जुन दिन म कोरियामा बेचिएँ

जुन दिन म कोरियामा बेचिएँ


लाखौं कमाउने एउटा त्यस्तो उत्साह बोकेर, भबिस्यको बिलासी जिवनको कल्पना गर्दै, इष्टमित्र नातागोता, आफ्नै अनि स-परिवारको ठूलो अपेक्षा मिश्रित ठूलो गह्रौं भारि बोकेर इन्छन एयरपोर्टमा पाइला टेक्दैछु मात्रै मजदुरको रूपमा।

हुनत, जिन्दगीको गती कहाँ गएर ब्रेक लगाउनु पर्ने हो थाहा छैन तर पनि आज अत्यन्तै खुसी छु किनकि मेरो सपनाको देशमा पाईला टेक्दैछु।

यो देश त्यति सजिलो छैन जति तिमी सोच्दै छौ भन्ने पनि नसुनेको होइन। तै पनी एउटा बलियो आत्मबल बोकेर मुठ्ठीले ढुङ्गा फोड्ने गतिलो अठोट बोकि वर्तमान बेचेर भविस्य किन्ने दृढ़ संकल्पका साथ झर्दैछु कोरिया।

भौतिक सुखभोग के हो त भन्ने आभास कोरिया झर्ने बित्तिकै भइहाल्यो। प्लेनबाट झर्नेबित्तिकै रेल चढेर इमिग्रेशनको लाईनसम्म पुग्नुपर्ने जबकी मेरो देशमा मैले रेल नै देख्न पाईनँ।

इमिग्रेशन पार गरिसकेपछि इपिएस नेपाल लेखेको ब्यानरसहित उपस्थित नेपाली प्रतिनिधिले लाईनमा बस्न आग्रह गर्नुभयो। हामी लाईन लगाउन अत्यन्तै सिपालु भइसकेका थियौं। किनकी ऊ बेला भाषा परीक्षामा लगाएको लाईनभन्दा अत्यन्तै शभ्य भद्र पारामा अनुशासनको भरपुर पालना गर्ने सिपाही जस्तै भइसकेका थियौं। लाईनमा नेपाली प्रतिनिधिले करिब तीन पटकसम्म दोहोर्याई दोहोर्याई गनेपछि निस्कने संकेत भयो।

अन्तिम गन्तव्यको पर्खाई अझै लामो हुने पक्का छ। रातिको १२ बज्दैछ ब्याग एकै ठाउँमा राखेर के हान्यो पत्तो भएन तर स्प्रे चाहिँ हो तर के को त्यो पनि पत्तो भएन। त्यसपछी एउटा सुविधा सम्पन्न बस चढाएर करिब ५/७ तले भवनसम्म आईपुग्दा १ बजिसकेको थियो।

निद्राले आकुलव्याकुल भए पनि त्यो बिचमा पर्ने भौतिक बस्तु जो मानव निर्मित थिए तिनैले निदाउन पटक्कै दिएनन्। बिहान ६ बजे लाईनमा उपस्थित  हुने त्यसपछि खाना खाने र क्लास लिने भनेर नेपाली प्रतिनिधिले जानकारी दिँदै आ-आफ्नो सिट प्लानिङ अनुसार सुत्न जान भन्दै बिदा हुनुभयो। हामी रुम खोज्न लागियो सिट प्लान हेरियो र लिफ्ट चडेर चौथो तलाको ४०७ नम्बर कोठामा पुगियो।

बिहान फ्रेस हुने क्रममा शौचालयमा पानीको भाडा देखिएन अचम्म लाग्यो अब के गर्ने? धन्न नोटिस राखिदिएको रहेछ दिशा टिस्यु पेपरले पुछेर टोकरीमा हाल्नु भनेर नेपालीमा नत्र के गर्नु गर्नु… फ्रेस भएर लाईनमा लागियो र सुरू गरियो छातिमा हात राखेर राष्ट्रिय गान गाउन सयौं थुङ्गा फुलका हामी…

त्यसपछि खाना खाने लाईन एउटा थाल दुइटा चपिष्टिक र एउटा चम्चा समाइयो र खाना क्रमशः निकाल्दै थाल भरियो। खाली टेबलमा राखेर बस्दै गर्दा नाकले त्यो कोरियन खानाको पहिलो टेस्ट लिएछ यो खाना तेरो मुखबाट जाला जस्तो छैन मनले पनि भन्दै छ तै पनि अबको ५ वर्ष यही र यस्तै खानामा यो जिब्रोलाई डुबाउनु छ। आँखा चिम्लेर खानुको बिकल्प देखिएन तर के जान्थ्यो र हाम्रो भुटेको तारेको टन्नै मसला हालेर खाईरहेको यो स्वादे जिब्रोले यो उमालेको घासपात झारहरू कसरी खान्थ्यो होला र…बल्लबल्ल अलिअलि खाएर बाँकी फालियो।

२ रात ३ दिनको रमाईलो तर कष्टकर बसाई ट्रेनिङ सेन्टरमा सकेर आज तेस्रो दिन अर्थात कम्पनी प्रवेश गर्ने दिन। खबर छ आज ९ देखि १०/११बजेसम्म तिमीहरुलाई लिन कम्पनिको साहुहरू आउँछन्।

व्यग्र प्रतिक्षाको लामो घडीले आज विश्राम लिने दिन भनेर सम्झिरहेको छु। भाषा परीक्षाको तयारीदेखि दिनरात देख्न थालिएको सपना आज पूरा हुँदैछ। बिहानको नुहाई धुवाई पछि उहीँ ट्रेनिङ लिएको ठूलो हलमा जम्मा हुने भनिएको छ। सबै जम्मा भैसकेका छन् करिब ५०० जनाको व्यग्र प्रतिक्षा छ।

कोरियाली नागरिक करिब ६०/७० वर्ष  भनेर आफ्नो परिचयमा उल्लेख गर्दै थियो तर देख्दा तन्नेरी जस्तै जस्तै लाग्नेले अगाडि पढाईरहेका थिए। उसको कुरा भन्दा आफ्नो ध्यान साहु र कम्पनी तिर बढी छ। के काम होला? साहु कस्तो होला? नेपालीहरू छ कि छैन होला? काम गाह्रो छ कि सजिलो छ होला ? यावत कुराहरु मनमा खेलिरहेछ छ। मन देखि त जे जस्तो परे पनि काम गरिन्छ र पैसा चाहिँ कमाईन्छ भन्ने गहिरो अठोट आफैंमा छ।

कोरिएन सरले कोरिया विकासको बारेमा पढाउँदै छन्। यसमा ध्यानाकर्षण  गराएकोले सुन्ने चेस्टा गर्दैछु। जर्मनमा रहेका कोरिएन नागरिक जो वैदेशिक रोजगारिको  शिलशिलामा थिए उनैको अवस्थाबारे बुझ्न पुगेका कोरियाली राष्ट्रपति उनीहरूको मेहनत देखेर सबैको अगाडि डाको छोडेर रोईदिएको दृश्यले जर्मन सरकारको ध्यानाकर्षण गराएको र जर्मनिले आफ्नो देशमा टेक्नोलोजी भित्र्याउन सहयोग गरेको कुरा गरिरहेका छन्।

यहाँको विकासमा से माउल उन्दोङ्ग (नयाँ  गाउँ अभ्यास ) अवधारणाको ठूलो योगदानको व्याख्या गर्दै छन्। प्रत्येक बिहान १८ वर्षभन्दा माथिका नागरिक ३० मिनेट सडकमा झाडु लिएर निस्केका कुरा गर्दैछन्। हामी कोरियन मात्रै ४ घण्टा सुतेर २० घण्टा काम गरेर आज यो स्थितिमा देश बनाएका हौ। अहिले यहाँ रात नै पर्दैन भन्दै छन्।

हलमा करिब ५ सय जनाको उपस्थिति छ अगाडिको पंक्तिमा करिब ३ सय जना नेपाली र पछिल्लो पंक्तिमा करिब २ सय जना म्यानमारी छन्। हामी रातो टोपी र निलो ज्याकेटमा छौ भने उनीहरु निलो कमिज र निलो पाईन्टमा छन्।

बिस्तारै साहुहरू आफ्ना कामदार लैजान प्रवेश गर्ने क्रम छ। आफ्नो साहु पनि आएको छ कि? त्यो साहु मेरो पो हो कि? यस्तै कुराले मुटु अत्यन्तै जोडतोडका साथ ढुकढुक गरिरहेको छ। तर अर्को तर्फ माहोल यस्तो लागिरहेको छ कि यहीँ ठूलो दसैं लागिरहेको छ तर हाम्रा लागि नभई यो कोरिएन साहुहरुको लागि। हामी त मात्रै बलि चढाउन राखिएका पर्सिएका बोका जस्तै।

अगाडिबाट नाम बोलाउने क्रम शुरु भैसकेको छ। साहुलाई कसरी फेस गर्ने भनेर पहिलै सिकाइए अनुसार नाम आएका जतिले त्यसै गरिरहेका छन्। साहुलाई १५ प्रतिशतमा झुकेर आन्यङहासेयो गर्‍यो अनि साहुको पछि पछि लाग्यो।

माहोल बिल्कुल फरक लागेकै छैन उस्तै जस्तो टुँडिखेलमा दशैको बेलामा खसि बोका च्याङ्ग्रा बेचिन्छ। बस यहाँ यती फरक छ यहाँ जवानी बेचिएको छ।आभास यस्तै पलाईरहेको छ मनैदेखि।

हो म कोरियामा बेचिएको छु। सरकारले बैदेशिक रोजगारिको नाममा देशका ऊर्जावान युवाको लोभलाग्दो भविश्य देखाएर ऊर्जाशिल भविस्य विभिन्न देशमा लिलामी गरिरहेको छ…हामी पनि बाध्य छौ अभावमा अल्झेर होइन असन्तुष्टिले चिहाएर।

यहाँ सरकारले वैधानिक तबरले लाखौं युवाहरुको जवानी/जीवन बेच्दै आईरहेको छ शाखा खोलेर भने हामी बलिको बोको बनिरहेका छौ। र बलिको बोको बन्न ऊर्जा थप्ने काम नै सरकार ले गरिदिएको छ। हामी दिनहुँ भारतका कोठिमा बेचिएका चेलीबेटीका कुरा व्यापक सुनिरहेका छौँ तर बैदेशिक रोजगारिका नाममा भिन्ना खाडी मुलुकदेखि अन्य मुलुकहरूमा बेचिएको युवाशक्तिको जवानीको पीडादायी कुरा कस्ले सुन्ने? र गर्ने को? मनमा खेलिरहेको छ।

तै पनि धेरै साथीहरू सँगै आएको रमाईलो गरेको ती क्षण हरूपछि बिदाईको क्षण अत्यन्तै पीडादायी बनिदिदो रहेछ। जब मसँगै आएको र सँगै आडमा बसेको साथीको नाम आयो  र ऊ जानुपर्ने बेला भयो ऊ बिदाईको बेला भन्दै छ- भेट त भैएलानी है!  छुट्टिदा जब आँखाहरुले मात्रै डिल भत्काएर बाहिर छतछुल्ल नभएका मात्रै हुन तर छ्चल्किनबाट जोगिन भने सकेनन्।

पीडा साएद पोखेर र लेखेर कहिलै पूरा हुँदैन।। करिब १५० जना जति पछि बेचिने नाम आयो मेरो।  म पनि सबैले जस्तै गरेर साहुँको पछि पछि लागे अनि मनमनै भने,- तँ भाग्यमानी रहेछस् किनकी मेरो जवानी किन्दैछस् र म अभागी रहेछु आफ्नै सहमतिमा आफैंलाई बेच्दै छु।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.