ग्लोबल नेपाली
बिहानको साढे पाँच बजे पनि झिसमिसे उज्यालो भएको थिएन। प्रशान्त महासागर किनारका केही टापू मिलेर बनेको देश समोआको राजधानी अपियाको माछा बजारमा भिड बाक्लो छ।
'टुना' जातको माछाको आँखा हेर्दै मनोज शर्माले भने, 'यो माछा ताजा छ। यही लैजाऔं।'
हामी त माछा किन्ने बेलामा माछाका टाउकाको खपेटा फर्काएर कान 'गिल्स' हेर्थ्यौं। रातो छ भने ताजा, नीलो भइसकेको छ भने बासी।
मनोज आँखाको डाक्टर न परे! उनलाई भेद थाहा छ, भर्खरै मरेका माछाका आँखा र धेरै दिन पहिले मरेका माछाका आँखाबीचको फरक। त्यसैले आँखा हेरेरै हामीलाई साता दिनलाई धान्ने माछा छाने।
आँखा पर्गेल्न सक्ने भएरै मनोज समोआ आइपुगे। तर आँखा माछाका होइन, मान्छेका।
नेपालबाट अकासे सिधा दुरीमा पनि १२ हजार किलोमिटर पर समोआलाई मनोजको परिवारले आफ्नो ठेगाना बनाएको एक वर्ष हुन लाग्यो। जहाजको सिधा उडान नभएकाले सिंगापुर, फिजी हुँदै अपिया आइपुग्दा तीन दिन लाग्यो, मनोज परिवारलाई।
हामी पहिलोपटक भेट्दा उनले भने, 'यो त देश नै फूलबारी जस्तो छ। जताततै सुन्दर फूलैफूलको बगैंचा। मेरी श्रीमती सुधा, छोरा युयुत्सु र म तीन जना मात्र नेपाली थियौं यो मुलुकमा, अब तपाईंको जोडी थपियो। हामी पाँच जना नेपाली भयौं।'
मनोज शर्मालाई केले यति पर, सितिमिति कोही नेपाली नआइपुग्ने र धेरै नेपालीले नामै नसुनेको समोआ भन्ने देशमा ल्यायो त?
'त्यो त १२ वर्ष अगाडि पुग्नुपर्छ,' बाल साहित्यकार सुधा रिसालले भनिन्, '११ वर्ष हामी टिमोर लेस्टे बस्यौं।'
'टिमोर लेस्टे चाहिँ केले पुर्यायो त नि! त्यो पनि कहाँ पो नेपालीको धेरै आईजाई वा बसाइ हुने देश हो र,' मैले सोधेँ।

तालु खुइलिइसके पनि बाँकी कञ्चट र टाउकाको पछाडि रहेका सेता कपाल चट्ट मिलाएर आएका मनोजले आफ्नी श्रीमतीतिर हेरेर देब्रे आँखा सन्काए।
मैले बुझेँ, मनोजले सुधालाई मुखले नबोली आँखैबाट भनिदिए, 'तिमीलाई सोधेरै यता आएको हो, उत्तर तिमी नै देऊ।'
समोआका धेरै महिला–पुरूषले जस्तै रंगीचंगी फूलले भरिएका 'लाभा लाभा' भनिने पातला रूमाल कम्मरमा बेरेकी, कपाल सेतै फूलेकी, २० वटा बाल साहित्यका किताब नेपालीमा लेखेकी सुधाको 'स्टोरी–टेलिङ' पनि राम्रो छ। त्यसको अनुभव मैले यस अगाडिको भेटमा गरेको थिएँ।
१२ वर्षअगाडि यी जोडी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा काम गर्दै थियो। डाक्टर मनोज बिरामीका आँखा हेर्थे र चिकित्सा शास्त्रका विद्यार्थीलाई आँखा पढाउँथे।
टिमोर गएर काम गरिदिन डा. मनोजलाई प्रस्ताव गर्ने उनैका गुरू वरिष्ठ नेत्र चिकित्सक डा. गोपाल पोखरेलले उनलाई भनेछन्, 'यस्तो राम्रो ठाउँ छ। परिस्थिति मिलेको भए म दस वर्ष बस्थेँ। तपाईंहरू जानुस्। टिमोरमा एक जना मात्र विशेषज्ञ डाक्टर छन्, त्यहाँ तपाईंको धेरै खाँचो छ। मन परेन भने एकै महिनामा फर्किनुस्।'
चन्द्रगढी आफ्नै निवासमा मनोज दम्पतीलाई बोलाएर, सुधालाई मनाएपछि बल्ल मनोजको परिवार टिमोर लेस्टे आइपुगेको रहेछ।
टिमोर लेस्टे — आजभन्दा करिब २३ वर्ष अगाडि, २०५९ साल जेठमा इन्डोनेसियाबाट स्वतन्त्र भएको देश। देशमा जम्मा एक जना मात्र आँखा विशेषज्ञ चिकित्सक थिए।
बाह्र लाख हाराहारीको जनसंख्या भएको देशको स्वास्थ्य क्षेत्र क्युबाले पठाएका केही डाक्टर र स्थानीय २५–३० जना चिकित्सकले एक दशक जसोतसो धानेका थिए। यस्तै बेला पूर्वी टिमोरको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पुगेका थियो 'रोयल अस्ट्रेलियन कलेज अफ सर्जन्स, मेलवर्न।'
त्यही संस्थाको सहयोगमा आँखा विशेषज्ञ डाक्टर भएर मनोज टिमोर लेस्टे पुगे।
'सुरूमा एक वर्षका लागि टिमोर पुगेका डाक्टरलाई ११ वर्षसम्म केले अड्यायो?'
फरासिला स्वभावका मनोजले भने, 'पैसा र सुविधा राम्रो थियो नि त्यहाँको!'
मनोजले छोटो उत्तर दिए तर पैसाले मात्र भए त उनले जागिर मात्र खान्थे। बिरामीको आँखा परीक्षण गर्थे। आवश्यकता भए चिरफार गर्थे। तर उनले दिएको त्यो उत्तर र उनले टिमोरमा गरेको सेवाबीच तालमेल थिएन।

उनले त नेपालको तिलगंगा आँखा अस्पतालबाट पटक पटक गरी १६ वटा आँखा लगेर दृष्टिबिहीन टिमोरबासीमा प्रत्यारोपण गरिदिएका छन्। १६ जना टिमोरीले नेपाली आँखाबाट पूर्वी टिमोर र यो संसार हेरिरहेका छन्।
उनले १५ भन्दा धेरै चिकित्सकलाई टिमोरबाट नेपाल पढ्न पठाएका छन्। धेरै नर्सलाई आँखाका विशेषज्ञ नर्स पनि बनाएका छन्। टिमोरको राजधानी डिलीमा मात्र उपलब्ध हुने आँखाको चिकित्सा सेवा देशकै अन्य सुदूर क्षेत्रका अन्य चार मुख्य अस्पतालमा पनि उपलब्ध हुने व्यवस्था गरेर फर्केका छन्।
त्यो देशमा आगामी ३० वर्षको आँखा कार्यक्रम सरकारबाट पारित गराएका छन्। यी सबै काम जागिर खान र पैसा मात्र कमाउन जानेले गर्दैन।
नेपालबाट आँखा लाँदा झन्डै झन्डै इन्डोनेसियामा एक पटक जेल परेका छन्।
इन्डोनेसियाको बालीमा अध्यागमनका कर्मचारीले एक पटक त कि जेल बस् कि आँखा यहीँ छोड् भनेछन्। दुइटा आँखा खेर गएछ।
एक दशकभन्दा लामो टिमोर बसाइमा सबभन्दा दुःख कतिखेर भयो भनेर मनोजलाई मैले सोधेको थिएँ।
उनले भने, 'टिमोरमा ती आँखा ल्याएर नानी फेर्ने अपरेसन गर्ने भनेर दुई जना ठीक परेर बसेका थिए। उनीहरूलाई रित्तै फर्काउनुपर्यो। ती नानी खेर नगएर फेर्न पाएका भए अरू दुई जना टिमोरीले संसार देख्थे।'
कोभिड कालमा टिमोरबाट नेपाल पढ्न पठाएका डाक्टरलाई कोरोनाले थलाएछ। उता डिलीमा ती टिमोरी डाक्टरकी श्रीमतीले मनोज र उनको परिवारलाई अत्याइरहे। तर उनले टिमोरीलाई नेपाल पढ्न पठाउन छाडेनन्। अझ बाहिर तिनको बास र गासको व्यवस्था गाह्रो हुँदा काठमाडौंमा रहेको आफ्नै घरमा जोरजाम गरिदिए।
'हामी त अह्राएको काम गर्छौं, दिएको मानो खान्छौं। अझै मिलेसम्म कामै ठग्ने बानी हुन्छ। यस्तो गर्ने प्रेरणा कहाँबाट मिल्छ डाक्टर साहेब?' समुद्र किनारको हावासँग मनोजले बनाएको मीठो नेपाली चियाको स्वाद लिँदै मैले आफ्नो मन खोलेँ।


'अरूबाटै सिक्ने हो। अस्ट्रेलियाका आँखाका डाक्टरहरूले आफ्नै खल्तीको पैसा हालेर गरेको सामाजिक काम हो 'इस्ट टिमोर आई प्रोग्राम'। टिमोरीको आँखा उपचार मात्र होइन, टिमोरी डाक्टर, नर्स उत्पादनका लागि उनीहरूले बर्सेनि करोडौं रूपैयाँ दान दिन्छन,' होचो कदका मनोजले मलाई सोधे, 'डा. रामप्रसाद पोख्रेल, डा. गोपाल पोख्रेलको नाम सुन्नुभएको छ कि छैन? नेपालमा आँखा उपचारका उदाहरणीय व्यक्तित्व हुनुहुन्छ उहाँहरू! उहाँहरूले धेरै त्याग गर्नुभएको छ। अहिले पनि निःशुल्क काम गर्दै हुनुहुन्छ। त्यसले पनि पो नेपाल पनि आँखा उपचारमा अब्बल भएको छ।'
आँखा उपचारमा गएका मनोजलाई टिमोरमा आँखा उपचारमा आवश्यक जनशक्ति उत्पादन गरे पो दिगो हुन्छ भन्ने लाग्यो। उनले त्यसमा पहल गरे।
'सरकारी हन्डर त्यता पनि उस्तै रहेछ, शिक्षा मन्त्रालय, स्वास्थ मन्त्रालय र विश्वविद्यालयले एक आपसमा समन्वय नगरिदिने। म आँखाको बिरामी हेर्नु कि सरकारी कार्यालयमा दौडधुप गर्नु? दुःख सहेरै भए पनि तीन वर्षको प्रयासपछि अनुमति पाइयो। अहिले १५ जना आँखा विशेषज्ञ डाक्टर छन्। तिनलाई सहयोग गर्ने नर्स र चश्मा बनाउने जनशक्ति तयार छ। जे होस् करिब १३–१४ लाख जनसंख्याले आँखाको उपचार पाइरहेका छन्,' डाक्टर मनोजले आफ्नो काममा सन्तोष माने।
पाँच सय वर्ष पोर्चुगलको उपनिवेशमा बसेको देश भएर होला टिमोर बासी, तुरून्तै आफै निर्णय लिनै नसक्ने र काम गर्न अलि गाह्रो मान्ने मनोजको अनुभव छ।
उनले भने, 'तर आम मानिस इमानदार, मिलनसार, आफूलाई कसैले केही गरिदिए आफू अत्यन्त ऋणी भएको महसुस गर्छन्।'
दस वर्ष टिमोरबासीको सेवा गरिसकेपछि मनोजको काम टिमोरी सरकारको आँखामा पनि पर्यो। उनलाई दुई वर्ष पहिले टिमोर लेस्टेको राष्ट्रिय दिवसका दिन त्यहाँको सरकारले प्रदान गर्ने सर्वोच्च सम्मान 'Ordem de Timor Letse Grau Colar' बाट विभूषित गरियो।
२०३७ सालको एसएलसी बोर्डको उत्कृष्ट दसभित्र परेका मनोजले विद्यार्थी कालमा तत्कालीन माले पार्टी निकट अनेरास्ववियुमा काम गरेका थिए।
भीम रावल, टंक कार्की जस्ता नेतासँग सहकार्य गरेका मनोजले भने, 'त्यो बेला राजनीतिमा लागेर मैले आइएससीमा धेरै राम्रो गर्न सकिनँ। तर मेरो नेपाली भाषा राम्रो छ, बुबा बलराम 'श्रमजीवी' भाषाविद भएका कारण। नेपालमा छापिने रूसी पत्रिकामा लेखेको निबन्ध प्रथम भएपछि मैले रूसमा छात्रवृत्तिमा डाक्टरी पढ्न पाएँ। त्यसैले चिकित्सक बनायो।'

नेपालमा त्रिपुरेश्वर आँखा अस्पताल, भैरहवा आँखा अस्पताल र धरान बिपी अस्पतालमा काम गरेका मनोज ११ वर्ष टिमोर लेट्सेमा बिताएर डेढ वर्ष अगाडि नेपाल फर्केका थिए। तर फेरि उनलाई प्रशान्त महासागर किनारले छाडेन।
'नेपालमा आँखाका राम्रा चिकित्सक र उपचार छ। तिम्रो खाँचो त्यहाँ भन्दा समोआमा छ,' मनोजलाई टिमोर लेस्टेमा जागिर दिएको अस्ट्रेलियाली संस्थाको नेतृत्व गर्ने डा. नितिन बर्माले भनेपछि उनी फेरि अलमलमा परे।
अनि सुधाले थपिन्, 'पहिलो पटक घरदेश छाड्न पो गाह्रो हो। एक पटक छाडिसकेपछि नयाँ ठाउँको चुनौती स्वीकार गर्न बानी पर्छ होला। त्यसमाथि फिरन्ते जाति हो मान्छे !'
अनि मनोज र सुधाको जोडी समोआ आइपुग्यो।
समोआमा दुई लाख हाराहारी मानिस छन्। पाँच लाख जति देश छाडेर न्युजिल्यान्ड, अस्ट्रेलिया, अमेरिका पुगेका छन्। कति उतै बस्छन्, कतिले पठाएका खर्चले यहाँ बस्नेको जोहो चल्छ।
'आँखामा लाग्ने समस्या संसारभर उस्तै उस्तै हो। तर यहाँ जनसंख्याको लगभग २५ प्रतिशतमा मधुमेहको संक्रमण छ। त्यसले आँखामा थप जटिलता थप्छ,' डा. मनोजले भने।
मनोज अहिले ६२ प्रतिशत मान्छे मोटा भएका देश समोआको सबभन्दा ठूलो अस्पतालमा काम गर्छन्। समोआ र अरू प्रशान्त महासागर किनारका देशबाट चिकित्सा विज्ञान पढ्न आउने विद्यार्थीलाई आँखा उपचार पढाउँछन्।
बस्दै जाँदा डाक्टर मनोजलाई मैले नेपाली चलन अनुसार 'दाइ' भन्न थालेँ।
अघिल्लो साताको भेटमा प्रस्ताव राखेँ, 'दाइ! हामी समोआमा भएका नेपालीहरू कुनै सप्ताहन्त अर्को टापू घुम्न जाऔं न!'
डाक्टर मनोजले जबाफ फर्काए, 'हुँदैन, यहाँ अरू आँखाका डाक्टर छैनन्। सप्ताहन्तमा पनि आँखाको केही जटिल समस्या आयो भने म त अस्पताल दगुरी हाल्नुपर्छ।'
(दीपक भट्टराईका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्स- @dipakbhattarai