नेपाली सम्पर्क समिति कोरियाको अध्यक्षमा अन्जु केसी


कोरियाको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली सम्पर्क समिति एनसिसि दक्षिण कोरियाको अध्यक्षमा बुटवलकी अञ्जु के.सी निर्वाचित भएकी छिन्। राजधानी सोलमा  सम्पन्न १६ औं अधिवेशनसँगै भएको निर्वाचनमा निकतम प्रतिद्धन्द्धी जित बहादुर गुरूङलाई भारी मतले पराजित गर्दै के.सी अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।

कोरियामा नेपालीको पुरानो संस्था मानिने एनसिसीको नेतृत्व सम्हाल्ने के.सी पहिलो महिला समेत भएकी छिन्। के.सीले ४८४ मत प्राप्त गरेर जित हासिल गरिन् भने पराजित गुरूङले २८८ मत हात पारे।

त्यस्तै उपाध्यक्षमा प्रकाश ढुंगाना, महासचिवमा निर्मल कुमार बेल्वासे, सचिवमा कृष्ण बस्याल, कोषाध्यक्षमा  राजकुमार स्याङताङ र सह–कोषाध्यक्षमा विष्णु प्रसाद घिमिरे निर्वाचित भए।

कोरियामा दूतावास खोल्नु अघि नेपालीका लागि महत्वपूर्ण भूमिका खेलेको एनसिसि पछिल्लो समय सोही अनुरूप काम र गरिमा राख्न नसकेको भनि आलोचना हुने गरेको छ।

विशेष गरी कोरियामा मुख्य चाड र विदामा संघसंस्थालाई सांस्कृतिक, चिठ्ठा, भलिबल प्रतियोगिता बाँडफाडमा मात्र सिमित हुने गरेको आलोचना पनि एनसिसिले खेप्दै आएको छ। कार्यक्रम बाँडफाड पनि पारदर्शी तवरले नहुने गरेको पनि आवाज उठ्ने गरेको छ ।

१६औ अधिवेशनबाट निर्वाचित के.सी नेतृत्वको नयाँ कार्यसमिति माथि एनसिसिको गुमेको साख र गरिमा पुनरावृत्ति गर्न सक्छ सक्दैन भनेर अग्नीपरिक्षा छ। दूतावासअघि स्थापना भएको एनसिसिले तत्कालिन समयमा दुःख र पीडामा परेका नेपालीलाई मल्हम लगाउने तथा सहयोग गर्ने, डकुमेन्ट जापानमा रहेका नेपाली दूतावाससम्म पुर्‍याएर दूतावासले गर्ने जस्तै काम गर्ने गरेको भनेर अहिले चर्चा हुनेगर्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.