मैले मेरो परिवार मार्नेलाई पनि माफी दिएँ

मैले मेरो परिवार मार्नेलाई पनि माफी दिएँ


इमाकुली इलिबाजिजा २२ वर्षकी थिइन्, जतिबेला उनी रूवाण्डा युनिभर्सिटीमा पढ्थिन्। १९९४ को त्यो समय जसलाई उनी सबैभन्दा डरलाग्दो क्षणको रूपमा सम्झिन्छिन्। हुतु राष्ट्रपति जुवेनल हाव्यारिमानाको हत्या भएको सय दिनसम्म बाँकी रहेको हुतु नेतृत्व र राष्ट्रिय सेनाले संयुक्त रूपमा देशका हुतुहरूलाई खोजीखोजी मारेका थिए।

जब सामूहिक हत्या सुरु भयो, इलिबाजिजाको पिताले उनलाई एक जना पादरीको घरमा पठाए। उनले उनीलगायत अरू महिलाहरूलाई तीन वा चार फिट अग्लो पुरानो बाथरूममा लुकाएका थिए। सबै महिलाहरू बस्नको लागि त्यहाँ पर्याप्त ठाउँ थिएन त्यसैले ठूला र मोटा महिलाहरूले साना महिलाहरूलाई काखमा बोक्थे। उनीहरू एकदमै चकमन्न बस्नुपर्थ्यो, किनकि पादरीले उनीहरूलाई आफ्नो परिवारहरूबाट पनि लुकाइरहेको थियो। उनीहरूलाई देखेर उसका बालबच्चा डराएर आवाज निकालिदिए भने समस्या हुन्छ भन्ने उसलाई थाहा थियो। त्यस्तो अवस्थामा पादरीले परिवारका सदस्यहरूले खाएपछि उब्रिएको खाना मात्र उनीहरूलाई खुवाउन सक्थ्यो। घरको अर्को ट्वाइलेटमा फल्स गरेको आवाज नआउन्जेल महिलाहरू ट्वाइलेट फल्स पनि गर्दैन थिए।

त्यस्तो कैदीजस्तो जीवन ९१ दिनसम्म चल्यो तर बदलामा उनीहरूको जीवन बच्यो। हतियार बोकेका हुतुहरूले पादरीको घर नजिकै चिच्याउँदै भेटे भने इमाकुली तथा अरू कुनै तुत्सीलाई जसरी पनि मार्ने भन्दै कराएका थिए। एक दिन कोही आएको थियो। बाथरुमको ढोकामा हात पनि लगाएको थियो तर धन्न खुलेन। जब नरसंहार रोकियो इमाकुलीको तौल आधा घटेको थियो तर उनी ज्युँदै थिइन्। उनको परिवार भने उनीजस्तो भाग्यशाली थिएनन्। उनका बुवा-आमा¸ तीन मध्ये दुई भाइबहिनी र उनले चिनेका परसम्मका धेरै आफन्तहरू क्रुर तरिकाबाट मारिए।

उनी बाँचेको कथा नै चामत्कारिक रूपमा पर्याप्त छ तर अझै प्रेरणादायी कथा त विध्वंसदेखि माफीसम्म उनले गरेको यात्राको छ। पीडा भोगेका सबैलाई माफी दिनको लागि प्रेरित गर्दै उनले पछिल्ला १९ वर्षहरू बिताएकी छन्। उनको किताब ‘लेफ्ड टु टेल’ संसारभर २ लाख ५० हजार भन्दा धेरै बिकेको छ र त्यसको डकुमेन्ट्रीसमेत बनेको छ। उनी राजनैतिक नेता, बहुराष्ट्रिय कम्पनीहरू¸ चर्च, समूह¸ मानव अधिकारवादी संघसंस्थाहरू¸ विश्वविद्यालयहरू¸ स्कुललगायत संसारभरका श्रोताहरूसँग बोल्छिन्। उनको कथाको महत्वलाई सम्मान गर्दै मानवियतासम्बन्धि धेरै अवार्ड तथा सम्मानहरूबाट उनी सम्मानित भइसकेकी छन्। उनले नोट्रे डेम युनिभर्सिटिबाट डक्टरल डिग्री तथा २००७ मा महात्मा गान्धी विश्वविद्यालयबाट शान्ति तथा मेलमिलापको लागि अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन्।

रूवान्डाको ट्राजेडी भएको चार वर्षपछि इमाकुली संयुक्त राष्ट्रसंघमा काम गर्नको लागि उनी अमेरिकाको न्यु योर्क गइन्। त्यसैबेलादेखि उनले लेफ्ट टु टेल च्यारिटेवल फण्ड सुरु गरेकी छन् जसले नरसंहारले निम्त्याएका दुरगामी असरहरूलाई समाधान गर्नलाई काम गरिरहेकी छन्। रूवाण्डामा बुवाआमा गुमाएका बालबालिकाहरूको लागि उनले १ लाख ५० हजार डलरभन्दा धेरै पैसा पुर्याइसकेकी छन्।

उनीसँग मुन म्यागेजिनले गरेको अन्तरवार्ता सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ।

नरसंहार भएको २० वर्षपछि फर्किएर हेर्दा आफूले दिएको अग्निपरिक्षा पास गरेजस्तो लाग्छ?

ती तीन महिनाहरूले मेरो जीवनका हरेक पक्षहरू परिवर्तन गरिदिए। जब म बाथरूममा छिरेको थिएँ, त्यसबेला म बच्चा थिएँ। अरूले राम्रा भनेका सबै मानिसहरूलाई मैले विश्वास गरेँ। हाम्रा नेताहरूलाई पनि विश्वास गरेँ। समाजका कसैलाई पनि पीडा नदिनु भनेर उनीहरूले लेखेको कानुनलाई पनि विश्वास गरेँ। तर बाथरूममा बिताएका ती तीन महिनाहरूले मलाई ती कानुन र ती मान्छेहरू, जसलाई मैले पत्याएको थिएँ ती पनि परिवर्तन हुने रहेछन् भन्ने थाहा पाएँ। मानिसहरू जे भनेको हो, त्यो गर्ने रहेनछन्। अझ ती मान्छेहरू जो अरूलाई राम्रो हुनुपर्छ भन्थे उनीहरू पनि नराम्रो गर्न पछि परेनन्। जब म बाथरूमबाट फर्किएँ तब आफैंतिर फर्किएर हेरेँ र आफ्नो मूल्य मान्यता के रहेछ भन्ने थाहा पाएँ। मैले गलत पत्याएछु भन्ने पनि बोध भयो। त्यसैले मलाई शान्तिका लागि अब के योगदान गर्नसक्छु भनेर सोच्न बाध्य बनायो।

सुरुमा त म भाँचिएकी थिएँ जसको तपाईं कल्पना गर्न सक्नुहुन्छ। मैले माया गर्ने र मलाई माया गर्ने सबै मरिसकेका थिए। मसँग भगवानबाहेक कोही पनि थिएनन्। त्यसैले मैले दयालाई साथी बनाएँ। मैले निर्णय गरेँ कि मैले दया गर्नका लागि कसैले पनि मलाई राम्रो व्यवहार गर्नुपर्दैन। आफूले बस्न चाहेको जस्तो संसारमा पुग्न वा बनाउनको लागि मैले दयालु हुनैपर्थ्यो किनकि त्योभन्दा अर्को कुनै बाटो थिएन। मेरो संसार तिनीहरूले ध्वस्त पारेका थिए, जसले मायालाई बिर्सिसकेका थिए त्यसैले यदि मैले  फरक संसार चाहन्थेँ भने आफू फरक हुनैपर्थ्यो। त्यसैले आफ्नो अनुभवबाट म धेरै रूपमा हुर्किएँ वा बढेँ। मान्छेले जे-जे गरेका भए पनि त्यो दुखद अनुभवले मेरो मान्यतालाई कमजोर बनाउनुको साटो झनै मझबुत बनाए।

तपाईंले भन्नुभयो कि, यसले तपाईंको भगवानप्रतिको विश्वास बलियो बनाइदियो। तर धेरै मानिसहरू त त्यस्तो दुखद कुरा भएको हेरिरहने के भगवान भनेर रिसाए पनि होलान् नि?

म मानिसहरू किन भगवानसँग रिसाउँछन् भन्ने कुरा जान्दछु तर सत्य के हो भने त्यो भन्दा अरू कुनै उपाय बचेकै थिएन। त्यस्तोबेला यदि भगवानसँगै रिसाउने भने कहाँ जाने? कसरी बाँच्ने? के मा अढेस लाग्ने?  त्यहाँ अरू केही कुरा थिएन।

मलाई पनि रिस नउठेको हैन। मसँग रिसाउनका लागि उपयुक्त कारण पनि थियो। तर म रिसको कारणले मर्दै पनि त थिएँ। रिसको कारण मेरो टाउको र पेट हरक्षण दुख्न थालेको थियो। म पसिनापसिना हुन्थेँ। कसरी हाँस्ने भन्ने बिर्सँदै थिँए। केही कुराले खुसी बनाउँदैनथ्यो। म आफैंलाई दु:ख दिइरहेको थिएँ। मेरो जीवनमा केही चिजले प्रकाश ल्याउन सक्थ्यो भने त्यो भगवान नै थियो।

यो सत्य हो कि मसँग रिसाएर भगवानलाई सोध्नको लागि प्रश्नहरू थिए। यो सबै हुन कसरी दिइस् भगवान्? तर त्यसको जवाफ मेरो मनमा आफैं आयो, ‘मैले स्वतन्त्रता दिँदै गर्दा यस्तो हुनसक्छ भनेको थिएँ।’

मान्छेले नै छान्नुपर्ने थियो। हामी पिँजडामा थिएनौं। स्वतन्त्रता खतरनाक चिज हो र यो अति राम्रो चिज पनि हो। मलाई मानिसहरूले रूवाण्डाको नरसंहारको बारेमा लेखेको मनपर्छ किनकि यसले मानिसहरूलाई वुद्धिमानी तरिकाले छान्नलाई प्रेरित गर्छ। मानिसहरूले सही निर्णय गरेको बेला विश्वलाई जहिले पनि फाइदा हुन्छ। राम्रो गर्नेहरूले हामी सबैलाई राम्रो समाज दिन्छन्।

युद्ध अन्तै भइरहेको छ वा हामीभन्दा धेरै टाढा छ भनेर मानिसहरूले थाहा नपाएजस्तो गर्नु गलत हो। यो हाम्रो मामिलाको विषय हैन भनेर कसैले भन्नु हुँदैन। माया, कृतज्ञता, खुसीजस्ता कुराहरू गुमाइसकेको मानिसले अरूलाई पनि दु:ख दिने निश्चित छ। यो आगोसँग खेलवाड गर्ने परिवारको सदस्यजस्तै हो जसले कुनै न कुनै दिन पुरै घरमा आगो लगाउँछ। जसले सबै सदस्यलाई पीडा दिनेछ। मैले रूवाण्डाको अवस्थालाई पनि यसरी नै बुझेँ। हामी पनि घृणालाई मन पराउने सानो सङ्ख्याका मानिसहरूबाट प्रभावित भयौं, जसले गलत निर्णयहरू लिए। हुनसक्छ हामीलाई यस्तो हुने थाहा थियो तर हामीले वेवास्ता गर्‍यौं। हामीले उनीहरूलाई बेलैमा सिकाउन, प्रभावित पार्न वा उनीहरूलाई प्रभावित पारिरहेको असमानता र अन्यायहरूलाई चिर्न सक्थ्यौं।

त्यसैले मैले भगवान मभित्रै बोलिरहेको महसुस गरेँ। तपाईंलाई थाहा छ हामीभित्रै भगवान छन्। आज प्रश्न सोध्नुभयो भने भोलिसम्म कुनै न कुनै रूपमा तपाईं जवाफ पाउनुहुन्छ। जब मैले भगवानलाई सोधेँ त्यस्तै गरी जवाफ पाएँ। भगवानले भनिरहेजस्तो लाग्यो ‘आशा नछोड सबैथोक विस्तारै ठिक हुँदै जानेछ। एक अर्कालाई माया गरिराख नत्र अर्को नरसंहार निम्तिनेछ।’

भगवानले भनिरहेको जस्तो लाग्यो कि ‘त्यहाँ भइरहेको रोक्नको लागि मेरा हातहरू छैनन्। तर जे हुन्छ मलाई सोध म जवाफ दिनेछु। जति नराम्रो भए पनि मेरो ढोका नढक्ढक्याउ।’

र उहाँले भनिरहेको जस्तो लाग्यो, ‘एक अर्कालाई माफ गरिदेउ।’

त्यो एकदमै पीडादायी क्षण थियो जसलाई सम्झिँदा पनि पीडा हुन्छ। म सोच्छु त्यस बेला माफी दिन कसरी सम्भव थियो। मलाई नै मार्न चाहनेहरूको लागि मैले कसरी माफी दिनसक्छु? तर भगवानले भनिरहेको जस्तो लाग्यो कि यही तिमीले गर्नुपर्छ। यही बाटो हो जसमा तिमी हिँड्नुपर्छ। बुझ्न खोज्यौ भने तिमीले बुझ्नेछौ। तिमीले बुझ्नेछौ कि माफी दिनु किन जरुरी छ। यसलाई जथाभावी तरिकाबाट गर म भनिरहेको छुइन। त्यसपछि मैले विस्तारै भगवानले मलाई धोका दिएको छैन जस्तो लाग्न थाल्यो। उसले सिकाएको मैले सबै त बुझिनँ तर मैले स्वतन्त्र इच्छालाई बुझेँ। मानिसहरू किन दु:ख पाउँछन् भन्ने बुझेँ।

मानिसहरूले दु:ख पाउँछन्। राम्रा मानिसहरूले पनि दु:ख पाउँछन्। भगवानले दु:खलाई रोक्न सक्दैनन्। मण्डलालाई हेर्नुहोस्, उनी कस्तो अवस्थाबाट गुज्रिए। मदर टेरेसलाई हेर्नुहोस्, उनले पनि खुसीमा ती सबै कुरा गरेकी हैनन्। मरिरहेका मानिसहरूको छेउमा सधैँ बसिरहन कसैलाई पनि मन हुँदैन नि। यसले दु:ख दिन्छ तर जति दुखे पनि उनी त्यसको बदलामा माया बाँड्न लागिरहिन्।

अनि त्यो पादरीको बारेमा नि? जसले तपाईंलाई बचायो। तपाईंलाई के लाग्छ किन ऊ आफ्नो तथा आफ्नो परिवारको जीवन दाउमा राखेर तपाईं सहित ८ जना छिमकीहरूलाई बचाउन लाग्यो?

म उसको कामले मानिसहरूलाई प्रेरित गरोस् भन्ने चाहन्छु, किनकि हामी अक्सर अन्याय भइरहेको देख्छौं तर त्यसको निशाना हुन डराउँछौं। तर यदि हामीले सजाय पाउने डरलाई छोडेर काम गर्‍यौं भने अन्यायलाई घटाउन भने सक्छौं।

ऊ असल मानिस थियो। साँच्चै ऊ असल थियो। तर उसलाई पनि ऊ त्यस्तो हुँदैछ भन्ने थाहा थिएन सायद। उसले सोचेको थियो होला कि हामी बाथरूमभित्र ३ वा ४ दिनका लागि हुनेछौं। उसले भनेको थियो कि यस्ता कुराहरू सामान्यतया त्यति दिनभन्दा टाढा जाँदैनन्। र ऊ पुरुषहरूलाई हैन महिलाहरूलाई मात्र लुकाउन चाहिरहेको थियो। र म उसले त्यस बेला ढोका खोलिदिएकोमा कृतज्ञ छु तर त्यसो गर्दा उसको जीवन नै खतरामा पर्न सक्ला भन्ने उसलाई थाहा थिएन। उनीहरू मान्छे खोज्दै ढोका ढोकासम्म पुग्नेछन् भन्ने उसले सोचेको थिएन। ऊ हामीलाई महिनौंसम्म लुकाउँदै थियो भन्ने पनि थाहा थिएन। एक समय उसले यो त वर्षौंसम्म जान सक्छ सोचेर हामीलाई निकाल्न पनि चाह्यो। उसले विश्वास गरेका दुईजना छोराछोरीलाई पनि सुनायो कि ऊ आफू र आफ्नो परिवारलाई अझै जोखिममा राख्न चाहँदैन। ऊ हामीलाई भगाउन चाहान्थ्यो र आशा गर्थ्यो कि हामी सुरक्षित भाग्नेछौं।

तर उसका छोराछोरीले भने ‘बुवा यदि तिनीहरूलाई केही भइहाल्यो भने तपाईं जीवनभर पछुताउनुहुनेछ। त्यसैले तपाईंले उनीहरूलाई यहीँ बस्न दिनुहोस्। यदि भगवान नै उनीहरू यहाँ बसुन् भन्ने चाहन्छन् भने हामी सहयोग गर्ने कसै न कसैलाई भेटिहाल्छौं। तर यदि उनीहरूलाई हाम्रो घर अगाडी नै मारियो भने के गर्नुहुन्छ?’ यति खतरा हुन्छ भन्ने जानेको भए उसले हामीलाई घरमा लुकाउने थिएन। तर जे भए पनि ऊ एकदमै मायालु र दयालु मानिस हो। उसले त्यस्तो अवस्थामा पनि हामीलाई माया गरेर देखायो।

यो पनि हो कि धेरै हुतुहरूले त्यसबेला मानिसहरूलाई लुकाएका थिए। म विश्वास गर्छु कि त्यहाँ राम्रो मानिसहरूको समूह पनि थियो। नराम्रो गर्नेहरूको भीडमा पनि राम्रा मानिसहरू हुन्छन्। साँच्चै भन्ने हो भने आधा जति हुतुहरू पनि थिएनन् होला मान्छे मार्दै हिँड्ने। हुतु राम्रा मानिसहरू हुन् तर उनीहरूका नेताहरू हुतुको नाममा मान्छे मार्दै हिँडिरहेका थिए। किनकि उनीहरू चाहान्थे मानिसहरू उनीहरू बहुसङ्ख्यक हुन् भन्ने पत्याउन्। त्यसैले हुतु नै भए पनि यदि तुत्सीको बारेमा राम्रो कुरा गर्दा मानिसहरू मारिए। त्यसको बाबजुत पनि धेरै हुतुहरूले तुत्सीहरूलाई लुकाए। हरेक दिन तिनीहरूले घरमा लुकाइराखेका तुत्सीहरूलाई खोजे, भेट्टाए र उनीहरूकै अगाडि मारिदिए। त्यहाँ एक हुतु थिए जसले १२ जना तुत्सीहरूलाई लुकाएका थिए। उनले हत्या गर्न आएकाहरूलाई भनेछन् ‘यदि उनीहरूलाई मार्न चाहन्छौ भने पहिला मलाई मार।’ उनीहरूले उनलाई पनि मारेछन्। यो कथामा धरै हिरोहरू धेरैजसो हुतुहरू नै छन् ।

यो अनुभवले तपाईंको देश कसरी परिवर्तन भयोजस्तो लाग्छ?

अहिले हामीलाई पीडा र दु:ख के रहेछ भन्ने थाहा भयो।

पहिला थाहा थिएन र?

मलाई लाग्दैन उनीहरूलाई थाहा थियो। रूवाण्डा एकदमै नरम र मिलनसार देश हो। हामीसँग सुन्दर संस्कृति छ। मानिसहरू एक-अर्कालाई मद्दत गर्छन्। यदि तपाईं महिला हो र बच्चा छ भने गाउँका मानिसहरू महिनौंसम्म आएर सहयोग गर्छन्। तपाईं बच्चा हत्पती छुनै पाउनुहुन्न। दुई हप्तासम्म त आराम मात्र गर्न लगाउँछन् ताकि गर्भवती बलियो हाेउन्। एक-अर्कालाई सहयोग गर्नु हाम्रो रगतमै छ। घरको सदस्यको लागि मात्र कसैले पनि पकाउँदैनन्। अकस्मात दुईजना आइपुगे पनि खान पुग्नेगरी पाक्छ। रूवान्डा घुम्न आउने मान्छे भन्छन्- यस्तो त यहाँ मात्र हुन सक्छ।

त्यसैले शक्तिका लागी लड्ने नेताहरूले त्यस्तो दर्कनाक अवस्था ल्याउलान् भन्ने कल्पनासम्म गर्न सकिएको थिएन। मेरो छिमेकी जो मप्रति एकदमै दयालु थिए उनी मलाई मार्न तयार भएका थिए। मानिसहरू भागे र जङ्गलमा महिनौं बसे। उनीहरूको घर, परिवार, संरचना सबैलाई ध्वस्त पारियो। यो सबै देखेपछि अहिले रूवाण्डाले शान्ति के हो भन्ने थाहा पाएको छ। त्यस्तो पिडादायी कालो सपना फेरि नआओस् भन्ने सबैले कामना गर्छन्, निश्चित हुन चाहन्छन्।

नरसंहार हुनुभन्दा पहिला रूवाण्डाको संसद्मा महिलाहरू थिएनन्। अहिले ५० प्रतिशतभन्दा धेरै छन्। हामीले देख्यौं कि मानवता र मन गुमाइयो भने केसम्म हुन सक्छ त्यसैले अवसर दिनुभन्दा पहिला कोही कसैले पनि कसैलाई विभेद गर्दैन। यसको मतलब एउटा असल मानिसले अफिस पनि जान सक्छ चुनावमा छानिन पनि सक्छ।

तीस वर्षमा हामीसँग पुरै देशभर २ वटामात्र विश्वविद्यालय थिए। अहिले १९ वर्षमा हामीसँग २७ विश्वविद्यालय छन्। हरेक वर्ष नयाँ खुलिरहेका छन्।

माइक्रोफाइनान्स रूवाण्डामा धेरै ठूलो छ। गरिबहरूले पनि व्यवसाय सुरु गर्न सकेका छन्। देशको हरेक क्षेत्रमा तीव्र गतिको इन्टरनेट पुगेको छ। सानो गाउँ पनि राजधानीबाट तीन घण्टामा पुग्न सकिन्छ। मानिसहरू अवस्थालाई सुधार गर्न हरसम्भव लागिरहेका छन्।

तर यो कसरी आयो त? तुत्सीहरूको नरसंहार रोक्न देशले कुन तरिका अपनायो? कसरी तुत्सीहरूले हुतुलाई मार्न छोडे?

मलाई लाग्छ, यो जर्मनीमा भएको होलोकास्टजस्तै हो। मानिसहरूले देखे उनीहरूको नेताले कि त देशलाई तल पुर्याउँछन् कि त माथि। त्यसैले जब हुतु सरकारले तुत्सीहरूलाई मार्न थाल्यो तुत्सीहरूले देश छोडे र नरसंहार रोक्नको लागि शरणार्थी आर्मी बनाए। जब त्यो आर्मी रूवाण्डाको राजधानी किगाली आयो, नरसंहार खराब हो भन्ने ठान्ने सबै हुतुहरूले उनीहरूलाई साथ दिए। अहिले नेतृत्वमा भएको पार्टीसँग बहुमत छ र जसले नरसंहार सुरु गरेका थिए ती नेताहरू देशबाट भागिसके। लाखौं त्यस्ता मानिसहरू कंगो गएका छन्। राजनैतिक नेतृत्व सत प्रतिशत परिवर्तन भएको छ।

पहिलो दुई वर्ष त दर्दनाक सरसफाईमा बित्यो। सडक, झाडी तथा घरहरूमा भएका लासहरूलाई सफा गरियो। दुर्गन्ध यस्तो थियो कि नाक नथुनी कहीँ पनि जान सक्ने अवस्था थिएन।

सबै तहका सरकारले विभेद अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। सरकारले दिएको परिचयमै हुतु र तुत्सी खुलाइएको हुन्थ्यो त्यसलाई हटाएर सबैलाई रूवान्डान्स बनाइयो। सबैले उच्च शिक्षा लिन पाउने भए। पास गर्नुपर्ने टेस्ट पास गरेपछि जाति कतै पनि नचाहिने भयो। कामको लागि आवेदन दिँदा पनि जात भन्नु पर्दैन। शान्ति र विश्वास यस्तो बढ्यो कि मानिसहरूले भेदभावलाई सोच्न पनि छोडे ।

नयाँ नेतृत्वको कारण विस्तारै रूवाण्डा नयाँ भयो। मानिसहरू पहिला जस्तै देश बनाउन चाहन्छन्। त्यही आपसी सहयोग, मेलमिलाप हुर्काउन चाहन्छन्। प्रविधिको विकास होस् भन्ने चाहन्छन्। हामीले सामुदायिक मेलमिलाप पनि सुरु गर्‍यौं जहाँ आफूलाई के भयो भन्ने सुनाउने वातावरण बनायौं। यो गजब अनुभव थियो।

नरसंहार भएको केही वर्षपछि जतिबेला पनि रूवाण्डा फोहोर नै थियो, राष्ट्रपति क्लिन्टन आएका थिए र त्यस्तो अवस्था हुँदा पनि कुनै एक्सन लिन नसकेको भनेर सार्वजनिक माफी नै मागेका थिए।

अहिले राजधानीमा जानुभयो भने यो पुरै सफा छ। सडकको छेउछाउमा त्यसबेलै रूख रोप्न थालिएको थियो। स-साना त्यस्ता कुराहरूले सहर सुन्दर बनाउँदै लगेकोमा मानिसहरू आशावादी भएका छन्। सहरको आकार तीन गुणा भइसकेको छ। म जतिबेला २००५ मा संयुक्त राष्ट्रसंघमा काम गरिरहेको थिँए, त्यस बेला रूवाण्डाको अर्थतन्त्र पुरै अफ्रिकामा इजिप्टभन्दा पछि मात्र थियो। मलाई याद छ जतिबेला यो सबैभन्दा अन्तिममा हुने गर्थ्यो। हामी साह्रै गरिब थिँयौ। र पछि त कुनै बेला किगालीको वृद्धिदर पुरै विश्वमा पहिलो नम्बरमा आएको थियो।

तर कहिलेकाहीँ साह्रै चाँडो वृद्धि हुनु पनि वृद्धि नहुनुजस्तै हो भनिन्छ नि।

तपाईं साँचो भन्दै हुनुहुन्छ। तर किगाली साह्रै ग्रामीण थियो। यो त सहर नै थिएन भन्दा पनि हुन्छ। त्यसैले चाँडो वृद्धि भए पनि त्यहाँ ठूला रूखहरू काटिएका छैनन्, अहिले पनि सामुदायिक भावना छ। सरकारमा भएका मानिसहरू सही तरिकाले सहर बढोस् भनेर ध्यान दिइरहेका छन्। मानिसहरू जमिनमा काम गरिरहेका छन्। कसरी राम्रोसँग उत्पादन गर्न सकिन्छ भन्ने सिकिरहेका छन्। देशलाई सुन्दर तरिकाले विकास गर्नमा सबैको ध्यान छ। हाम्रै हातबाट विकास हुने हो भन्ने सबैले बुझेका छन्।

तर गलत नबुझ्नुहोस्, रूवाण्डामा अहिले ननि दु:ख र पीडा बाँकी छ। धेरै बालबालिकाहरू ट्रमाटाइज भएका थिए र अहिले मानसिक समस्या भोगिरहेका छन्। धेरै अनाथहरू पनि छन्। त्यसैले रूवाण्डामा समस्या नै नभएको हैन। तर मानिसहरूसँग आफ्नो शोकलाई बदल्ने शक्ति मजबुत हुँदै गएको छ। म सबैलाई धन्यवाद दिन चाहन्छु किनकि हामीले देश बनाउने त्यसरी नै हो।

जब मैले नरसंहार भएको दुई महिनापछि युएनमा जागिर पाएँ मानिसहरूले परिवारका सबै सदस्यहरू गुमाउँदा पनि कसरी जागिरको चिन्ता गर्न सकेकी भन्थे। र कारण के थियो भने मसँग केही पनि थिएन। मेरो गोजीमा सुको पनि थिएन। मैले एउटै लुगा पाँच महिनासम्म लगाएकी थिएँ। म बेलुका धोएर रातभर सुकाउँथें र बिहान फेरि लगाउँथे। यो मेरो स्टाइलजस्तै भइसकेको थियो। तर एक महिना पछि नै मसँग सबैथोक भयो। खासमा अगाडि बढ्नुनै एक मात्र तरिका थियो। रूवाण्डावासीहरूले पनि यही गर्नु थियो।

हामीले रुन थाल्नुभन्दा पहिलानै लामो श्वास तान्नु थियो।

कस्तो आश्चर्यलाग्दो परिस्थितिबाट गुज्रिनुपर्यो है?

हो र यसले मलाई साँच्चिकै हुर्काइदियो। यसले मलाई जिन्दगीले दिन सक्ने नराम्रा र राम्रा कुरा दुवै सिकाइदियो। नरसंहार भएदेखि म धेरैतिर घुमेँ, धेरै ठाउँमा गएर मन्तव्यहरू दिएँ। र मानिसहरूलाई जहिल्यै सचेत गराएँ कि ‘खुसी हुँदै रहनु किनकि जीवन धेरै नराम्रो पनि बन्न सक्छ।’

रूवाण्डाको अनुभवले तपाईंलाई के सिकायो जो तपाईं बाँकी विश्वले पनि सिकोस् भन्ने चाहानुहुन्छ?

यही की हामी घृणाको कारण ध्वस्त भएका हौं। र त्यस्तो फेरि कहिल्यै हुन नदिने एउटा मात्र उपाय भनेको माया हो। आफ्नो छिमेकीलाई बेलाबेला मनबाटै भेटिरहनुहोस्। आफ्नो लागि मात्र बाँच्नु हुँदैन। जे काम पनि गर्नुहुन्छ त्यसलाई माया गर्नुहोस्। वा जेलाई माया गर्नुहुन्छ त्यही गर्नुहोस्। र कसैले गल्ती गरेमा माफी दिएर आफैंलाई माया गर्नुहोस्। यदि माफी दिन सक्नुहुन्न भने तपाईंले आफ्नो समुदायलाई दुखाइरहनुभएको छ र मुख्यगरी आफैंलाई दुखाइरहनुभएको छ। किनकि घृणा जहिल्यै पनि नकारात्मक रूपमा तपाईंसम्म आँउछ। यसले बेखुस, एक्लो र निरस बनाउँछ र त्यसले बिरामी। त्यस्तो नकारात्मक मान्छेसँग कसले सङ्गत गर्न चाहन्छ भन्नुहोस् त।

यदि तपाईं माफी दिन सक्नुहुन्न भने त्यस्तो कुरा तपाईंलाई किन भयो भन्ने थाहा पाउन सक्नुभएन। त्यस्तो हो भने सहयोग माग्नुहोस्। सहयोग गर्ने किताब पढ्नुहोस्। कसैसँग कुरा गर्नुहोस्। यो स्कुल गएर गणित सिकेजस्तै हो। यसले पक्कै पनि मेहनेत माग्छ तर तपाईं सिक्न सक्नुहुन्छ। रिसलाई काबुमा गर्न सक्नुभयो भने मात्र तपाईं सुखले बाँच्न सक्नुहुन्छ।

म मानिसहरूलाई खुसी र कृतज्ञ हुनसक्ने केही चिज पत्ता लगाउन पनि भन्छु। आशीर्वाद बटुल्नुहोस्। प्रशंसा गर्नुहोस्। नराम्रो देखिने चिजहरूलाई पनि राम्रो बनाउन सकिन्छ। कहिलेकाहीँ कुराहरू राम्रो हुन पाउने आशामा नराम्रो भएका पनि हुन्छन्। रूवाण्डामा भएको पनि त यही हो। हाम्रो सुन्दर संस्कृति थियो तर कहिल्यै हामीले महसुस गरेनौं। त्योसँगै अन्याय र असमानताहरू पनि भइरहेका थिए र त्यसले मानिसहरूको आशा गुम्दै थियो भन्ने पनि ख्याल गरेनौं। त्यसैले मायाभन्दा घृणा बढाएको थाहा पाएनौं। त्यसैले असहज अवस्था आएमा त्यसबिरूद्ध जुधेर त्यसलाई समाधान गर्नतिर लाग्नुपर्छ। तर दिनदिनै भइरहेका राम्रो कुराहरूमा खुसी हुन नछोड्नुहोस्।

अन्तिममा म मानिसहरूलाई सम्झाउन चाहन्छु कि जति नै नराम्रो घटना भए पनि आशा जहिल्यै पनि जिवितै हुन्छ। सास हुन्जेल आस पनि रहन्छ। भगवान र आशालाई कहिल्यै नछोड्नुहोस्।

मैले ती मानिसहरूलाई पनि भेटेँ जसले मेरो परिवारलाई मारेका थिए। मैले उनीहरूलाई पनि माफ गरिदिएँ। यदि मैले माफी गर्न सक्छु भने सबैले सक्छन्।

त्यसको बारेमा कृपया अलिकति भनिदिनुहोस् न।

म त्यो जेल गएँ जहाँ मेरो परिवारलाई मार्ने सबैलाई राखिएको थियो। नरसंहार भएको ती महिनापछिको कुरा हो यो। केही मानिसले मलाई भनेका थिए कि मैले त्यति चाँडै माफी दिइहाल्न हुँदैन। तर मैले के भनेँ भने घृणा गर्नलाई ३ महिना लामो समय हो। यसले तपाईंको जीवनको धेरै वर्षहरू खाइदिन सक्छ। र मैले के महसुस गरेँ भने मैले जतिसक्दो चाँडो घृणालाई छोड्नुपर्छ। मेरो परिवारलाई त्यस्तो गर्नेलाई मैले घृणा गरेँ त्यसको मतलब म र उनीहरूमा के नै फरक भयो र। त्यसैले मैले घुँडा टेक्नु नै थियो। मायाको लागि आत्मसमर्पर्ण गर्नु नै थियो। मैले महसुस गर्नुपर्ने नै थियो कि जसले घृणालाई रोजे उनीहरूलाई मैले माया गरेर देखाउनु थियो।

हामी सबैले नराम्रो काम गर्छौं। र हामीसँग आफूले के गलत गरेँ थाहा पाउने क्षमता छ। माफी माग्ने वा आफ्नो सन्तानहरूलाई असल काम गर्न सिकाउन सक्छौं। यदि म आमहत्यालाई घृणा गर्छु भने मैले शान्तिलाई त छान्नु नै पर्छ। यो सहज छैन तर त्योबाहेक उपाय पनि छैन। यही कुरा मलाई भगवानले सिकाउनुभएको थियो। र मैले जब प्रयास गरिहेरेँ मैले बुझेँ। माफीले मलाई स्वतन्त्र गराइदियो।

त्यसैले मैले रिसबाट शान्तिको बाटो हिँडेँ। तर मैले आफ्नो परिवार मार्ने मान्छेलाई हेरिरहँदा ठूलै परीक्षा दिनुपरेको थियो। यदि मैले माफी दिन नसकेको भए के हुन्थ्यो?

मैले जब उसलाई (मेरो परिवारको हत्यारा) भेटेँ म रोएँ। ऊ केही ख्याल नगरेको जसरी मतिर आयो। र जब मैले उसलाई माफी गरिदिएँ भनेको सुनेपछि उसले दुवै हातले आफ्नो अनुहार छोप्यो। म कामिरहेकी थिँए। आँसु झरिरहेका थिए। मैले देखेँ कि ऊ अरू मान्छेजस्तै मान्छे थियो। उसको परिवार थियो। बालबच्चा थिए। ऊ लामो समयदेखि जेलमा थियो। उसको छाला राम्रो थिएन। खुट्टा सुन्निएका थिए। ऊ खान वा सुत्न सकिरहेको थिएन। र त्यो ऊ आफैंले छानेको कामको नतिजा थियो।

मैले माफी दिनुको मतलब ऊ जेलबाट छुटोस् भनेर हैन। माफी मतलब मैले बुझेँ कि ऊ सुध्रिन सक्छ। मेरो माफीको मतलब ‘तिम्रो यात्राको लागि शुभकामना। आशा छ तिमीलाई आफ्नो गल्तीको ग्लानी भएको होला र तिमी शान्तिको लागि आउन सक्नेछौ।’  म यति मात्र चाहान्थेँ कि मेरो मनले उसको मन छोओस्। शान्तिको खोजी सँगै होस्।

जब जेलको पालेले यो सबै देख्यो ऊ म सँग धेरै रिसायो। उसले मलाई त्यहाँबाट हटायो। तर एक वर्षपछि ऊ मलाई भेट्न आयो र भन्यो, ऊ कैदीहरूलाई पिट्ने गर्थ्यो किनकि तिनीहरूले उसको ५ छोराछोरी र श्रीमतीलाई मारेका थिए। ऊ बदला लिइरहेको थियो।

तर जब मैले माफी दिइरहेको उसले देख्यो, उसलाई लागेछ कि त्यहाँ अर्को बाटो पनि थियो। तर, उसलाई कहाँबाट सुरु गर्ने भन्ने थाहा थिएन।

त्यसपछि उसले कैदीहरूलाई पिटेन। छुँदै छोएन। उनीहरूसँग कुरा गर्न थाल्यो। के भयो र अरूलाई मार्दा आफ्नो जीवन सुध्रिन्छ भन्ने उनीहरूले ठाने? सोध्न थाल्यो।

एक वर्षपछि ऊ आउँदा उ फेरि विवाह गर्ने तयारीमा थियो। उसले भन्यो कि माफी दिन सक्ने भएन भने ऊ कहिल्यै माया गर्ने बारेमा सोच्ने छैन। त्यसपछि उसले मनमा रिस कहिल्यै पालेन।

अहिले कसरी जीवन बिताइरहनुभएको छ? के गर्दै हुनुहुन्छ?

म अहिले लेखनमा समय बिताइरहेको छु। म विश्वभरका धार्मिक साइटहरूको लागि रिट्रिट तथा धार्मिक प्रवचन पनि दिन्छु। ट्रमामा परेका धेरै मानिसहरू मलाई भेट्न आउँछन्। म उनीहरूलाई माफी दिएर जीवनमा शान्ति र खुसी ल्याउन सिकाउँछु। जीवनको महत्त्व बुझेपछि जीवन चामत्कारिक नै छ। बस् माया र दयालाई सधैँ अगाडि राख्नुपर्छ।

Twitter: @skyasesh

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.