उदयपुरका मोहनबहादुर कार्की वैदेशिक रोजगारीमा गएको १० वर्ष भयो।
हाल उनी स्विट्जरल्यान्डको एक रेस्टुरेन्टमा सुसी–सेफ का रूपमा काम गरिरहेका छन्। पाँच महिनाअघि उक्त रेस्टुरेन्टमा काम सुरू गरेका मोहन जापानी परिकार सुसी बनाउने मुख्य जिम्मेवारीमा छन्।
उनका अनुसार रेस्टुरेन्टमा चाइनिज तथा जापानी परिकार पाइन्छ।
'तर यहाँ मेरो मुख्य काम सुसी बनाउने हो,' उनले भने।
रेस्टुरेन्टमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र बेलुका ४ बजेदेखि राति ९ बजेसम्म गरी दुई चरणमा सेवा सञ्चालन हुन्छ। यही समय ग्राहकको चाप बढी हुने भएकाले काम पनि सोही अनुसार हुने मोहनले बताए।
उनलाई रेस्टुरेन्टमै खाने–बस्ने सुविधा दिइएको छ। सातामा एक दिन बिदा पाउँछन्।
'बिदामा नयाँ ठाउँ घुम्न जान्छौं,' उनले सुनाए।
रेस्टुरेन्टका ग्राहक स्थानीय र पर्यटकहरू हुन्। भारत, अमेरिका, क्यानडा लगायत देशका पर्यटकहरू विशेष गरी सुसीकै स्वाद लिन आउने उनले बताए।
स्विट्जरल्यान्डका मानिसहरू रेस्टुरेन्टमा गएर खाना खाने संस्कृतिमा अभ्यस्त छन्। त्यसैले पर्यटकसँगै स्थानीय ग्राहक रेस्टुरेन्टमा नियमित हुने उनी बताउँछन्।
मोहन सन् २०१६ मा विदेशिएका हुन्।
विदेश जानुअघि उनी यहाँ क्यामरा पर्सनका रूपमा काम गर्थे। उनले आरआर क्याम्पसबाट मानविकी संकायमा स्नातक गरेका छन्।
भिडिओ सम्बन्धी तालिम लिन आइसल्यान्ड पुगेका मोहन त्यहाँबाट पोर्चुगल पुगे। पोर्चुगलमा कानुनी कागजात तयार गरेपछि उनले विभिन्न काम गर्दै अनुभव बटुले।
सुरूमा नेपालीले सञ्चालन गरेको एक रेस्टुरेन्टमा वेटरका रूपमा काम गरे।

'विदेश पुगेपछि नेपाल फर्किन मन लागेन। उतै बसेँ,' उनले सुनाए।
होटलको काम राम्रो चलेन। त्यसपछि उनी कृषि कम्पनीमा काम गर्न थाले। त्यहाँ तीन महिना काम गरे। त्यसपछि नेपालीद्वारा सञ्चालित एक इटालियन रेस्टुरेन्टमा करिब दुई वर्ष काम गरे।
सुरूआती चरणमा उनलाई भाषाको समस्या थियो। दैनिक अभ्यासले सुधार हुँदै गयो। कामसँगै भाषा सिक्दै गएपछि उनले हिसाब–किताब समेत सम्हाल्न थाले।
'रेस्टुरेन्टमा उच्च पदस्थ व्यक्ति, पूर्वप्रधानमन्त्रीहरू समेत आउने भएकाले सेवा गर्ने अवसर पाएँ,' उनले भने।
त्यसपछि उनी चाइनिज रेस्टुरेन्टमा किचन हेल्परका रूपमा काम थाले। त्यही क्रममा उनले सुसी बनाउन सिके। त्यहाँ डेढ वर्ष काम गरेपछि उनी इटालियन रेस्टुरेन्टमा काम गर्न पुगे।
कोरोना महामारी सुरू भएपछि भने काम गुमाउनुपर्यो। कोठा भाडा तिर्न समेत कठिन भयो।
'ओहो, त्यो समय त म सम्झिनै सक्दिनँ। धेरै दुःख पाएको थिएँ। अलिअलि बचाएको पैसा पनि कोठा भाडा तिर्दा सकियो,' उनले भने।
केही समयपछि उनले अर्को एक रेस्टुरेन्टमा सुसी–सेफकै रूपमा काम पाए।

त्यहाँ करिब नौ महिना काम गरेपछि फेरि चाइनिज रेस्टुरेन्टमा गए। त्यहाँ चार वर्ष काम गरे।
'कामकै खोजीमा नर्वे, बेल्जियम पनि पुगेँ। काम गर्ने वातावरण कतै मिलेन। अनि स्विट्जरल्यान्ड आएँ,' मोहनले भने।
उनका अनुसार पोर्चुगलको रेसिडेन्सी कार्ड पाएपछि करिब १८० देशमा यात्रा गर्न सकिन्छ। उनले कार्ड पाएका छन्।
'पोर्चुगलमा खासै धेरै कमाइ हुन्थेन। अहिले आम्दानी राम्रो छ,' उनले भने।
मोहनका परिवार भने अहिले पोर्चुगलमै छन्। उनकी श्रीमती पनि सुसी–सेफ हुन्।
आगामी दिनमा आफ्नै सुसी रेस्टुरेन्ट खोल्ने उनीहरूको सपना छ।
'अब केही समयपछि श्रीमती र बच्चाहरू पनि यतै आउँछन्। उनलाई पनि सुसी बनाउन आउँछ। मिलेर रेस्टुरेन्ट खोल्ने योजना छ,' मोहनले भने।
