ग्लोबल नेपाली
जनकपुरको एउटा सामान्य परिवारमा जन्मिएका सुनिल साहले सन् १९९६ मा बंगलादेशबाट दन्त चिकित्सक (डेन्टिस्ट) को पढाइ पूरा गरे।
बाल्यकालदेखि नै उनको डाक्टर बन्ने सपना थियो। त्यो सपनाको पहिलो खुड्किलो उनले बंगलादेशमा चढिसकेका थिए। तर त्यस बेला उनलाई थाहा थिएन — जीवनले जनकपुरको गल्लीबाट उठाएर एक दिन बेलायतको ठूलो अस्पतालमा क्रेनियोफेसियल (अनुहारसम्बन्धी) सर्जन बनाउनेछ।
डेन्टल पढाइ सकिएपछि उनले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा काम गरेका थिए। त्यहाँको एक वर्षको अनुभवसँगै उनलाई बेलायतबाट एउटा प्रस्ताव आयो, जसले उनको जीवनको दिशा नै मोडिदियो।
बेलायत पुगेपछि उनको यात्राले अर्कै मोड लियो। उनले आफ्नो अध्ययन र अनुभव सँगसँगै अघि बढाए।
डेन्टलमा स्नातक गरेका साहले बेलायत गएर एमबिबिएस पढे। डेन्टल पृष्ठभूमिबाट आएका साहका लागि यो सजिलो थिएन। तर उनले हार मानेनन्।
एमबिबिएसपछि जनरल सर्जरी र नाक, कान, घाँटी तथा मुखको क्यान्सरमा एमडी (स्नातकोत्तर) गरे।
'मैले अहिले गरिरहेको कामलाई 'सुपर स्पेसियालिटी' भनिन्छ,' उनले भने, 'मैले अहिले हासिल गरेको विशेषज्ञताका लागि २०–२४ वर्ष लाग्छ। मैले गरेका अध्ययन, अनुभव र फेलोसिपहरूले नै यो सम्भव बनाएको हो।'
साह बेलायतका तीन प्रतिष्ठित संस्थामा कार्यरत छन् — मिड योर्कसायर टिचिङ हस्पिटल, लिड्स टिचिङ हस्पिटल र हर्ड्सफिल्ड युनिभर्सिटी। त्यहाँ उनी घाँटीभन्दा माथिका सर्जरी गर्छन्। मुखको क्यान्सरदेखि चोटपटक लागेर बिग्रिएको अनुहारको सर्जरी गर्छन्। खुँडेपनको उपचार पनि गर्छन्।
'अनुहार भनेको पहिचान हो, भावनाको झ्याल हो। त्यही पहिचान गुमाएका मानिसलाई फेरि समाजसँग जोड्ने काम गर्न पाएकोमा मलाई सन्तोष लाग्छ,' उनले भने।
उनका अनुसार चोटपटक लागेर बिग्रिएको अनुहारलाई पहिलाको जस्तै बनाउने काम चुनौतीपूर्ण हुन्छ। बेलायतमा यस्तो विशेषज्ञता हासिल गर्न गहिरो अध्ययन र लामो अनुभव चाहिने उनी बताउँछन्।
'हामी प्लास्टिक सर्जरी, जनरल सर्जरी, थाइरोइड सर्जरी लगायत गर्छौं। टाउकोको बाहिरी भागको चोटको उपचार गर्छौं,' उनले भने, 'मस्तिष्कमा हुने समस्याको उपचार न्युरो सर्जनले गर्छन्। बेलायतमा चोटपटक र सडक दुर्घटनाका घाइतेको उपचार गर्नुपर्ने धेरै हुन्छ।'
फुटबल खेलाडी र समर्थकबीचको झगडा, सडक दुर्घटना, घरेलु हिंसा; यस्ता घटनामा अनुहार बिग्रेका घाइतेहरूलाई डा. साह नयाँ रूप दिन्छन्।
बेलायतमा हासिल यी उपलब्धिबीच पनि उनले आफ्नो माटो भुलेका छैनन्।
झन्डै तीन दशकदेखि बेलायतमा बसेका डा. साहले जनकपुरमा 'क्रेनियोफेसियल सेन्टर' सञ्चालन गरिरहेका छन्। त्यहाँ खुँडे ओठ, मुखको क्यान्सर, चोटपटकका उपचार लगायत हुन्छ। अधिकांश उपचार निःशुल्क गरिन्छ। बाँकी पनि अत्यन्त कम शुल्कमा गर्छन्।
'मधेसको सेवा गर्नु मेरो धर्म हो,' उनले भने, 'म आफू जनकपुरकै भएकाले मैले कमाएको र सिकेको ज्ञान यहीँ लगानी गरेको छु।'
तर जनशक्ति अभावले चाहेजस्तो सेवा विस्तार गर्न नसकेको उनको भनाइ छ। दक्ष जनशक्ति काठमाडौं बाहिर जान नचाहने प्रवृत्तिप्रति उनी चिन्तित छन्।
'सरकारले नै वातावरण बनाउनुपर्छ,' उनले भने, 'अहिलेको संरचनाले गाउँ र सहरबीचको खाडल अझै गहिरो बनाइरहेको छ।'
यसरी जनकपुरबाट सुरू भएको सुनिल साहको यात्रा बेलायतका अत्याधुनिक अस्पतालसम्म पुगेको छ। तर उनी अझै पनि जनकपुरसँगै जोडिएका छन् — सपनामा, सेवामा र संकल्पमा।
***
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com