ग्लोबल नेपाली
तनहुँका बलबहादुर मगरले कतारमा काम गरेको १७ वर्ष भयो। उनी इलेक्ट्रिसियनका रूपमा रोजगारीका लागि सन् २००८ मा कतार गएका थिए।
जानुअघि उनले चार वर्ष तालिम लिए। कतारमा काम पनि तालिममा सिकेको सीप अनुसारकै पाए। बल 'अरेबियन एमइपी कन्ट्र्याक्टिङ कम्पनी' मा गएका थिए। सुरूमा मासिक तलब एक हजार ४५० कतारी रियाल थियो। त्यो रकम तत्कालीन विनिमय दर अनुसार ३० हजार नेपाली रूपैयाँ हाराहारी हुन्थ्यो।
'कहिलेकाहीँ ओभरटाइम (अतिरिक्त समय) काम मिल्थ्यो। त्यस्तो कामले कमाइ बढ्थ्यो। ओभरटाइम काम गरेको पैसाले कतारमा उनको खर्च चल्थ्यो, मासिक तलब बचत हुन्थ्यो,' बलले भने।
कतारमा इलेक्ट्रिसियन भएर काम गर्दागर्दै उनले बिएमओ (बिल्डिङ म्यानेजमेन्ट अपरेटर) तालिम पनि लिए। बिएमओले कामको प्रणाली सञ्चालन र निगरानी गर्नुपर्छ।
उनका अनुसार खास गरी हिट भेन्टिलेसन, एयर कन्डिसनर, विद्युत व्यवस्थापन लगायत मल्टी–टेक्निसियन (बहुप्राविधिक) का रूपमा काम गर्नुपर्छ। भवनमा तापक्रम र हावाको बहाब मिलाउने काम बिएमओकै हुन्छ।
उनी बिएमओका रूपमा काम गर्न दक्ष हुँदै गए। कम्पनीले तलब बढाइदियो। त्यही कम्पनीमा काम गर्दागर्दै मासिक तलब साढे चार हजार कतारी रियाल पुग्यो।
अझ बढी तलब दिने गरी अर्को कम्पनीले बोलायो। मासिक पाँच हजार ५५० कतारी रियाल तलब पाउनले गरी 'इएनजिआइई कोफेली मन्नाई' नामको कम्पनीमा गए। कतारमा उनले काम गरेको यो दोस्रो कम्पनी थियो जहाँ लगभग पाँच वर्ष बिताए।

अहिले तेस्रो कम्पनीमा छन् जहाँ उनको मासिक तलब नौ हजार कतारी रियाल छ। हालको विनिमय दर अनुसार तीन लाख ३५ हजार रूपैयाँभन्दा बढी हुन्छ। बल आफ्नो काम र कमाइमा सन्तुष्ट छन्।
भन्छन्, 'अहिले म तेस्रो कम्पनीमा छु। कतारमा मासिक चौध सय (कतारी रियाल) बाट सुरू गरेको थिएँ, अहिले महिनाको नौ हजार कमाउँछु।'
अहिलेको कम्पनी 'एसपिआइई ग्लोबल सर्भिस इनर्जी' हो। यो कम्पनी दोहामा छ। यो कम्पनीमा आएको ६ महिना भयो। उनी कम्पनीको ग्यास प्लान्टमा बिल्डिङ म्यानेजमेन्ट टेक्निसियनका रूपमा काम गर्छन्।
'यहाँ सिसिटिभी, एयर कन्डिसनर, ट्रान्सफर्मर कसरी चलिरहेको छ भनेर नियमित रूपमा हेर्ने र कुनै समस्या भए समाधान गर्ने काम मेरो हो,' उनले भने।
खाडी मुलुकमा परिश्रम धेरै गर्नुपर्छ तर कमाइ थोरै हुन्छ भन्ने औसत धारणाभन्दा फरक छ बलको अवस्था। उनको दक्षता बढ्दै जाँदा कमाइ पनि राम्रो हुँदै गएको छ। सीप भएका कारण ठिकठिकै श्रम गरेर पनि राम्रै आम्दानी गर्न सकेको उनको भनाइ छ।
'सातामा दुई दिन बिदा हुन्छ। दिनमा आठ घण्टा काम गर्नुपर्छ। काम र कमाइ ठिकै छ। खाना खर्च पनि आफ्नै हुन्छ,' ३८ वर्षीय बलले भने, 'कतारमा यतिका वर्ष खटेर पनि धेरै जोड्न सकेको छैन। दमौली बजारमा एउटा घर बनाएको छु। परिवार बजारमा सरेको छ। छोरो पढ्दै छ। अलिकति पैसा बैंकमा छ।'
उनको पुर्ख्यौली घर ऋषिङ्ग गाउँपालिकामा छ।
आफूसँग प्राविधिक सीप भएपछि र स्थानीय भाषा जानेपछि परदेशमा पनि काम गर्न सजिलो हुने उनको अनुभव छ।
'मैले धेरै पढेको त होइन, ११ कक्षा पढेको हुँ। तर तालिम लिएर आएको हुनाले धेरै दुःख पाउनु परेन,' उनले भने, 'अरबी भाषा नजाने पनि अंग्रेजी र हिन्दी बोल्न र बुझ्न सक्थेँ। त्यसले गर्दा सजिलो भयो।'
कामका लागि विदेश जाँदा कुनै न कुनै सीप सिकेर जान उनको सुझाब छ। त्यही सीपका आधारमा थप सिक्न पनि पाइन्छ।

बललाई नेपालको शिक्षा प्रणाली सीप सिकाउनमा कमजोर छ भन्ने लागेको छ। विद्यालय तहमै कुनै न कुनै सीप सिकाउने व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।
उनलाई बाल्यकालमै प्राविधिक क्षेत्रमा रूचि थियो। नेपालमै पनि बिल्डिङ म्यानेजमेन्ट अपरेटर तालिम लिन खोजेका थिए तर पाएनन्।
'यो तालिमका लागि स्नातक तह पास हुनुपर्छ। प्लस–टूले हुँदैन भनियो,' उनले भने, 'कतारमा त मिल्दो रहेछ! प्लस–टू पढेरै पनि हुन्छ भन्ने थाहा पाएपछि कतारमै तालिम लिएँ।'
नेपालमा विद्यालय तहदेखि नै प्राविधिक पढाउनुपर्ने उनको धारणा छ। प्राविधिक शिक्षा जीवनोपयोगी हुने भएकाले काम खोज्दै विदेश जाने युवालाई ठूलो मद्दत पुग्छ भन्ने उनको विश्वास छ।
बल अझै केही वर्ष कतारमै काम गर्ने विचारमा छन्। स्वदेश फर्किएर प्राविधिक क्षेत्रमै काम गर्न र कतारमा हासिल गरेको सीप युवाहरूलाई सिकाउन चाहन्छन्।
भन्छन्,' आफ्नो सीप, ज्ञान र अनुभव आफ्नै देशमा युवाहरूका लागि बाँड्न मन छ। देशमा एउटा आइटी (सूचना–प्रविधि) कम्पनी पनि चलाउने विचार छ।'

(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com