चीनले भन्योः मोदीसँग चिनियाँ राष्ट्रपतिले भेट्ने वातावरण छैन 

फाइल फोटो


चीन र भारतबीच तनाव बढ्दै जादा चिनियाँ राष्ट्रपति सी चीनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जर्मनीमा आज देखि सुरु भएको जी-२० को शिखर सम्मेलनमा भेटघाट नहुने भएको छ।

भेटघाट तय हुनु अघिनै चीनले भारतीय प्रधानमन्त्री मोदीसँग भेट्न उपयुक्त वातावरण नभएको भन्दै जर्मनीमा भेटघाट हुन नसक्ने जनाएको हो।

भारत र चीनबीच दोक्लम क्षेत्रमा पछिल्लो केही दिनदेखि तनाव जारी छ। दोक्लम दशकौंदेखि चीन र भुटान दुबैले दावी गरेको सीमा क्षेत्र हो। चीनको नियन्त्रणमा रहेको दोक्लम क्षेत्रमा चीनले पछिल्लो तीन हप्तादेखि सडक निर्माण गरिरहेको छ।

सो निर्माण कार्य अघि बढाएपछि भुटानले त्यसको बिरोध मात्र जनाएको मात्र छैन, भारतको सहयोग पनि मागेको छ। भारतले पनि भुटानलाई सहयोग गर्न भन्दै अाफ्ना सेनालाई दोक्लम नजिक भुटानको सीमा क्षेत्रमा तैनाथ गरेको छ।

भारतले अाफ्ना सैनिक त्यहाँबाट फिर्ता बोलाएपछि मात्रै चीन-भारतबीच सम्बन्ध सामान्यीकरण हुने चीनले जनाएको छ।

दुई मुलुकमा शीर्ष नेताहरुबीच भेटघाट हुने वातावरण नरहेको चीनको टिप्पणी पछि भारतले अाफूले त्यस्तो भेटघाटका लागि अनुरोध नै नगरेको जनाएको छ।  भेटघाटको अनुरोध बिना नै ‘वातावरण’ नभएको भन्ने चिनियाँ भनाइको कुनै अर्थ नरहने उसले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.