बेलायतको हन्स्लोमा आयोजित विद्यालयस्तरीय वादविवाद प्रतियोगितामा गैरआवासीय नेपाली विद्यार्थी टिया आचार्यले उत्कृष्ट प्रदर्शन गर्दै 'बेस्ट प्रपोजर’ विधामा मेडल जितेकी छन्।
रोटरी क्लब हन्स्लोले बिहीबार आयोजना गरेको प्रतियोगितामा 'स्कुल तथा कलेजहरूमा ड्रग्स तथा भेप (इ-सिगरेट) टेस्ट किट उपलब्ध गराउनुपर्छ वा पर्दैन' भन्ने विषयमा सहभागीहरूबीच तर्क–वितर्क भएको थियो। सो बहसमा आचार्यले सशक्त र स्पष्ट तर्क प्रस्तुत गर्दै निर्णायकहरूलाई प्रभावित पारिन्।
आचार्यले आफ्नो प्रस्तुतिमा विद्यालय तथा कलेजहरूमा ड्रग्स र भेप सम्बन्धी टेस्ट किट उपलब्ध गराउनु अत्यावश्यक रहेको जोड दिँदै विद्यार्थीको स्वास्थ्य सुरक्षा, लागूपदार्थको दुरूपयोग नियन्त्रण, र किशोर उमेरमै गलत बानी विकास हुनबाट रोकथामका लागि यस्तो व्यवस्था प्रभावकारी हुने बताइन्।
वेस्ट लण्डनस्थित रिभर एकेडेमीमा अध्ययनरत १५ वर्षीया आचार्य हन्स्लो यूथ काउन्सिलरसमेत हुन्।
कुल २१ प्रतिस्पर्धी सहभागी रहेको उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका विद्यार्थीहरूले आफ्ना प्रस्तुति दिएका थिए।
कार्यक्रममा हन्स्लो यूथ काउन्सिलर दानिया महमिद तथा फातिमा अहमेदले आचार्यको समूहबाट उत्कृष्ठ प्रस्तुती दिएका थिए ।
रोटरी क्लबहरूले युवाहरूको नेतृत्व क्षमता, सार्वजनिक बोल्ने सीप र आत्मविश्वास विकास गर्ने उद्देश्यले यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएका छन्।
कार्यक्रमले विद्यार्थीहरूमा सञ्चार क्षमता अभिवृद्धि गर्नुका साथै समुदायसँगको सम्बन्ध मजबुत बनाउन मद्दत पुग्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको अन्त्यमा विजेता तथा उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई हन्स्लो बरोकी मेयर एमी क्राफ्टले प्रमाणपत्र र मेडल प्रदान गरेकी थिइन्।