ग्लोबल नेपाली
हेटौंडाका विकास सुवेदी घानाको राजधानी आक्रामा बस्छन्। उनले त्यहाँको जापानी रेस्टुरेन्टमा काम गरेको ११ वर्ष भयो। उनी सन् २०१४ मा घाना गएका थिए।
नेपालीहरू विरलै पुग्ने अफ्रिकी मुलुक घानामा विकास कसरी पुगे होला भन्ने जिज्ञासा उत्पन्न हुनु स्वाभाविक हुन्छ। यो यात्रा हेटौंडा सिमेन्ट कारखानासँग जोडिएको छ।
हेटौंडा सिमेन्ट कारखानमा आएका जापानीहरूसँगको चिनजानका आधारमा विकासका केही छिमेकीहरू भारत गएर जापानी रेस्टुरेन्टमा काम गर्न थाले। उनी पनि दिल्लीमा रहेको जापानी रेस्टुरेन्टमा काम गर्ने भनेर सन् २००७ मा उता गए।
'जापानीहरूको संगतले हाम्रा धेरै छिमेकीहरू दिल्ली पुगेका थिए। म पनि उनीहरूकै कारणले पुगेँ। दिल्लीमा मैले धेरै सिक्न पाएँ। जापानी खाना सुसी बनाउन जानेँ,' उनले भने, 'मैले दिल्लीमा अन्तर्राष्ट्रिय चेन होटलमा क्राउन प्लाजामा काम गर्ने मौका पाएँ।'
उनलाई दिल्लीको अनुभवले घाना पुर्यायो। घानामा रहेको जापानी रेस्टुरेन्टमा काम गर्ने प्रस्ताव आयो। त्यसै अनुसार त्यहाँ पुगे। विशाल सहर दिल्लीबाट घाना पुग्दा उनलाई सुनसान जस्तो लाग्यो। बिस्तारै बानी पर्दै गयो। घाना शान्त र सुरक्षित लाग्न थाल्यो।
विकासका अनुसार आक्रामा उनी काम गर्ने 'सन्तुक जापानी रेस्टुरेन्ट' निकै सुविधा सम्पन्न छ। राष्ट्रपति, मन्त्री र अन्य उच्च अधिकारीहरू पनि आउँछन्।
'घानाका उच्च सरकारी अधिकारी, विदेशी कूटनीतिज्ञ र व्यवसायीहरू यो रेस्टुरेन्टमा आउँछन्। मैले स्पेनिस सेफ र जर्मन म्यानेजरसँग काम गर्ने मौका पाएको छु,' उनले भने।
उनको मुख्य काम जापानी परिकार सुसी बनाउने हो। थाई परिकार पनि चल्छ। उनको विशेषज्ञता भने जापानी परिकारमै छ। रेस्टुरेन्टका लगानीकर्ता लेबनानी नागरिक हुन्। रेस्टुरेन्ट सधैंजसो व्यस्त हुन्छ। क्रिसमसको समयमा निकै भिड हुन्छ।
घानामा हुने कमाइमा विकास सन्तुष्ट छन्। श्रीमती र दुई सन्तानका साथ बस्न आवास सुविधा पाएका छन्। विकासको मासिक पारिश्रमिक २५ सय अमेरिकी डलर छ। त्यस अतिरिक्त अन्य सुविधा पनि छ। वर्षमा एक पटक नेपाल आउन पाउँछन्।

एक छोराको पढाइ सुरू भएको छ। भर्खरै छोरी जन्मिएकी हुनाले पछिल्लो बिदामा नेपाल आउन पाएनन्।
उनी काम गर्ने रेस्टुरेन्टका लागि आवश्यक धेरै सामान नर्वे, फ्रान्स, कोरिया लगायतका देशबाट आउँछ। प्याज, गोलभेँडा र अन्य केही कृषि उत्पादन त्यहींको प्रयोग हुन्छ।
पढाइ, सीप र क्षमता हुनेलाई घानामा राम्रो अवसर र कमाइ पनि राम्रो हुने विकासको भनाइ छ।
'पढाइ र सीप दुवै राम्रो नहुने स्थानीय व्यक्तिहरू मासिक १०–१५ हजार नेपाली रूपैयाँ जतिमा काम गर्न बाध्य हुन्छन्,' उनले भने।
नेपालबाट घाना जान सजिलो छैन। विकासले केही साथी लैजान चाहेका थिए तर सफल भएनन्। उनी सुरूमा एक महिनाको भिसामा गएका थिए। त्यसपछि हरेक वर्ष 'वर्क परमिट' पाएका छन्। नेपालबाट श्रम स्वीकृति लिएका छन्। नेपालको सामाजिक सुरक्षा कोषमा पनि जोडिएका छन्।
घानामा साढे एक सय जति नेपाली रहेको उनको अनुमान छ। कोभिडका कारण ठूल्ठूला कम्पनीसमेत बन्द भएपछि नेपालीको संख्या घटेको हो।
दलालहरूले नेपाली र विभिन्न देशका युवालाई 'तल्लो बाटो' हुँदै अमेरिका लैजान घानालाई ट्रान्जिट बनाउने गरेका छन्। यसरी पुगेका नेपाली युवाहरू पनि त्यहाँ हुन्छन्।
विकास हाल गैरआवासीय नेपाली संघ (एनआरएनए), घानाका अध्यक्ष छन्। दलालको फन्दामा परेर घाना पुगेका नेपालीहरू सामान्यतया उनलाई भेट्न इच्छुक हुँदैनन्। कुनै समस्या पर्यो भने मात्र सम्पर्क गर्छन्।

'दलालले हामीसँग नभेट्नू भनेका हुन्छन्,' उनले भने, 'तीन वर्षअघि रूकुमका एक जना र एक महिनाअघि दाङका एक जना युवाको मृत्यु भयो। दुवै जना अमेरिका जान भनेर घाना आइपुगेका थिए। हामीले शव नेपाल पठायौं।'
घानामा शान्ति–सुरक्षाको अवस्था राम्रो भए पनि नेपाल सरकारले श्रमका लागि जान अनुमति दिँदैन।
'घानामा राति १०–११ बजे एक्लै हिँड्दा पनि डर हुँदैन। भारतमा ८ बजे हिँड्न गाह्रो हुन्थ्यो। यस्तो देशमा पनि सरकारले आउन दिएको छैन,' उनी भन्छन्, 'सुडान, कंगो लगायत देशमा आउने नेपाली शान्ति सैनिकहरू उपचारका लागि घाना आउँछन्। यस्तो देशमा जान रोक्नु उचित होइन जस्तो लाग्छ।'
अझै केही वर्ष उतै बस्ने सोच विकासको छ। त्यहाँबाट पैसा पठाउन भने गाह्रो छ। उनी बैंकबाट पठाउँछन् तर प्रक्रिया निकै झन्झटिलो छ। धेरैजसोले हुण्डीबाट पठाउने उनले बताए।
विकासका आमा र भाइका परिवारजन हेटौंडामा छन्। भाइ कन्स्ट्रक्सन कम्पनी चलाउँछन्।
'यता मेरो कमाइ राम्रै छ। काम छोडेर अहिले नै किन हिँड्नु जस्तो लाग्छ,' विकासले भने, 'नेपालमा भाइले पनि राम्रै गरेको छ। मैले पनि बेलामौकामा सहयोग गर्दै आएको छु। हामी सबै खुसी र सन्तुष्ट छौं।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com