिलाई आफ्नो घरको ठेगाना पैसा पाउनेको नाम र आफ्नो नाम लेखाइ पैसा पठाइदिने प्रतिबद्धता देखाएर म स्वयंले ४ हजार रियाल र अर्को मेरै साथीले २३ सय रियाल गरि नेपाली १ लाख ७५ हजार दियौं र त्यसदिन बिहान हामी ड्युटी तर्फ लाग्यौ।

ढुक्क थियौँ आफू जान नसके पनि साथीले प्रतिबद्धता देखाएको कारण बेलुका अबेर कोठामा आइपुग्यौ। कपडासमेत नखोली साथिलाई भेट्न उसको कोठामा गयौ। तर, दुर्भाग्य कोठामा ऊ थिएन।

उसका अन्य साथीलाई सोध्यौ। साथीहरुले केशर त आफ्नो श्रीमती गम्भीर बिरामी भएको र स्थिति नाजुक रहेको बताएर कम्पनीबाट छुट्टी मिलाएर आजै बेलुकाको उडान तय गरेर एयरपोर्ट पुगिसकेको र यतिखेर त उड्ने समय भैसकेको कुरा बताए र आफूहरुले पनि सहयोगार्थ १०/२० रियाल जम्म्मा गरेर सहयोग गरेको बताए। १५ दिन पछि फर्कने कुरा गरेर यहाँबाट हिँडेको कुरा बताए।

त्यसपछि उनीहरुले के भयो? केही काम थियो कि भनेर सोधे। मैले हाम्रो सबै यथार्थ कुरा सुनाए। आफूहरुले विश्वास गर्दा धोका पाएको कुरा भन्यौ। तै पनि उनीहरूले आउने कुरा गरेकोले १५ दिनसम्म पर्खनुस् भन्ने आश्वासन दिए। मलाई ऊ आउँछ भन्ने पटक्कै विश्वास थिएन। तै पनि पर्ख्यौ, आएन।

केशर बहादुर बोगटीको राहदानीको प्रतिलिपी

अनि उसका साथीले पनि फोन सम्पर्क गरे उस्ले छोडेको नम्बर जति सबै स्विच अफ रहेछ। त्यस्पछि बल्ल बल्ल फेसबुककै माध्यमबाट उस्को एकजना आफन्त पर्नेले आफ्नो नाम कसैलाई भन्दिनँ भन्ने शर्तमा उसको श्रीमतीको नम्बर दिए।

मैले सभ्य भाषामै सबै कुरा गरेँ र केशरसँग कुरा गर्न चाहन्छु  एक पटक  भन्दा केशर घरमा आएको छैन,भनेर झुटा कुरा गरे। भोलिपल्टदेखि उसकै श्रीमतीको मोबाइल पनि स्विच अफ भयो र आजसम्म ऊ सँग कुनै सम्पर्क छैन। ऊ जानेर ३ महिनादेखि  सम्पर्क बिहिन भैरहेको छ। या केही भएको हो थाहै छैन। आफू यता तिर तनावमा छु। के गरौ के नगरौ।

नाम: फिरुलाल चौधरी

जिल्ला: दाङ (उत्तर कुरहरिया)

 गा.बि.स: मानपुर २

हाल : दोहा कतार

सम्पर्क: ३३८२७६३१

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.