कोपनहेगन डायरी  #NepalVotes #NepalElection2017 कोपनहेगन डायरी 

कोपनहेगन डायरी 


‘एक्सक्युज मी!, डु यु ह्याभ अ लाइटर?’ एउटा नेपाली जस्तो देखिने व्यक्तिले सोध्यो। ‘सरी, आइ डोन्ट ह्याभ। के तपाईं नेपाली हो?’
मलाई खसखस लाग्यो। हो नि! तर तपाई चाहिँ हल्का चाइनिज जस्तो देखिनु हुँदो रै‘छ। त्यही भएर अंग्रेजीमा सोधेको। ‘आइ एम ललित’ ऊ हाँस्यो। बेलुकीको काम सकेर म हतारहतार ट्रेन समात्न लम्किरहेको थिएँ। ऊ पनि काम सकेर घर फर्किने रेल कुर्दै रहेछ। कोपनहेगनको सेन्ट्रल रेल्वे स्टेसनमा हामी केहिबेर गफियौँ। ‘कस्तो छ त काम, के काम हो?’ मैले सोधें।  ‘आजबाट सुरु गरेको काम, आजै छोडियो! पुरै दिनभरी बेल्चा हानियो, निर्माण सम्बन्धी कम्पनी रहेछ, काम नि गाह्रो। ल त्यो त केहि थिएन, घर फर्किने बेला त अरबी सुपरभाईजर मेरो घांटीनिरको कपाल सुँघ्दै ‘वाउ यु आर स्मेलिंग सो गुड’ पो भन्छ। मलाई त कस्तो अन्कम्पÞmरटेबल फिल भो। मैले त भोलि देखि काममा आउँदिन  भनेर हिड्दििएँ।’ उसले रन्किदँै भन्यो। कुरा गर्ने तौर तरिका, हाउभाउ  हेर्दा रमाइलै मान्छे जस्तो लाग्यो। उसको घर पनि नुवाकोट नै रहेछ। एउटै उमेरको जस्तो देखिने हामी एकैछिनमा साथी जस्तो भैहाल्यौँ। म भर्खर भर्खर डेनमार्क पुगेको थिएँ। त्यो शहर मेरो लागि नौलो थियो, म त्यो शहरको लागि नयाँ। फेरी कुनै दिन भेट्ने बाचाका साथ हामी आ–आफ्नो बासस्थान तर्फ लाग्याँं।
एक हातमा बियरको गिलास र अर्को हातमा जोइन तान्दै स्नुकर खेल्दै गरेको स्थितिमा दोस्रो पटक ऊसँग भेट भयो, क्रिस्टियानियाको  एउटा बारमा।  क्रिस्टियानिया आफैँमा एउटा अनौठो सहर हो। ‘फ्री–टाउन क्रिस्टियानिया’ को नामले चर्चित यो शहर  कोपनहेगनकै एक पर्यटकीय स्थल हो। जहाँ गाँजा र चरेसको खुल्लम खुल्ला किनबेच हुन्छ।  त्यहाँका मानिसले क्रिस्टियनियालाई स्वतन्त्र राज्य घोषित गरेर आफ्नै नियम कानुन चलाएका छन्।
ललितलाई यस्तो हालतमा देख्दा म त तीन छक्कै परेँ। केही  महिना अघि मैले भेटेको ललित र यो ललितमा आकाश पातालको फरक थियो। ‘ओहो, के पारा हो यार तिम्रो यस्तो?’ उसका गाँजाले लठ्ठिएका राताराता आँखामा हेरेर मैले सोधेँ। ‘म खासमा चाहिँ यस्तै खाले मान्छे हो,।’ धेरै नशा र थोरै गर्वका साथ ऊ मज्जाले हाँस्यो र पछि भेटुँला भनेर आफ्नै तालमा रम्न थाल्यो।
कहिलेकाहीँ नेपालीको पार्टी वा जमघटतिर हाम्रो भेट हुन्थ्यो। कहिलेकाहीँ फोनमा कुरा हुन्थ्या। केही महिनाको अन्तरालमा मेरो अपार्टमेन्टको एउटा कोठा खाली हुने भएपछि ऊ त्यहीँ डेरा सर्यो। म र अर्को एउटा साथी बस्थ्यौँ, अब तीन जना भयौँ। बस्न सँगै बसे पनि काम र कलेजको व्यस्तताले हाम्रो भेट भने सप्ताहान्ततिर मात्रै हुन्थ्यो। सप्ताहान्त, बियर, देश र राजनीतिक गफ पर्याय जस्तै बनेको थियो।
‘ल आज मेरो बर्थडे, मोज गर्नु पर्छ केटा हो,’ भन्दै हातमा २ क्रेट बियर बोकेर ललित कोठामा छिर्यो। अरु तीन जना साथीहरू पहिल्यै आएका थिए। हामीले उसको बर्थडे केक काटेर हैन बियरको क्यान फोरेर सुरू गर्यौँ।अनि सुरु भयो फेरी उही देश र दुनियाँको कुरा। नेताहरूले राजनीतिलाई फोहोरी खेल नै बनाएर छोडे’ यस्तै हो भने त्यो देश कहिल्यै बन्दैन बुझ्नुभो।’ अब को प्रधानमन्त्री होला? यस्ता सब गफ सिद्दिएपछि अब के गफ निकाल्ने भन्ने भयो। यस्तैमा मैले फ्याट्ट ललितलाई सोधें, ‘तिमी किन र कसरी यस्तो तालको मान्छे भयौ हँ?’
हुन त उसले आफ्ना जीवनमा घटित घटनाका आंशिक भागहरू भनिसकेको थियो। आज भने सिलसिलाबद्ध  सविस्तार सुनायो उसले। ‘आमा बित्नु हुँदा म र भाइ सानै थियौँ, त्यस्तै ६ र ४ बर्षका। बाले अर्की सानीआमा बिहे गर्नुभो। जेठो छोरो भनेर बाले मलाई चाहिँ बोर्डिंङ स्कूलमा पढाउनु भयो अनि भाइलाई सरकारी स्कूलमा। ७÷८ कक्षा पढ्ने बेलासम्ममा सानीआमाबाट अरु भाइहरू जन्मे। अनि त सानीआमाले पनि ‘सानीआमा’कै व्यबहार गर्न थाल्नु भो। मलाई घरै बस्न मन लाग्दैनथ्यो। स्कूलले पनि एस. एल. सी. को तयारीको लागि ९–१० कक्षाकाहरू होस्टेल बस्नुपर्छ भनेपछि ‘के खोज्छस् कानो? आँखो!’ भने भँैंm भयो। होस्टेल बसेपछि चुरोट, सुर्ती, गाँजा, रक्सी सबथोक खान सिकियो। २ वर्षको होस्टेल बसाइ यस्तै खाने पिउने मै सकियो। एसएलसी सकिएपछि घर गएर बसेँ।  त्यही बेला गाउँकै एक जना केटि साह्रै मन पर्यो।
गाउँ घरमै हल्लेर हिँडेको देखेर बाले १२ वटा खच्चड किनिदिनुभयो। खच्चडलाई त्रिशुली बजार लाने, सामान लोड गर्ने अनि माथिमाथिका गाउँहरू देउराली, बर्सुन्चेत, अझ धादिङसम्म सामान पुर्याउनु पर्ने काम आइलाग्यो। यात्रा धेरै दिनको र असहज हुन्थ्यो। खच्चडको लस्कर, अनि म लस्करको अघिअघि, खच्चडको नाइके। पिठयूंमा झोला, झोला भरि आफुलाई चाहिने चिउरा, दालमोठ, चाउचाउ, अनि रक्सिको बोत्तल। भोक लागे दालमोठ अनि तिर्खा लागे बोत्तल। कहिलेकाहिँ पानी  पनि पिइन्थ्यो। हाहाहा ..  गाउँगाउँमा  बास बस्दै जानु पथ्र्याे। बास बसेको ठाउँमा कहिले आफ्नै खाने कुरा खाइन्थ्यो त कहिले बास बसेको घरबेटीले खानाको साथै रक्सी या जाँड पनि दिन्थे। बर्षात्को समयमा धेरै गाह्रो हुन्थ्यो। पानीले भिज्दै सामान लोड गर, अनलोड गर। जुकाले खुट्टाभरि त्यस्तै टोकेको हुन्थ्यो। कहिलेकाहिँं घर जान्थेँ। घर जान पनि मनै रोमान्चित भएर आउँथ्यो, उनलाई देख्न पाइन्छ भनेर।
एसएलसीको रिजल्ट आयो। सेकेन्ड डिभिजनमा पास भएछु। अब कलेज कहाँ पढ्ने, के पढ्ने? भनेर आफ्नो चाहिँ दिमाग घुम्दै थियो, बा त पढाउने कुरै गर्दैनन् बा! साथीहरू कोही साइन्स पढ्न, कोही कमर्स पढ्न काठमाडौँ गैसकेका थिए। मलाई पनि  कलेज पढ्न खुब मन थियो। ‘म अब देखि यो खच्चडको  गोठालो बस्न सक्दिन, म पनि कलेज पढ्छु’  मैले यत्ति के भनेको थिएँ, बाको मुक्का नाकमा बज्रियो, ‘किन गर्दैनस?’ नाक फुटेर रगत भातै भरि चुहियो। म केहि नबोली जुरुक्क उठेर हिडेँ। केही दिनमा बाले खच्चड बेचिदिनुभो। अनि बस किन्नुभो। ‘अब बसको कन्डक्टर बस्नु, पैसाको हिसाब किताब राम्ररी राख्नु नि!’ बाको आदेश मान्नै पर्यो। जे होस् खच्चडको पछि लाग्नु भन्दा त ठिकै छ। कन्डक्टर भए पनि आफ्नै बसको हो भन्ने मनमा छुट्टै शान थियो। पैसा खेलाउन पाइने, गोजीभरी पैसा नि हुने भएर होला कन्डक्टरको काम रमाइलै लाग्यो। लोकल बस भएकोले बेलुका घरै जान्थेँ।
सब भन्दा ठूलो कुरो त उनलाई दिनकै भेट हुन्थ्यो बसमा। उनी दिनहुँ मेरै बस चढेर बजार आउजाउ गर्थी। बजारमा कम्प्युटर सिक्दै रहिछिन्।  म उनीसँग बसभाडा लिन्न थिएँ, उनी कर गर्थिन्, तर जति गर्दा पनि मैले लिन नमानेपछि उनले भाडा दिन्छु भन्न छोडिन्। धेरै कुरा त हुन्नथ्यो। सन्चो बिसन्चो मात्रै। बस चढ्दा देखिने बित्तिकै यसरी हेरेर मुस्कुराउँथिन् मानौँ मलाई भेटेर उनी निकै खुशी छिन्। अनि झर्ने बेला उनका आँखाले ‘भोलि फेरी भेटौँला है’ भने झैँ लाग्थ्यो। बजारमा कोको भेट्ने हो, अरू नै केटाहरुले भिलेन खेल्ने हुन् कि भन्ने खुब डर लाग्थ्यो। विभिन्न बहानामा उनलाई  कहिले घरमै या त कहिले पधेरोमा पनि भेट्थेँ।
ललित, तेरो उनलाई त बाआमाले केटा देखाउन चितवन लादैछन् रे भनेर एक जना साथीले सुनायो। म त छाँगाबाट खसे जस्तो भएँ। कुरा साँचो रहेछ। उनी आफ्ना बा र आमासँग मेरै बस चढिन्। मलाई उकुसमुकुस भयो। भाडा उठाउने क्रममा ऊ नजिकै गए, केहि नसोधी यसरी हेरेकी उसलाई म एकदम मन पराउँछु, माया गर्छु, अनि उनैसँग बिहे पनि गर्न चाहन्छु।  मेरो माया साँचो भए उनले पनि मेरो आँखाको भाषा भुझिन् होली। यही सोचेर ‘भाडा दिनु पर्दैन है’ भनेर ड्राइभर छेउ गएर बसेँ।
मनलाई अनेक कुराले रंगशाला बनाए। उनी गाउँकै शाह ठकुरी कि छोरी। उनका बा, दाजुभाइ जातभात इज्जतका ठूलाठूला कुरा गर्थे। म छेत्रीको छोरो भए पनि उनको हात माग्न जाँदा पक्कै दिँदैनन् भन्ने थाहा थियो। किनकि उनका बाआमा र दाजुभाइ उनको र मेरो जातिय ठुलो खाडल देख्थे। सामाजिक मान,  प्रतिष्ठाको कुरा थियो। उनका दाइहरूको धम्किको पनि सामना गर्नुपर्ने हुन सक्थ्यो । के गरूँ, कसो गरूँ, कहाँ जाउँ, कसलाई भनूँ? भयो । पारि पाखामा  डढेलो  लागेसरि मन जलि रह्यो, धुवाँ नदेखिने गरि। मनको जलन निभाउनलाई मैले धेरै दिनसम्म रक्सि छाय्पी रहेँ, पियी रहेँ ।
’अहिले बिहे नगर्ने भएँ नि, मुवा बुवाको करकापले मात्र चितवन गएको थिए’। एकहप्तापछि फर्केर उनले यति भनेपछि मलाई काँडा झिके जस्तो आनन्द भयो। मनै सित्तल भएर आयो । ‘त्यसो भए मसँग बिहे गर्छौ त?’ कहाँबाट मेरो मनको कुरा मुखबाट फुत्त फुस्किएछ। उनले लजाएर भुइँतिर हेरिन् तर केहि बोलिनन् । अर्को दिन बसबाट झर्ने बेला मेरो कानै निर आएर भनिन् ‘बिहे त म तिमिसंगै गर्ने हो।’ यति भनेर उनी छिटोछिटो बसबाट झरिन्। मलाई संसारै उज्यालो भए जस्तो भो।
मैले मेरो मनको कुरा भनेको एक हप्तापछि हामीले भागेर मन्दिरमा बिहे गर्यौँ र काठमाडौँ आयौ। ८० रुप्पेमा हाम्रो बिहे सकेको नि! बाइपासमा सानिमा आमाको बहिनीको घरमा सिधै गयौँ। मसँग नौलो केटि उभिएको देखेर सानिमाले को? किन? कसरी? को प्रश्न ढोकैमा तेर्साउनु भो ।अनि पछि  मिल्छ भने यो नानीलाई आफ्नो घर पÞmर्काइदे भन्नु भो। मैले पनि अब उसलाई फर्काउन मिल्दैन भनिदिए। सानिमाले एक महिना जस्तो डराउँदै, रिसाउँदै हामीलाई राख्नुभो। त्यतिन्जेल मैले सानोतिनो काम गर्न थाले। तलब आउने भएपछि बालाजु मै कोठा लिएर बस्न थाल्याैँ । हामीले त्यति बेला किनेका सानो कित्ली, कराई, कसौंडी सबै बाकसमा राखेको छु, भोलि पर्सि छोराछोरीलाई देखाउन हुन्छ भनेर।
आर. आर कलेजबाट इन्टर मिडियट पास गरेँ। त्यति बेलासम्म मैले ठमेलको एउटा रेस्टुरेन्टमा काम गर्न थाली सकेको थिए। मेरो अंग्रेजी राम्रो भएकोले खैरे ग्राहकसंग कुरा गर्न सक्थेँ। लगनशील  र मिहेनती भएकोले साहुले मलाई बार टेन्डरको काम सिकाइदिए। बार टेन्डर भएपछि अर्डरको रक्सि, कक्टेल बनाउदा चाख्दा चाख्दै म त फेरी रक्सिको  लतमा कुन बेला फसेँ आफैँलाई थाहा भएन। त्यसपछि चुरोट, गाँजा, चरेस आदि इत्यादि सबै खान थालँं।  बार टेन्डर भएपछि कमाइ राम्रो भयो। तलब राम्रो थियो। खैरेहरुले राम्रो टिप्स दिन्थे। कमाइ राम्रो भएपछि नयाँबजारमा फ्ल्याट लिएर बस्न थाल्याँै।
कहिले माछा खान दोलालघाट त कहिले लोकल भाले र फापरको ढिडो खान नगरकोट पुगिन्थ्यो।  डेनमार्कको भिषा आउन केहि ढिला हुँदा मैले स्नुकरमा बाजी खेलेर १ लाख सकाएछु। कन्सल्ट्यान्सीले डेनमार्कमा महिनाको ४ लाख कमाइ हुन्छ भनेकोले त्यो १ लाख केहि होइन जम्मा १ हप्ताको कमाइ हो भन्ने लागेको थियो । आहिले आएर बुझ्दैछु पैसाको महत्त्व ।
नयाँबजार बस्दा बेला बेलामा बा गाउँबाट आउनु हुन्थ्यो।  बुहारीले पकाएको खान एकदम मीठो छ नि भन्नुथ्यो तर त्यही बुहारीलाई  घरमा भित्राउने कुरा कहिले गर्नु भएन। आज हाम्रो बिहे भएको १४ वर्ष भयो। अब बुहारी भित्र्याउँछु भनेर बाले बोलाए पनि घर गइन्न होला। चित्त साह्रै दुखेको छ। म यहाँसम्म आउन पनि घरले एक सुक्का सहयोग गरेको होइन।
डेनमार्क आएपछि अरु थप नयाँ अनुभव भयो। मेरो एउटा खैरे साथीले टेक्नो म्युजिक फेस्टिबल जाउँ भन्यो। ड्रेस कोड पुरै सेतो, अनि टेक्नो म्युजिकको तालमा झुम्ने रहेछ। घन्टौ झुम्नका लागि सबले विभिन्न ड्रग्स लिने रेछन्। मलाई पनि त्यहि खैरेले एक्ट्यसि भन्ने ट्याब्लेट खानको लागि दियो। खाएको केही बेरमै मलाई त म्युजिकको तालमा आकाशमै उडे जस्तो भान भयो। त्यही आकाशमा उडे जस्तो फिल गराउने भएर त्यो ड्रगलाई ‘इस्काई ड्रग’ भनिने रहेछ। ४ घण्टा जति त्यसरी उड्दा जति रमाइलो र आनन्द भयो त्यो भन्दा धेरै जिउ दुखाइ भयो भोलिपल्ट। यस्ता रमाइला र दुख लाग्दा घटना र कहानी धेरै छन्। सबै भन्ने हो भने दुई बाक्सा बियरले पनि पुग्दैन न त एक दिन, एक रातको समयले नै पुग्छ।’
हामी रेडियो श्रोता जस्तो भएर उसको जीवनका  उतारचढाव र भोगाइ  सुनिरह्यौँ। यतिन्जेलसम्म बिहानीको चराहरुको चिरबिर सुरु भैसकेको थियो। बियरको नशा पनि धेरै चढिसकेको थियो।  बाँकी कथा अर्को बसाईको लागि थाति राखेर हामी गुड नाइट भन्दै सुत्नका लागि आ–आफ्नो कोठातिर लाग्यौँ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.