अवैधानिक कामदार पनि पुनः कोरिया जान पाउने


कोरियामा अवैधानिक तवरले बसिरहेका बिदेशी कामदारहरू सरकारले तोकेको अवधि भित्र  स्वदेश फर्किए पुनः कोरिया प्रवेश गर्न पाउने भएका छन्।

यहाँको न्याय मन्त्रालयले एक सूचना जारी गरी अध्यागमनले तोकेको समय भित्र स्वदेश फर्किएमा कोरियामा पुनः प्रवेशको ढोका खुल्ला रहने बताएको छ।

अध्यागमनले स्वदेश फर्किन यही जुलाई १० तारिखदेखि अक्टोबर १० तारिखसम्म ३ महिनाको समयावधि तोकेको छ। यसभन्दा पहिला ३ वर्ष भन्दा धेरै अवैधानिक बस्नेलाई २ वर्ष पुन प्रवेशमा निषेध गरेको थियो भने १ वर्षदेखि ३ वर्षसम्म अवैधानिक बस्नेलाई १ वर्षसम्म प्रवेशमा निषेध गर्दै आएको छ।

तोकेको समय भित्र स्व-इच्छाले स्वदेश फर्किएमा कोरियाको मानव संसाधन केन्द्रले तोकेको मापदण्ड पुरा गरी पुन प्रवेश गर्ने अबसर मिल्ने पनि जारी सूचनामा उल्लेख छ।

सन् २०१८ मा कोरियामा आयोजना हुने प्याङचाङ्ग ओलम्पिकको सुरक्षालाई  मध्यनजर गर्दै सरकारले अवैधानिक कामदारको संख्यामा कमि ल्याउने बताएको छ। केही महिना पहिला मात्र जेजु टापुमा रहेका अबैधानिक कामदारलाई ब्यपाक धरपकड गर्ने बताएपछि ठूलो संख्यामा कामदार हरु टापु छाडेर बाहिरिएका थिए।

पछिल्लो समय कोरियामा अवैधानिक कामदारको संख्यामा वृद्धि भएको छ। सन् २०१६ सम्म कुल बिदेशी कामदारको ११.३ प्रतिशत अवैधानिक रहेको बताइएको छ। हाल कोरियामा २५ लाख बिदेशी कामदार कार्यरत रहेको सरकारी तथ्यांकमा उल्लेख छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.