निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म प्रसादमा निश्चल बस्नेत अनुबन्धित भएका छन् । दिनेश राउतको निर्देशन रहने यस फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ यसअघि अनुबन्धित भइसकेका छन्।
निर्माण पक्षका अनुसार चुनौतीपूर्ण र पृथक भुमिकाका लागि निश्चललाई लिइएको हो ।
‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो’ निर्देशक राउतले भने, ‘उहाँलाई प्रस्ताव गरेपछि खेल्न राजी हुनुभएको हो ।’
मंगलबार निश्चलसँग अनुबन्ध सम्झौता भएको हो ।
निश्चलले आफु हत्तपत्त अभिनय नगर्ने र प्रस्ताव आएपछि स्क्रिप्ट हेरेर चित्त नबुझी खेल्नका लागि मात्रै खेल्ने स्वभावको नभएको जिकिर गर्दै आफुलाई निर्देशक राउतले फिल्मको बारेमा र चरित्रका बारेमा भन्ने बित्तिकै आफुलाई चित्त बुझेको बताए ।
निश्चलले भने, ‘जुन मैले अहिलेसम्म नगरेकै च्यालेन्जिंग रोल यसमा छ । सँगसँगै फिल्मको स्टोरी नै एकदमै राम्रो छ । स्टोरी पनि राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुने बित्तिकै मलाई खेल्न रुची जागेको हो ।’
असार १ देखि छायांकनमा जाने तयारीमा रहेको प्रसादलाई सुशील पौडेलले लेखेका हुन् ।
त्यस्तै निश्चलले विपिन र नम्रता जस्ता बलियो कलाकारसँगै काम गर्नु आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताए ।
सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको प्रसादलाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ ।